शुक्रऋषि चौलागाई
भोलि नैनकला कारागारबाट छुटने दिन । कारागारको ६ महिने कष्टकर दिन पूरा गरिसकेकी छिन् । साथीभाइ, घरपरिवार सम्झेर हो वा जेलभित्र नर्कमय जीवन बिताउनुपर्ने डरले, कारागार टेकेको पहिलो दिन उनले आँखा ओभानोसम्म पारेकी थिइनन् । बन्दी जीवनबाट अब मुक्ति पाउँदैछिन् तर पनि उनमा कुनै खुसी र उत्साह छैन । द्विविधा र छटपटी मनको सागरमा उर्लिँदैछ । दुःखको अर्को अध्यायको सामना गर्नुपर्ने चिन्ताले पनि पिरोलिइरहेको छ, उनलाई ।
भोलिपल्ट कारागारको मूल गेटमा उभिएका प्रहरी हवल्दारले सेतो कागज हेर्दै नाम बोलाउँछन् । दुई जनापछि नैनकलाको नाम पनि आयो । पुरानो खुइलिनै लागेको कुर्ता, सुरुवाल, हातमा झुन्डयाइएको प्लास्टिकको झोला । त्यो पनि सायद कसैले दिएको हुनुपर्छ । जसभित्र एकदुई जोर लुगा हुँदो हो । नैनकला बाहिर निस्किइन् । गहु्रंगा पाइला बिस्तारै अगाडि बढाइन् ।
ड्याम्म आवाजमा गेट बन्द भयो । ठूलो ताला लाग्यो, त्यसमा । मान्छेहरूको होहल्ला कम नभए पनि एकसुरमा हिँडिरहेकी नैनकलाका कानमा पुरुषको आवाज ठोकियो । मधुर स्वर, कहीं कतै सुनेसुने जस्तो । अब कहाँ जान्छ्यौ ? तिम्रो मान्छे त कोही लिन आएनन् नि ? नैनकलाले आवाज आएतिर मुन्टो फर्काइन् । जिज्ञासु मुहारमा ठिङ्ग उभिएको परिचित अनुहार । दुवैको केही महिनाअघि जेलभित्रै परिचय भएको थियो । फरक यति मात्र कि नैनकला कैदी, उनी सुरक्षार्थ खटिने प्रहरी । आफूमाथि तेर्सिएको प्रश्नले नैनकलालाई बोल्न बाध्य बनायो।
‘थाहा छैन कहाँ जाने ? कसरी जाने ?’ मधुर स्वरमा उनले अन्योल प्रकट गरिन् ।
आफ्नो मान्छे छैनन्, यहाँ ? सुदीपले बुझ्ने चेष्टा गरे । छैनन्, नैनकलाले पुरानै भावमा उत्तर फर्काइन् । नैनकलाको उत्तरले सोधाइको क्रम अवरुद्ध भयो, केही क्षण । उनी कदम अगाडि बढाउन नसकी भुँइतिर हेरिरहेकी छिन् । सुदीप एकोहोरो उनको अनुहार ताकिरहेको छ।
नैनकलालाई जेलमा देखेदेखि नै सुदीपले मन पराउन थालिसकेका थिए । नैनकलाको कलकलाउँदो बैंस र हँसिलो मुहारले जोकोहीलाई पनि आकर्षित गथ्र्यो । त्यसमाथि अविवाहित २२ वर्षीय सुदीप । कारागारभित्र लुकीछिपी मात्र हेर्न पाइने मान्छेलाई आज आफ्नै सामु पाएका छन् —सुदीपले । फेरि भेट हुने, नहुने पनि थाहा छैन । त्यसैले पनि होला सुदीपलाई नैनकलासँग बोलिरहूँझंै लागेको छ । कारागारको गार्डले ट्वाङट्वाङ चार घन्टी हानेपछि मात्र थाहा पाए दुवैले, साँझको चार बजिसकेछ।
