२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सोरा

ब्युँझँदा अलिअलि टाउको दुखिरहेको थियो। उठ्न मन लागेन। कोल्टे फर्केर हेर्दा अगाडि एउटा कुनामा बुकर्‍याक, अर्को कुनामा टिभी, बीचको सानो टेबलमा ल्यापटप र स्केचप्याड देखेँ। मेरा आँखा एकाएक ठूला भए। अलिअलि बाँकी रहेको निद्रा हरायो। बुकर्‍याक त उस्तै छ, तर टिभी मेरो होइन। मेरोमा ल्यापटपका लागि छुट्टै टेबल थिएन। रातारात कसरी फेरिए सामान ! जुरुक्क उठेँ। यो सिरक, यो डसना, यो बेड– केही मेरो होइन। उठेर फनफनी घुमेर चारैतिर हेरेँ– ल यो कोठै मेरो होइन। भित्तामा ६ फिट जति अग्लो ऐना रैछ। प्रतिविम्बले मलाई छाँगाबाट खसायो। केटीको कपडा पो लगाइराखेको छु। मेरो मथिंगल हल्लियो। म कसको कोठामा छु ? कसरी आएँ ? खै मेरो कपडा ? आफूमाथि अकस्मात के भयो भन्ने अनुमानसम्म गर्न सकिनँ।

म सम्झँदै गएँ। हिजोदेखि अफिसको एकहप्ते बिदा थियो। त्यसैले सबैजना नोमिखाइ (ड्रिङकिङ पार्टी) जाने भनेर निस्केका थियौं। मेरो पिउने बानी छैन। नपिउँदा पिउने साथीसँग मिल्न सकिन्न, त्यसैले बाध्यताले कहिलेकाहीँ पिउँछु। हिजो थोरै पिउँछु भनेको थिएँ। एक गिलास बियर के पिएको थिएँ, सबैले जोड गरे– नपिएर कहाँ हुन्छ भन्दै। तीन गिलास मिताके (जापनिज रक्सी) नपिई सुखै पाइनँ। त्यसपछि कति पिएँ, के गरेँ– केही सम्झन सकिनँ।

बाथरुमबाट मसिनो नारी आवाज आयो, कसको आवाज हो र के भनेको भन्ने बुझिएन। अचानक याद आइन्, मायुसान। मलाई अफिसमा जिस्काइरहने उनै थिइन्। कैयौँपटक उनैले भनेकी थिइन्– जाउँ आज मेरोमा र कैयौँपटक भन्थिन्। म पनि तिम्रोमा जान्छु नि आज। अब चाहिँ म शतप्रतिशत मायुसानकोमा छु भन्ने लाग्यो। लगत्तै मनमा चिसो पस्यो। दुई वर्षअगाडि आफ्नै साथीसँग घटेको घटना आँखै अगाडि आयो। मन  झनै डरायो।

हामी स्टुडेन्ट हुँदाको कुरा हो। हामी सँगै काम पनि गर्थ्यौँ। बिदामा एक दिन उसका कलेजका साथी मिलेर नागोया आउटिङ गएछन्। दुई नाइट स्टे। चारजना जापानिज, एकजना म्यानमारी, एकजना फ्रान्सेली, दुईजना चाइनिज र ऊ थियो रे। खानेबस्ने सँगै गर्दा एउटी जापानिज साथीसँग दुवैजनाको सहमतिमा शारीरिक सम्पर्क भएछ। पछि उनीहरूको ग्रुप मिलेर रेप केस गरिदिएछन्। पैसा मागेर लाने, धम्क्याउने, पिट्ने गर्न थाले। फोन उठाएन, पैसा पठाएन भने काम गर्ने ठाउँमै आउँथे। ६ महिनापछि केस उसकै पक्षमा फैसला भयो। क्षतिपूर्ति स्वरूप उसले आफूले गुमाएका पैसाभन्दा बढी नै पायो। तर, त्यो बीचमा उसले भोग्नुपरेका मानसिक पीडा, त्रासको कहिल्यै र कसैगरी क्षतिपूर्ति हुन सक्दैन। उसले जापानीहरूमाथि जुन विश्वास गथ्र्यो, अब उसमा त्यो विश्वास कहिले फर्कनेछैन। उसले पहिले गर्ने व्यवहार र अहिले गर्ने व्यवहार बीचको खाडल कहिले पुरिने छैन।  

