छायादत्त न्यौपाने
१) अलि गाह्रो छ
आज अलि साना छौँ
न्यानो माया दिनु है
हजुरबाबा आमाले
काखमा खेलाउनु है
बाबा आमा दुवैको
देखभाल प्यारो छ
टुकुटुकु हिँड्ने हो
आजै अलि गाह्रो छ
घरीघरी रोइदिन्छौं
स्नेहले फुल्याउनू
दुःख हुन्छ बेस्सरी
मनमा पिर नलिनू !
हामी खेल्ने बेला यो
साथ तपाईंहरूको
सम्झना आउला है
भोलि ठुला हुँदा पो
मायाभरि मनको
साथ सेवा दिनु है
हजुरबाबा आमाले
बाआमालाई भन्नू है !
२) समाचार
साथीभाइ संसारमा
डुलौं फिरौं भन्छन्
रेडियो र टेलिभिजन
समाचार दिन्छन्
सूचना हो समाचार
संसार चिनाउँछ
ज्ञानराशि समाचार
बोल्न नि सिकाउँछ
खेलकुद राजनीति
किसानका कुरा
विज्ञान र प्रविधिको
जानकारी पूरा
उद्योग बन्दव्यापार
यातायात धेरै
पर्यटन व्यवसाय
समाचार सबै
पत्रिका नि पढौं हामी
इन्टरनेट हेरौं
समाचारै पढौं हेरौं
यसैमा रमाऔं !
प्रकाशित: २७ असार २०७८ ०४:१८ आइतबार