रामकुमार पण्डित क्षेत्री
छेपारोले रङ्ग फेरयो भन्दै
एक धार्नी भ्यागुताहरूले
कुवामा बसेर ट्वारट्वाराइरहे
गीतको भाकामा भने कसैले
कविता बनाए कसैले
कसैले व्यङ्ग्यमा उडाए
संसद्मा बस्ने छेपारोलाई
कसैले चोकमा रहेको
चिया पसलमा
चमकदार चश्मा पहिरेकी
साहुनीले पस्किएकी
चियाको चुस्कीसँगै
चुट्किला सरी
हाँसोमा उडाउने
मान्छेले जस्तै उडाए
कान्लामुनिको भ्यागुतो
सधैं कान्लामुनि नै हुन्छ
छेपारोलाई वास्ता छैन भ्यागुताहरूको
भ्यागुताको शब्द सुन्ने उसको कान छैन
निर्दोषको पीडाले उसको मुटु चिसो हुँदैन
ऊ त भोलि घर बनाउने बहानामा
आज शिशिरको पारिलो घाम तापिरहेछ
ए मान्छे हो,
तिमीलाई छेपारो मन पर्दैन भने
आऊ सँगै ढुङ्गा हान्न जाउँ ।
प्रकाशित: २८ जेष्ठ २०७८ ०९:०६ शुक्रबार