बाथरुमको ढोका खुलेको आवाजले मलाई त्यतैतिर फर्कायो। सेता खुट्टा, घुँडा भन्दा निकै माथिबाट रातो टवेल छातीसम्म। कुमसम्म आएका भिजेका कपाल, जसबाट चुहिँदै थिए, पानीका थोपा। मन असन्तुलित हुँदै थियो। बिस्तारै अनुहार हेरेँ, तब करेन्ट लागेजस्तो भयो। बसिरहेको ठाउँ भासिएझैँ भयो। पृथ्वी छिटो छिटो घुमेजस्तो लाग्यो। मेरो होसहवास सबै हरायो। थोरै लजाउँदै उनले भनिन्, ‘ओहायोउ’ (शुभबिहानी)। म बोल्न सकिरहेको थिइनँ। उनीबाट नजर हटाउन पनि सकिरहेको थिइनँ। मनमा अनेकौँ प्रश्न आइरहेका थिए। रक्सीले मातेपछि मलाई केही होस रहन्न। कतै अभद्र व्यवहार गरेँ कि ! ग्लानि भइरहेको थियो। उनी आएर अंकमाल गरिन्। उनका चिसा कपालले मेरो गालामा स्पर्श गरे। उनका छाती मेरो छातीसँग मिले। उनका ओठले मेरा गालामा मधुर स्पर्श गरी कानमा साउती मार्न थाले। धन्यवाद रामुसान अर्थात् रामुजी। जापानी भाषामा जीको अर्थमा सान प्रयोग गरिन्छ।  

म झन् अन्योलमा परिरहेको थिएँ। किन मलाई धन्यवाद ? के भयो हिजाको नोमिखाइमा ? सम्झना केही आइरहेको थिएन। एक त उनको यो अंकमालले शरीरको तापक्रम बढाइरहेको थियो। भर्खर नुहाएर आएको चिसो शरीरले पनि यति धेरै गर्मी गराउन सक्छ भन्ने मैले पहिले कहिले अनुभव गर्न सकेको थिइनँ।  

‘मलाई माफ गरिदेऊ,’ मैले उनलाई अँगालोबाट छुटाउँदै भने। म माफी माग्न चाहन्थेँ, हिजो मैले बेहोसीमा गरेका खराब व्यवहारको, तर बोल्न दिएनन् मलाई उनका ओठले। अचानक बन्द गरिदिए, उनका ओठले मेरा ओठ। मैले सबै कुरा भुलेँ। हामी सम्पूर्ण रूपमा एकअर्कामा घुलियौँ। जसरी नुनचिनी पानीमा मिसिन्छ। हेर्दा देखिँदैन, तर पिउँदा थाहा हुन्छ। ममा उनी देखिन्नन्, तर उनको अस्तित्व पूर्ण रूपमा छ मेरो जिन्दगीमा। म देखिन्न उनको जिन्दगीमा तर मेरो पूर्ण अस्तित्व छ उनको जिन्दगीमा। उनी। अर्थात सोरा।

सोरा हाम्रो अफिसकी सबैभन्दा कान्छी र सबैभन्दा मेहनती कर्मचारी। सबैले माया गरेर उनलाई सोराच्यान भन्छन्। उनी अफिस आएको पहिलो दिन मेनेजरले स्टाफ मिटिङमै भनेका थिए– सोराच्यान हिरोइनजस्तै। ठिक्कको उचाइ उस्तै मिलेको शरीर, ठिक्कको कपाल, सबै कुरा राम्रो। कुनै दिग्गज कलाकारले वर्षौं मेहनत गरेर बनाएको कलाजस्तै थिइन् सोरा।