‘साँझ पर्न लागिसक्यो, आज अब कहाँ जान्छौ, समस्या पर्ला ?’, सुदीपले घुमाउरो पाराले सहयोगको याचना मागोस् भन्ने चाहना व्यक्त गर्दै प्रसंग बढाए । नैनकलाको आशातीत मुहार एकपटक सुदीपतिर मुखातीव हुन्छे । ‘अप्ठेरो लाग्दैन भने आजलाई धर्मशाला बस्ने व्यवस्था मिलाइदिन्छु नि । भोलि जहाँ जाने हो पु¥याइदिउला’, सित्तिमित्ति केटी मान्छेसँग नबोल्ने सुदीपले आँट गरेर बोल्यो । बिरानो ठाउँ बोल्ने मान्छे समेत नभेटिने अवस्थामा आफूप्रति चासो दिने व्यक्ति भेटिएकोमा होला नैनकलाले पनि मौन समर्थन जनाउन ढिला गरिनन् ।
गन्तव्यहीन नैनकलाको मौन समर्थनलाई सुदीपले स्वीकृतिको संज्ञा ठान्दै अगाडि थपे, ‘धर्मशाला पनि नजिकै छ । त्यस्तो अप्ठारो मान्नु पर्दैन । चिनेजानेकै मान्छे छन् । त्यहाँ पनि ।’
‘जाउँ हिँड’ पथप्रदर्शकझैं सुदीपले नैनकलालाई एक रात बासका लागि डो¥याए । केही बेरमै धर्मशाला पुगे । रिसेप्सनमा म्यानेजरसँग कुराकानी गरे—सुदीपले । म्यानेजरले सुदीपको हातमा ढोकाको साँचो राख्दै ७ नं. कोठातिर देखाए ।
अँध्यारो कोठा, एउटै मात्र ठूलो खाट, एकजोर नाम मात्रको टेबुल– कुर्सी । उनीहरूबीच कारागार बसाइका बारेमा सामान्य कुराकानी भयो । साँझको खानपिन गरे दुवैले । सुदीप कुर्सीमा बसिरहेका छन् भने नैनकला ओछ्यानमा अप्ठेरो मानेर बसिरहेकी छिन् । झ्याप्प बत्ती गयो, कोठामा चकमन्न अँध्यारो छायो । त्यति बेलै ढोकामा ढक्ढक् आवाज आयो । सुदीपले उठेर ढोका खोले, उज्यालो कोठाभित्र छिरयो । मैनबत्ती ल्याए हजुर भन्दै धर्मशालाको सहयोगीले मैनबत्ती टेबुलमा राखिदिए ।
रात जति छिप्पिदै जानथाल्यो, सुदीपको मनमा नैनकलाप्रतिको माया पनि त्यतिकै उदाउँदै जानथाल्यो । नैनकलाको विगत सुन्ने इच्छा तीव्र हुँदै गइरहेको थियो । जेल पर्नुको कारण के रहेछ ? कस्तो कष्ट भोगी होलिन् ? जस्ता उत्तर खोतल्न सुदीपको एकमनले अर्को मनलाई घच्घचाइरह्यो । कुराकानीको मेसो मेलाउँदै ‘तिम्रो घर सुर्खेत हो भन्ने सुनेको छु, मेरो पनि त्यहीं हो । तर अरू केही थाहा छैन’, जवाफ पाउने आशासहित सुदीप बोले।
नैनकलाले झ्वाट्ट जवाफ नफर्काइहाले पनि सुदीपतिर हेर्दै आश्चर्यमिश्रित स्वरमा बोलिन्, ‘तपाईको नि त्यहीं हो ?’
