१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

मातृत्व

लघुकथा

प्रभादेवी पौडेल

 

पतिदेव बारीमा काम गर्दै हुनुहुन्थ्यो। नजिकै रहेको आँपको रुखबाट  एउटा डाङ्ग्रेको बच्चा फुत्त झरेछ । यसो हेरेर खुशी हुँदै त्यो चल्लो घरमा लिएर आउनुभयो र भाँडाकुटी खेलिरहेका साना छोराछोरीलाई दिनुभयो। केटाकेटी खुबै रमाए। चल्लो च्याँच्याँ गरेर कराउन थाल्यो। यो सुनेर झन् उनीहरू रमाईरमाई उफ्रिन लागे। किनभने प्लास्टिकको चरा खेलाइरहेका केटाकेटी साँच्चिकै चरा खेलाइरहेका थिए। घरमा पिँजडा पनि आयो। सबै जनाको मनोरञ्जनको वस्तु बन्यो ऊ तर म निराश थिएँ। किनभने मेरा पनि दुई सन्तान थिए। चराको हरेक च्याँच्याँमा मेरो मातृहृदय चिरिन्थ्यो। म कतै गएको बेलामा उनीहरू निकै आत्तिन्थे। मलाई छोराछोरीको खुशीभन्दा पनि त्यो अबोध चराको स्वतन्त्रतातिर ध्यान गयो। बाहना खोज्दै गएँ। 

एकदिन म काम विशेषले घरभन्दा केही टाढा गएकी थिएँ । कस्तो संयोग पर्यो भने एउटा केटाले बाँस घारीमा गुलेलीले चरा मारिरहेको थियो। मैले उसलाई चरा नमार्न धेरै सम्झाए र सय रुपैयाँ दिएर उसको हातमा रहेको  मरेको डाङ्ग्रेको बच्चा मागें। ऊ निकै खुशी भएर दियो।

मलाई घर आउन हतार भयो। म सरासर आएँ र कसैले नदेख्ने गरी चरो उडाइदिएँ र मरेको डाङ्ग्रे  पिँजडामा राखिदिएँ। चरो उडेर उही आँपको बोटमा गएर बस्यो। मैले हेरिरहेँ। बल्ल आफू एक सफल आमा बनेको महसुस भयो।  

प्रकाशित: १२ असार २०७८ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App