उनको र मेरो डिपार्ट फरक भए पनि हाम्रो वर्क टेबल आमनेसामने थियो। धेरैपटक सिसाको बार छेडेर हाम्रा नजर मिलेका थिए। मैले धेरैपटक उनलाई लुकीछिपी हेरेको छु। सायद मेरो मनले चाहेको थियो, सोरा मसँग नजिकिऊन्। मैले सोराजस्ती सोझी केटीसँग कुनै दिन यो अवस्थामा हुन्छु भन्ने सोचेको थिइनँ। मैले धेरै जापानीसँग संगत गरिसकेको छु, तर सोराजस्ती सरल, सोझी, शर्मिली अहिलेसम्म भेटेको थिइनँ। कहिलेकाहीँ भन्ने गर्थें– तिमीजस्ती पनि जापानिज छन् है ?

उनी थोरै मुस्काउँथिन्। थाहा छैन, मेरो तात्पर्य बुझ्थिन् वा बुझ्दिनथिन्।

सोरा कफी र पाउरोटी लिएर आइन्। खाजा खाइसकेपछि म नुहाउन जान लागेँ। उनले आफ्नो कपडा दिँदै भनिन्, ‘तपाईंको लुगा सुकेको छैन।’  

सुकेको छैन ? धोइदिएकी !

हिजो हजुर फोहोरी हुनुभएको थियो। हजुरले नपिउँदै राम्रो होला।

हँ ! के गरेँ मैले, बमिट ?

आफू मात्र होइन, मेरो कपडामा पनि।

मलाई माफ गर। मैले आफ्नो शिर जतिसक्दो तल निहुराउने कोसिस गरेँ। नुहाएर टवेल बेरेर निस्किएँ र चिसै भए पनि कपडा ल्याइदिन अनुरोध गरेँ।  

कपडा सुकेको छैन र आजको मौसम हेर्दा सुक्ला जस्तो पनि छैन।  

म आइरन गरेर सुकाउँछु। उनी मेरो नजिक आइन्। यति नजिक कि मैले उनको शरीरको तातोपन प्रस्टै अनुभव गरिरहेको थिएँ। ‘आज यहीँ बस्नु न ल,’ उनी बोलिन्।

म सोच्दै थिएँ। कोठामा पनि कसैले कुरेर बसेको छैन। कहाँ गयो भनेर खोजी गर्ने कोही छैन। गएर खाना बनाएर एक्लै खाने हो। एक रात बेहोसीमा बिताइएछ। अब एक रात होसहवासमै बिताइदिउँ। सायद मेरो मन पनि यही चाहन्थ्यो।

‘प्लिज !’ फेरि उनको अनुरोध।

‘ओके। अनि के म दिनभरि नांगै बस्ने ?’

मेरो कपडा लगाउनुस् न।

भो, बरु यसै ठीक छ।  

हिजो के भो सोरा ?

भुलिदिनुस् हिजोका कुरा। मान्नुहुन्छ  भने नपिउनुस्।

मलाई पनि पिएको मनपर्दैन तर नपिउँदा एक्लो भइन्छ।  

म पिउँदिनँ त, खै एक्लो हुन्न। सँगै पिउने अरू धेरै कुरा हुन्छन् नि !

छाडिदेउ। तिमीले कसरी ल्यायौ मलाई यहाँ ! अरूले के भने ?

के भन्नु, सबै मातेका थिए। रेस्टुरेन्टबाट निस्केपछि सबैजना आ–आफ्नो बाटो लागे। तपाईं मातेपछि थामिन सक्नुहुन्न रैछ। होस पनि नहुने। रेस्टुरेन्टको बाहिर नै मेरो लुगाभरि बमिट गरिदिनुभयो।

मलाई माफ गरिदेऊ सोरा। म एकदमै लज्जित छु।

मैले तपाईंलाई स्टेसनसम्म पु¥याउनै सकिनँ। ट्याक्सी मगाएँ। ट्याक्सीमा तपाईंले आफ्नो जिउभरि बमिट गर्नुभयो।

माफी चाहन्छु सोरा। (म भित्रैदेखि आफूलाई लज्जित महसुस गरिरहेको थिएँ।)

