आर मानन्धर
कुरा छब्बीस सय वर्ष अगाडिको हो । दुई जना उत्पीडित बुद्ध भेट्न आए । बुद्धलाई आफ्ना पीडाका कहानी सुनाए । दुवैका फरक– फरक दर्दनाक कथाहरू थिए ।
उनीहरूले बुद्धलाई भने,“हामीले मान्छेहरू र समाजबाट धेरै उत्पीडन भोग्यौं । हामीले धेरै अभियान चलायौं, आन्दोलन गरयौं र धेरै लड्यौं । उत्पीडन केही कम त भयो तर निर्मूल नै हुन सकेन । हजुरसित अलौकिक शक्ति छ रे । हजुरले चमत्कार गरेर उत्पीडनलाई निर्मूल गरिदिनुपरयो । नभए त हजुरको चमत्कारिक शक्तिको के काम?”
बुद्ध गम्भीर भए र उनले भने, “हो,मसित अलौकिक चमत्कारिक शक्ति छ । त्यसका लागि एक मुठी तोरी चाहिन्छ । तिमीहरूमध्ये एक जनाले अहिलेसम्म कोही पनि पीडित नभएको घरबाट एक मुठी तोरी लिएर आउनू । अर्कोले अहिलेसम्म कोही पनि पीडक नभएको घरबाट एक मुठी तोरी लिएर आउनू । दुईमध्ये जुनै भए पनि हुन्छ । बस्, एक मुठी तोरी भए पुग्छ ।”
दुवै एकदमै खुशी भए। खुशी मानेर हिँडे। तर साँझसम्म पनि उनीहरूले न पीडित नभएको घर भेट्टाउन सके न पीडक नभएको नै । हरेकले आआफ्नै पीडाका कथा सुनाउँथे । अनि कसैले पनि आफू कहिल्यै पीडक भएका छैनौं भनेर पनि आत्मविश्वासपूर्वक भन्न सकेनन् । उनीहरूले अन्तबाट त के आआफ्नै घरबाट पनि एक मुठी तोरी पाउन सकेनन् ।
अन्तिममा उनीहरू बुद्ध बसेको ठाउँमा फर्के । अहिले उनीहरूको अनुहार फरक भएको छ, थाकिएको भए पनि तनावरहित, शान्त र उज्यालो । बुद्धले सोधे, “खै त एक मुठी तोरी ?”
उनीहरूले भने, “अब त्यसको आवश्यकता छैन । हामीले एक मुठी शिक्षा पाइसक्यौं। अब हाम्रो आँखा खुलेको छ । बल्ल अब हाम्रो आन्दोलनका पाइला ठाउँमा पर्ने छ ।”
प्रकाशित: १२ असार २०७८ ०९:३३ शनिबार