१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

प्रकृतिको उत्तर

लघुकथा

 तुलसीराम खरेल

 

महोत्तरीमा विद्यालय पढ्दादेखि नै जयनारायण यादव मेधावी विद्यार्थीको रूपमा परिचित थिए। जनकपुरबाट विएस्सी गरेपछि उनले शिक्षण पेसा रोजे। केही समय महोत्तरीको जलेश्वरको एउटा नीजी बोर्डिङ स्कुलमा काम गरे। सिन्धुपाल्चोकको एउटा सरकारी बिद्यालयको बिज्ञापनमा गणित विज्ञान बिषय शिक्षकको माग भएको सूचनामा उनका आँखा परे। उनले प्रतिस्पर्धा जिते।

तराई मुलका यादवलाई पहाडको गाउँमा उच्च सम्मान मिल्यो। विद्यार्थीसँग सजिलै घुलमिल भएका उनले विद्यालय हातामा वृक्षारोपण गराए। विद्यार्थी परिचालन गरेर गाउँलेहरूमा वातावरण संरक्षणको चेतना अभिवृद्धि गराए। कान्ला, झरनाका छेउछाउ , खोलाका डिल, भिरालो पाखो,  पर्ती जमिन आदि स्थानमा बिरुवा रोप्ने कुरामा सबैको चासो बढ्न थाल्यो। वातावरण दिवसको दिन प्रतेक बर्ष चेतनामूलक गोष्ठी हुन्थ्यो।

वक्ताहरूमध्ये जयनारायणको मन्तव्य सुन्नलायक हुन्थ्यो। नीलो पहाड, छङछङ झर्ने झरना, हिमालको दृश्य,  सुन्दर फूलहरूको आकर्षण नै  वातावरणको अन्तिम रूप हो भन्ने परंरागत सोचाइमा परिवर्तन हुनथालेको थियो। मानिस र वातावरण बिचको सम्बन्ध दीगो, गतिशील र मधुर हुनुपर्छ भन्ने साझा भावना फैलाउन सोझा पर्वतेले तराईवासी विएस्सी सरको सक्दो सहयोग गरिरहेका थिए। यादव सरको ख्याति फैलिरहेको थियो। उनी आफ्नो  विषयका विज्ञ , सामाजिक , आध्यात्मिक र मायालु स्वभावका मानिस थिए।

ट्यूसन पढाउन उनले नमानी धरै भएन। बिहानभरि तीन ग्रुप ट्यूसन पछि खाना खाएर उनी विद्यालय जान्थे। बाटोमा एकजना निक्कै बुझक्कड पन्डितजीले यादव सरलाइ सोधे,  “हैन सर, पहाडमा आफैं वातावरण राम्रो छ, जताततै रूख किन रोप्नु ?”

हतारमा भएका सरले भने, “यसको ठूलो महत्त्व छ। कुनै दिन यसको उत्तर प्रकृतिले आफै दिन्छिन्।” सर बाटो लागे।

भदौ महिनामा ठूलो बाढी आयो। पहिरोले छिमेकी गाउँ बगायो। मानिसहरू चिच्याउदै बगेको सुनियो। यादव सरसँग पढ्ने केही केटाकेटी समेत बेपत्ता भए। हाहाकार भयो।  सुन्दर गाउँ  र खेत बगरमा परिणत भयो। तराईवासी यादव सरले पहिलोपटक यस्तो घटना देखे।

पानी पर्न रोकियो। घमाइला दिन आए। वरिपरि रुख रोपिएको स्कुल, चौतारी, देउराली गाउँ, लालीखर्क जोगिएको देखियो। बायो इन्जिनियरिङको प्रयोगको उपल्ब्धि भेटियो। कङ्क्रिटको भित्तोभन्दा बाँस र काँसले ढाकेको पहरो जोगिएको सबैले देखे।

आफन्त गुमाएकाहरू भगवान्  पुकारिरहेका थिए। आफूलाई बुझक्कड सम्झने अधिकारी पन्डितले यादव सरलाई सोधेको प्रश्नको उत्तर प्रकृतिले स्वयम् दिइरहेकी थिइन। आफ्नू खेती र गाउँ जोगिएकोमा धेरै हर्षित थिए।      

प्रकाशित: २ श्रावण २०७८ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App