तपाईंलाई एक्लै छाड्नै मन लागेन। छाड्ने अवस्थामा पनि हुनुहुन्नथ्यो। फेरि मलाई तपाईंको ठेगाना थाहा थिएन। त्यसैले आफ्नैमा ल्याएँ।  

मलाई थाहा थियो कि उनले चाहेको भए पलभरमै मेरो ठेगाना पत्ता लगाउन सक्थिन् तर मैले केही भनिनँ। किनकि मलाई राम्रो लागेको थियो, उनले आफ्नो कोठामा ल्याएकामा। मैले उठेर शिर निहुर्‍याएर आदरका साथ धन्यवाद प्रकट गरेँ। अनि उनका दुवै हातमा चुम्बन गरिदिएँ। उनी मेरो अँगालोमा बेरिइन्।

तिमीलाई मेरो माया लाग्छ सोरा ?

अफकोर्स लाग्छ। नलाग्ने भए तपाईं अहिले यहाँ हुनुहुन्नथ्यो। कति लाग्छ भनेर चाहिँ नसोध्नुस्, म भन्न सक्दिनँ।

बिदाभरि हामी स्काई ट्री, योयोगी, टोक्यो डिजनिल्यान्ड लगायत पार्क तथा रेस्टुरेन्ट गयौँ। बिदाभरि कुनै दिन पनि हाम्रो बास बस्ने छत छुट्टाछुट्टै भएनन्। यो एकहप्ते बिदाले हामीलाई यति नजिक बनायो, हामीमा कुनै दूरी बाँकी रहेन।

अफिस सुरु भएपछि हाम्रो दैनिकी फेरियो, तर फेरिएन माया। हामी सँगै बस्न थाल्यौँ। उनले कताकति नेपाली सिकेकी थिइन्। संस्कार संस्कृतिको बारेमा अध्ययन गर्न थालेकी थिइन्। यो लगन देखेर उनीप्रति मेरो माया झनै बढेर आउँथ्यो। विदेश गएपछि देशको माया अचानक बढ्दो रैछ। अरू देशका साथीले आफ्नो देशको बारेमा चासो राख्दा खुब खुसी लाग्दो रैछ।  

बिदाको दिन सधैँ बिहान ८ बजेसम्म सुत्छु। ब्युँझिएपछि मोबाइलमा समाचार, सोसल मिडियाका अपडेट, म्यासेज हेर्दा एक घन्टाजस्तो बित्छ। आज बिहानै सोरा साथीलाई भेट्न निस्केकी थिइन्। आज हामी दुवैले बाहिर खाना खाने उनको योजना रहेछ। ढिला उठेर मोबाइल हेर्दा लामो म्यासेज थियो– १०ः४५ कोसेली (नेपाली रेस्टुरेन्ट) मा खाना खाने। कहाँ कति बेला भेट्ने भनी सबै लेखेकी थिइन्। म अल्छी, उठेर तयार भई जाँदा केही ढिला भयो। ढोकाबाटै पर देखिइन्, ठुस्स परेकी सोरा।

सरी आकू (सोरा अर्थात आकाश, त्यसैले म उनलाई नेपालीमा आकू भन्छु। यो सम्बोधन  उनलाई मनपर्छ)।  

हजुर जहिले यस्तै हो।

कोसेलीकी साहुनी दिदी (नेपालीसँग बिहे गरेर नेपाली रेस्टुरेन्ट चलाएर बसेकी जापानी महिला) ले पानी राखिदिँदै नेपालीमै भन्नुभयो– बिस्तारै  बानी पछ्र्यौ।

मैले उनको नाक तानिदिँदै भनेँ– देख्यौ, दिदी बानी परिसक्नुभयो।  

बिल तिर्ने बेला मैले पैसा राखिदिएँ, सोराले पनि पैसा राखिन्। मैले उनले राखेको पैसा निकालेर उनकै पर्समा राख्दै भनेँ– ‘यो पनि बानी परेको छैन दिदी।’ जापानीहरू सँगै आएर खाने अनि बूढाबूढी भए पनि छुट्टाछुट्टै पैसा तिर्ने बानी देखेर सुरुमा म छक्क परेको थिएँ।  

