राजेन्द्र शर्मा
जनता सरकारविरुद्ध ठाउँठाउँमा विरोध जुलुसमा उत्रिदै थिए। यो देखेर सरकार सञ्चालक डरले थरथर काप्न थाले । जनता सबै एकजुट भएका थिए। जनताले विभिन्न शासन व्यवस्थाको अनुभव गरिसकेका थिए । तर पनि खोजेजस्तो रोजेँ जस्तो शासन व्यवस्था नपाएकोमा विरोध सभाबाट आक्रोश व्यक्त गरिरहेका थिए।
यस्तो अवस्था देखेर सरकार प्रमुखले आफ्नो पिएलाई बोलाएर भनेँ, “सरकार विरोधी सभा देशका विभिन्न ठाउँमा भइरहेका छन्। जनता भड्किनुको कारण के रहेछ ? मलाई त जनतालाई कसैले भड्काउँदै छ जस्तो लाग्यो । को रहेछ त्यो ? तु. पत्ता लगाउनुहोस् ।”
पिएले हस् भन्दै कारण पत्ता लगाउन सरकार प्रमुखसँग एक हप्ताको समय मागे । उनी भेष बद्लेर देशको विभिन्न भागमा जनताको नजिक पुगेँ। उनले दुई दिनमै जनता विरोधमा उत्रिनुको कारण पत्ता लगाए र फर्किए।
पिए दुई दिनमै फिर्ता भएको देखेर दङ्ग पर्दै सरकार प्रमुखले सोधेँ, “यति चाँडै फर्किनुभयो । के रहेछ जनता भड्किनुको कारण ? को रहेछ त्यो जनता भड्काउने गद्दार ?”
पिएले एकै सासमा भने, “जनता भड्किनुका थुप्रै कारण छन् हजुर । ती मुख्य कारण हुन् बेरोजगार, अशिक्षा, गरिबी, सुकुमबासी समस्या, बढ्दो भ्रष्टाचार, द्वन्द्व, अशान्ति, बढ्दो महँगी, जातीय वर्गीय विभेद आदिआदि ।”
पिएले पुनः लामो सास फेर्दै भने, “अब जनता भड्काउने गद्दार को रहेछ आफै पत्ता लगाउनुपर्यो हजुर ।”
यति भनेर पिए सरासर सरकार प्रमुखको कक्षबाट बाहिर निस्किए । सरकार प्रमुख भने ट्वाल्ल परेर आफ्नो रङ्ग उडेको अनुहार ऐनामा हेर्दै थिए।
प्रकाशित: १६ असार २०७८ १२:५९ बुधबार