‘हो । मेरो सुर्खेत सिम्ता हो’, सुदीप नैनकलाको अनुहार हेर्दै बोले ।
सुदीप नैनकलाको रहस्य र जोखिमपूर्ण अतित सुन्न आतुर थिए।
‘पुराना दिनका कुरा बुझ्न मन लाग्यो । मिल्छ भने सुनाऊ न । म सुन्न चाहन्छु’, सुदीपले जोड दिए । एउटै जिल्लावासी भएको थाहा पाएर पनि होला, नैनकला टेबुलमा जलिरहेको मैनझैं विस्तारै पग्लिन थालिन् ।
‘तपाईलाई विश्वास नलाग्ला । वास्तवमा मेरो विगत भयानक सपनाजस्तो छ । जुन सपना म सम्झिन पनि चाहन्न तर बिर्सिन पनि सक्दिन । जीवनभरि झस्काइरहने त्यो सपना अरूले नै देख्न बाध्य बनाएका थिए’, मन गह्रुँगो बनाउने उनले भनिन्, ‘तपाई सोच्नु होला कसरी ?’ दृष्टि भुइँतिर फिजाउँदै उनले आफ्नो भनाइलाई जारी नै राखिन्, ‘सानैमा बाबुआमाको निधनपछि म काकाको घरमा हुर्केकी हुँ । म नाचगान भनेपछि हुरुक्कै हुन्थें । गाउँमा माओवादीको सांस्कृतिक कार्यक्रम भइरहन्थे । त्यतिबेला ९ कक्षामा पढ्थें । एकदिन उनीहरूले अलि पर गाउँमा सांस्कृतिक कार्यक्रम छ भनेर फकाइफुल्याइ गरेर लगे । त्यहाँ पुगेर नाचगान पनि हेरियो। त्यसपछि उनीहरूले नाच्न, गाउन पाइन्छ, थुप्रै ठाउँ हेर्न र घुम्न पाइन्छ । हामीसँगै हिँड भन्नथाले । घरमा गरेकी छैन । नाइँ म जान्न भन्दा पनि मानेनन् । सायद म राम्रो नाच्छु भनेर थाहा पाएरै होला, उनीहरूले जोडबल गरे । छोड्न मानेनन् । सँगै लिएर गए । घर छाडेर गएको १५ दिन जति भएको थियो होला । हामी एक गाउँबाट अर्को गाउँमा गइरहेका थियौं । सेनाले हामीलाई घेरा हाल्यो । हतियार भएका साथीहरू पड्काउँदै कसरी कसरी फुत्किहाले । हामी पक्राउ परयौं । मसहित केहीलाई आंतककारीको बिल्लासहित जेल पुरयाइयो । कलाकार हुने मेरो सपना आरुको फूलझैं झरेर गयो’, अतितको सपनाबाट बिउँझिएझैं गरी उनले लामो सास फेरिन् ।
धिपधिप बलिरहेको मैनको प्रकाशमा चम्किरहेको उनको मुहार सुदीपले एकोहोरो हेरिरहेको छ। न्यायधीशसामु बयान दिएझैं नैनकला भावुक हुँदै बोलिरहेकी छिन् । ‘मेरो दोष केही थिएन, तर पनि राज्यको नजरमा आतंककारी ठहरिए । त्यसैको सजाय भोग्नुपरयो ।’
‘अब कहाँ जाने त ? पुरानै बाटोमा ?’ सुदीपको प्रश्न झर्न नपाउँदै उनी बोलिन्, ‘कहाँ जाउँ, सबै बाटाहरू बन्द भइसके । घरपरिवारमा जाउँ तिरस्कृत र बहिस्कृत जस्तै भइसकेकी छु । युद्धमा होमिउ कुनै लक्षित उद्देश्य र प्राप्ति छैन । युद्ध किन र कसका लागि गरिँदैछ । युद्धमा लागेका थुप्रैलाई थाहा छैन भने केका लागि जेलनेल पर्नु र सहिद हुनु ? युद्धकै नाममा कति निर्दोष मरे, सयौं अंगभंग भए । हजारौं प्रताडित र विस्थापित भए तर अब यसो हुन दिनुहुन्न ।’
सुदीप क्लास लिइरहेको विद्यार्थीझैं चुपचाप सुनिरहेको छ र नैनकलाको मुखाकृति नियालिरहेको छ । नैनकलाको स्वरमा दृढता छ भने आँखामा नयाँ प्रण, आशा र उत्साहहरु पुनर्जीवित भइरहेका छन् । जीवन, जीवनजस्तो रहेन, घरसमाजमा जाउँ के मुख लिएर जाउँ ? एकोहोरो बोलाइको क्रमसँगै नैनकलाको पीडाबोध र भावमिश्रित स्वर पनि निस्कियो ।
‘किन चिन्ता गर्छौ, म छु नि अन्तरहृदयको भाव प्रकट हुनै लागेको थियो, सुदीपको । तर सम्हालिँदै बोल्यो, ‘सिंगो जीवन बाँकी छ, हार खानु हुँदैन । एउटा बाटो अवश्य निस्किन्छ ।’