फर्कंदै गर्दा घरबाट फोन आएको थियो। ट्रेनबाट झरेपछि कलब्याक गरेँ। ममी र सोराको लामो कुरा भयो। उनलाई ममीसँग कुरा गर्न लामै समय लाग्छ। कति कुरा उनलाई थाहा छैन। धेरै छिटो बोल्यो भने उनी बुझ्दिनन्। कतिपय कुरामा सोरा बोलेको ममीले बुझ्नुहुन्न। त्यसैले यी दुईबीच कुरा लामै हुने गर्छ।  

‘यसपालि दसैँमा म पनि हजुरसँग नेपाल जान्छु। विवाह गरेर आउने,’ उनको अचानकको प्रस्तावले म छक्क परेँ। चार महिनाअगाडि मात्र मैले विवाह गर्न नेपाल जाउँ भन्दा अझै केही समय लाग्छ भनेकी सोरालाई आज के भयो ? जेहोस्, म खुसी थिएँ।  

दसैँ आउन चार महिनाजति बाँकी थियो। अक्टोबरको पहिलो हप्ता नेपाल जाने सल्लाह थियो, दसैँ कात्तिकमा परेको थियो।

हामीले योजना बनाउन थाल्यौँ। सोराका बाआमा शिकोकु बस्थे, उनले आमाबुवालाई नभेटेको दुई वर्ष भएको थियो। यसपालि नेपाल जाने भएपछि उनले बाबुआमालाई भेटेर जान चाहन्थिन्। शिकोकु गई एक हप्तामा फर्कने र भिसा प्रोसेस गर्ने हामीबीच सल्लाह भएको थियो। नेपाल जाने भनेदेखि उनले पछिल्ला दिन केही न केही सामान लिएर आउँथिन्। थाहा छैन, कसकसका लागि के के लैजाने सुर गरेकी हुन्।  

उनी योजना अनुसार नै शिकोकु लागिन्। म एअरपोर्टसम्म उनलाई पुर्‍याउन गएको थिएँ, छुट्ने बेला अंकमाल गर्दै उनले भनिन्– राम्रोसँग बस्नु है, म चाँडै आउँछु। उनी गएको मैले नछेकिँदासम्म हेरिरहेँ।  

हामी छुटेको डेढ घन्टा जतिपछि फोन आयो। उनी कोचीर्‍योमा एअरपोर्ट पुगिछन्। भन्दै थिइन्– घर पुग्न अझै आधा घन्टा  जति लाग्छ।  हामी हरेक दिन फोनमा कुरा गर्थ्यौँ ।  

घर गएको पर्सिपल्ट उनले फोनमा भनिन्– पानी परेर बाहिर निस्कनै सकेकी छैन। त्यसपछि उनले फोन गरिनन्। मैले फोन गर्दा सम्पर्क भएन। अफिसबाट पनि लगातार डायल गरिरहेँ। तीन दिनपछि नयाँ नम्बरबाट उनले सम्पर्क गरिन्– पानी धेरै परिरहेको छ। बाढी आएर क्षति गरेकाले बिजुली छैन, सरी राम धेरै चिन्ता नलिऊ है। यसपालि दसैँमा तिमी एक्लै भए पनि घर जाऊ।  

यति भनेर उनी सुकसुकाइन्।  

के भनेकी आकू ? किन यस्तो कुरा गरेकी ? हामी दुवैजना जाने हो। म एक्लै त जान्नँ। तिमी छिटै आऊ।  

उनको रूवाइ बढ्दै गयो। म झनै चिन्तित भएँ। किन यस्तो कुरा गरेकी होली ! मन भक्कानियो, आँखा मूल बन्यो।  

त्यसपछि फेरि हाम्रो सम्पर्क भएन। शनिबार र आइतबार दिनभरि कोठामै बिताएँ। जुलाईको पहिलो दिन अफिसमा सोराको टेबलतिर हेरेर टोलाइरहेको रैछु। मायु अत्तालिँदै आइन् र भनिन्– रामु नराम्रो खबर छ। बाढीले जापानको धेरै ठाउँमा धेरै क्षति पुर्‍याएको छ। शिकोकु र होन्सुमा घर धेरै बगायो रे। धेरै बेपत्ता छन्। पानी नरोकिएकाले उद्धार गर्न सकिरहेका छैनन्।  

