युवराज भण्डारी
‘ड्याडी ज न भ्वार रियाँ ।’ मेरो हात समाउँदै उसले भन्यो। यो सुनेर म झस्कें। फ्रान्सेली भाषामा केही देख्न सकिरहेको छैन भन्दै थियो उसले। मैले हत्तपत्त उसको अनुहार हेरें। एकाबिहानै कालो चस्मा लगाएर आएको रहेछ। चस्मा निकाल्न लगाएँ।चस्मा मलाई दिँदै उसले भन्यो, ‘ज प भवार बियाँ।’
मतलब उसले अब राम्रोसँग देखिरहेको थियो। उसको स्कूल पनि आइपुग्यो। उसलाई छोडेर म कामको बाटो लागेँ।
मौसम निकै सुन्दर थियो। लामो हिउँदपश्चात् वसन्तका पालुवाहरू पलाउन आटेका थिए। मन्ट्रियल फेरि हराभरा हुने तरखर गर्दै थियो। भर्खर सकिएको जाडो यामको अनुकम्पाले गर्दा भनूँ दुई सय सेन्टिमिटरभन्दा बढी हिउँ आफ्नो वक्षमा सोसेर भरिपूर्ण भए जस्तो लाग्थ्यो क्यानाडाको दक्षिणपूर्वमा अवस्थित यो शहर।
बिहानको एघार बजेको थियो होला, अफिसबाट तुरुन्त छोराको स्कुल जानु भन्ने खबर आयो। यत्तिकैमा मेरो मोबाइलको घण्टी बज्यो। ‘तपाईंको छोरालाई अस्पताल लानुपर्ने भएको छ, तुरुन्त आउनु।’
म हतारहतार स्कुलतिर लागेँ। स्कुल पुग्नै लाग्दा उनीसँग बाटैमा भेट भयो। श्रीमतीलाई देखेपछि म झन् आत्तिएँ ‘के भयो होला ?’
उनी रुन थालिन्। स्कूल पुग्दा छोरालाई एम्बुलेन्समा राखेर अस्पताल लगिसकेको रहेछ। हाम्रो प्रश्नको जवाफ दिँदै स्कुल सेक्रेटरीले भनिन्, ‘अनुहारमा ठाउँठाउँमा छाला रातो भएको छ। सास फेर्न गाह्रो भएको छ भनेर सोधेको, भएको छ भन्यो अनि हामीले तत्काल एम्बुलेन्स बोलायौं। हामी बेर नगरी अस्पतालतिर दौड्यौं।
हामी अस्पताल पुग्दा ऊ आपतकालीन कक्षनिरको बेन्चमा खेलिरहेको थियो। हामीलाई देखेर ऊ मुसुक्क हाँस्यो। कुरेर बसेकी युवती सबै कुरा बताएर हामीसँग बिदा भइन्। छोराले खुसी हुँदै एम्बुलेन्सको यात्रा सुनाउन थाल्यो, ‘कस्तो रमाइलो, बाहिर हेर्दै आएँ।’
– सास फेर्न मुस्किल भएको हो तिमीलाई ?
मेरो सवालको जवाफमा उसले छैन भनेपछि ढुक्क भयो। अचानक मेरो ध्यान उसको निधारको टीकामा पर्यो। जताततै लतपतिएको रहेछ। यो चाल पाएर उसकी आमाले भनिन्, ‘बिहान पूजा गरेर टीका लगाइदिएकी थिएँ।’
यसैलाई स्कुलमा दादुराजस्तै कुनै रोग सम्झेका रहेछन्। हामी अक्क न बक्क भएर केहीबेरसम्म एक अर्कालाई हेरिरह्यौं।
प्रकाशित: १२ असार २०७८ ०६:५६ शनिबार