निधारमा पसिनाको थोपा मैनबत्तीको प्रकाशमा टल्किएझैं नैनकलाको बैंस पनि अनुहारमा झल्किएको छ । रात छिप्पिसके पनि दुवैका कुरा सिद्धिसकेका छैनन् । तर पनि सुदीपलाई फर्किनु थियो । उनका आँखा भित्ताको घडीमा अड्किए । ‘कति चाँडै १० बजिसकेछ’, सुदीप आत्तिएझैं गरी कुर्सीबाट उठ्छ । यहाँ कुनै डर छैन । आरामसँग सुत्नु । म भोलि बिहान आउँला भन्दै सुदीपले पाइला अघि बढाए । नैनकलाले पनि नजानुस् भन्न सकिनन् उठेर बिदाइ गरिन् । हिँडँदा –हिँड्दै डेरा पुगेको पत्तै पाएनन् सुदीपले । भौतिक शरीर डेरामा पुगे पनि उनको दिल दिमाख नैनकलाकै वरिपरि थियो । फिल्मका दृश्य फेरिएझैं । नैनकलाका भनाइ पनि दिमागमा पत्रपत्र भएर पल्टिन थालेका थिए । के उनले भनेजस्तै युद्ध किन र कसको लागि गरिँदैछ भन्ने युद्ध गर्नेहरूलाई नै थाहा छैन ? के युद्धले मरेकाहरूको क्षतिपूर्ति हुनसक्ला ? युद्धबाट मुक्ति पाएर पनि के यिनले साँच्चिकै नयाँ जीवन सुरुवात गर्लिन् ? नैनकलाको अनुहार र जिज्ञाशा सुदीपको मानसपटलमा घुमिरहन्छ।
भोलिपल्ट बिहान सुदीप पुनः धर्मशाला पुग्छन् । केहीछिनको बातचितपछि सुदीपले आफूलाई ड्यूटी जान ढिलाइ भएको दर्साउँदै नैनकलालाई केही घन्टासम्म धर्मशालामै बस्न आग्रह गर्छन् ।
गन्तव्यहीन नैनकला निरुत्तर सुदीप गएतिर हेरिरहन्छिन् । कहीं जाने बाटो पनि सहज थिएन उनका लागि । खालि झोक्रिएर साेचमा डुबिन् । सुदीपलाई ड्यूटी गर्न मन छैन । हातको बन्दुक पनि भारी लागेको छ । कति बेला नैनकलालाई धित मरुञ्जेल हेरूँला र बात मारूँला भन्ने चाहना तीव्र हुँदैछ । उनकै मुहार रिघेको छ, आँखामा। कति राम्री, कति असल तर पनि नियतिले लखेटिरहे जस्तो । सुदीपको मनमा यस्तै तर्कना उव्जिरहेका छन् ।
के उनलाई विवाहको प्रस्ताव राख्नु ठिक होला ? त्यो प्रस्ताव मेरो पेशा (जागिर) विपरीत त हुँदैन ? साथीभाइले के भन्लान् ? के उनले मलाई सजिलै स्वीकार्लिन् त ? तर्क –वितर्कका अनेक लहर चलिरहेका छन्, सुदीपको मनमा ।
ड्यूटी सकेर सुदीप वर्दीमै धर्मशाला पुग्छन् । ढोका च्वाइअँ भएपछि मात्र थाहा पाइन नैनकलाले । दुवैका आँखा चार भए । नैनकलालाई हेरेर सुदीपले मायालु (आफू)लाई प्रतिक्षा गरिरहेझैं महसुस गरे । आतंककारीको बिल्ला लागे पनि नैनकलाको मुहारमा कुनै आतंकको छायाँ देख्दैनन्, सुदीप । नैनकला हिजोभन्दा आज अझै बढी राम्री लागेकी छिन्— उनलाई ।
नैनकला तिमीले कहीं जाने निर्णय गरिसकेकी छैनौ भने एउटा कुरा भनम् ।
आशा र भरोशाले भरिएका नैनकलाका आँखाले पुलुक्क सुदीपलाई हेर्छन् ।
म तिमीलाई मन पराउँथे र अझैं पराउँछु पनि तर तिमी के गर्छौ थाहा छैन्, प्रेमीझैं सुदीप बोलिरहेका छन् । म पनि एक्लो छु । तिम्रो मनले सही ठान्छ भने श्रीमान्को रूपमा मलाई आजैदेखि स्वीकार्न सक्छौैं । गाँठो पारेर राखेको कुरा खोल्दा सुदीपलाई चंगाझैं हल्का महसुस हुन्छ ।
सुदीपको प्रस्तावको जवाफ दिने सामथ्र्य नैनकलाका ओठले जुटाउन नसके पनि उनका आँखा सुदीपतिर केन्द्रित भई बोलिरहेका थिए । के तपाई मलाई साँच्चिकै प्रेम गर्नुहुन्छ ?
