सरु काश्यप
प्रातः सखारै
कोठाको पर्दाहरू उघारेर
पूर्वी क्षितिज नियालिरहँदा
म सधैं देख्ने गर्थें–
कलिलो सूर्य र सुनौलो आकाश
कलमको नीवजस्ता धारिला हिमालयहरू
आकाश छुन खोज्ने अग्ला पहाडहरू
हरियाली र चराहरूको चिरविर –चिरविर आवाजहरू !
खर्पनमा तरकारी बोकिरहेका व्यस्त श्रमजीवीहरू
हतारमा पाइला चालिरहेका स्कुल– कलेजका विद्यार्थीहरू
चियाको कपबाट फुरुरु बाफ उडाउँदै
चिया पिउँदै गरेका चोक–चोकमा चियाका अम्मलीहरू !
हतारमा आआफ्नो जिजीविषा बोकेर
हिँडिरहेका मानवका अथाह खुसीहरू
सबै चलायमान – सबै गतिशील पदचापहरू
सबै –सबै सजीव दृश्यहरू
हेरिरहन्थें म प्रातः सखारै निद्राबाट बिउँझिएर....।
जीवन्त अस्तित्वबोध गराउँथ्यो – सबै दृश्यहरूले
तर अहिले देखिँदैनन् – ती सजीव दृश्यहरू !
कहाँ हराए ती सुनौला बिहानहरू
कहाँ छोडिए ती सुकुमार दिनहरू
कहाँ थुनिए ती प्रिय गोधूलि साँझहरू ?
प्रकृति उही छ
ऋतु –महिना – बार –गते सबै उहीँ छन्
हिमाल उस्तै छ
मुस्काइरहेको – हाँसिरहेको
पशुपंक्षीहरू उस्तै छन्
निर्बाध – स्वतन्त्र विचरण गरिरहेका
बन्धनमा छ – मानव जीवन
भयभीत छ – मात्रै मानव
सन्नाटा छ चारैतिर
त्रसित छन् गाउँ –शहर
शून्य छ वस्ती महामारीले
शून्य छ बाटोघाटो
शून्य छ सधैं व्यस्त रहने चोक र चौतारीहरू !
सडकमा सवारी गुड्दैनन्
अलिकति आश
अलिकति सास र,
अलिकति लास बोकेर
नमीठो साइरन बजाउँदै
भयभीत सन्नाटालाई अझ भयभीत बनाउँदै
पल–प्रतिपल गुडिरहेका छन् एम्बुलेन्सका कर्कश साइरनहरू !
मानव बस्तीमा पसेर मृत्युले यसरी
कहिलेसम्म नाचिरहने हो– यो ताण्डव–नृत्य ?
प्रकाशित: २८ जेष्ठ २०७८ ०८:४१ शुक्रबार