म स्तब्ध हुन्छु। कुनै प्रतिक्रिया दिन सक्दिनँ। मेरा आँखाले प्रतिक्रिया दिइसकेका हुन्छन्। भगवानसँग प्रार्थना गर्छु– सोरालाई केही नहोस्।  

बाढीको खबरमा बिस्तारै मृतकको नाम बढ्न थाले। मनमा ठूलो आँधी चलिरहेको थियो। दिन र रातमा कुनै फरक हुन छाड्यो। निद हराएको थियो, पिउन मन लागेको थियो। सोराको भनाइ सम्झेँ– तिमीले नपिऊ। बाहिर बादल रोइरहेको थियो। भित्र म रोइरहेको थिएँ। कतिखेर निदाएछु पत्तै पाइनँ। डोरबेलले झसंग भएँ। ‘आकू’ भन्दै हतारहतार ढोका खोलेँ। मेरी आकू थिइनन्। उनले मगाएको सामान थियो। म आफूलाई कठोर बनाउन खोज्छु। पटक्कै सक्दिनँ।  

यसपालि पानी धेरै बर्सिरहेको छ। म पनि कम बर्सिएको छैन। अब त पानी परेकै बेला मात्र बाहिर निस्कन थालेको छु। पानी नपरेका बेला बाहिर निस्कने आँट गर्न सकेको छैन। आँसु थामिदैनन्। पानीमा रुँदा कसैले थाहा पनि पाउँदैन। हावर्ड ग्रिनफिल्ड र किङ क्यारोललाई पनि यस्तै पीडा भएको थियो होला र ‘क्राइङ इन द रेन’ जन्मियो।  

दिन, हप्ता हुँदै महिना बित्यो। सोरा आइनन्। उनको नाम बेपत्ता सूचीमा छ। करिब वर्ष दिनपछि अफिसले सोराको ठाउँमा अर्को कर्मचारी भर्ना गर्‍यो। समयसँगै सबै कुरा सामान्य हुन थाले तर म सामान्य हुन सकिनँ। निदाउन औषधि खानुपर्ने हुन थाल्यो। काममा मन जान छाड्यो। उनको बाटो हेर्नमै व्यस्त हुन्थेँ। यसरी बसिरहेँ भने त म बौलाउँछु ! २०१९ को २५ मार्चमा म अफिस गएर राजीनामा बुझाएँ। माहोल धेरै भावुक बन्यो। लङ होलिडेमा जाऊ भन्ने प्रस्ताव आएको थियो। मैले जागिर छाड्ने निर्णय गरिसकेको थिएँ। अब म यहाँ बस्न र काम गर्न सक्दिनँ। यहाँ बसेर उनलाई कुर्न सक्दिनँ र भुल्न पनि सक्दिनँ। म नेपाल फर्कन्छु। मलाई परिवारको साथ आवश्यक छ।  

अफिसले सम्झौता गर्दा सर्त राखेको थियो– जागिर छाड्नुपरे एक महिनाअगाडि जानकारी गराउनुपर्ने। तर, मेरो समस्यालाई बुझेर १५ दिनमै राजीनामा स्वीकृत भयो। अप्रिलको चौथो हप्ता म नेपाल फर्कने भएँ। हानेदा एअरपोर्टमा पुगेपछि आँखा बन्द गरेर आफ्नो शरीरमा उनको अन्तिम स्पर्श कल्पना गरेँ। यही ठाउँ थियो, उनले अन्तिमपटक मलाई अंकमाल गरेको। छलिने बेला फर्केर हेरेको। आज पनि आएर अंकमाल गर्छिन् कि भन्ने आशाले निकैबेर आँखा बन्द गरेर हात फैलाएँ, अहँ मेरी आकू आइनन्। 

प्रकाशित: २ श्रावण २०७८ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App