सम्हालिनु र सम्झौता गरिनु पनि जीवनको आवश्यकता रहेछ भन्ने ठानेर होला, नैनकला चुपचाप छिन् । चुपचाप हुनुको अर्थ सुदीपले उनका आँखामा हेरेर प्रष्ट बुझ्छन् । नजिकैको पसलबाट ५ रुपैयाँको सिन्दुर किनेर नैनकलाको सिन्दुर रंगाउँछन् । दुवै जना हाँसीखुसी जीवन बिताउन थाल्छन् । समय सेकेन्ड, मिनेट, घन्टा हुँदै धेरै दिन बितिसकेका हुन्छन् । ड्यूटीबाट साँझ कोठामा पुग्दा सुदीपले आफ्नो नामको चिठी पाउँछन् । खोलेर पढ्न थाल्छन्।
प्राणप्रिय सुदीप,
तपाईको साथ–सहयोगले नै जिउने आँट गरेकी थिएँ तर सोचे जस्तो हुँदोरहनेछ । तपाई जस्तो दयालु र मायालु व्यक्ति पाउनु मेरा लागि अहोभाग्य थियो । आफूभन्दा पनि बढी माया गर्थे र गर्छु पनि तर यसोभनिरहँदा तपाईलाई अहिले विश्वास नलाग्ला । प्रेमविवाहको त्यो खुसी कसैका लागि असह्य भयो । चाहेर पनि हजुरलाई साथ दिन सकिनँ । तपाईले भनेजस्तै म बाध्य भएर पुरानै बाटोको यात्रु हुनपुगेछु । तपाईबाट भौतिक रूपमा अलग भए पनि म आफूलाई अलग मान्न सकिरहेको छैन । हजुरबिनाको जीवन कस्तो होला ? मैले कल्पना गर्न सकेकी छैन तर पनि तपाईलाई छाडेर हिँड्दै छु । पार्टीले मेरो बाटो (विवाह) स्वीकार गरेमा पुनः भेट हुने आशासहित विदा ।
उही तपाईकी
नैनकला
रसाएका सुदीपका आँखाबाट तप्पतप्प आँसु त्यो पत्रमा खसे । सारा संसार धमिलो लाग्यो । के मैले गरेको प्रेम वास्तविक प्रेम थिएन ? के सहाराविहीनलाई सहारा दिनु गल्ती थियो र ? के उनले विश्वासघात गरी होलिन् ? मनमा यस्तै तर्कहरू खेलिरहे । मनलाई बुझाउन अनेकन कोसिस गरे, उनले । तर पनि विछोडको पीडा खीलझैं बिझिरह्यो।
एक दिन कारागारको चारैतिरबाट फायरिङको आवाज सुनिन्छ, ड्याम्, ड्याम् ।
चकमन्न अँध्यारो रात चिर्दै हेभी लाइटको प्रकाश कारागार गेटतिर केन्द्रित हुन्छ । मूल गेटमा ड्युटीवाला प्रहरीले दह्रो हातले हतियार समाउँदै कराउँछ । चारैतिरबाट घेरा हालिसके तयार होउ । अघि बढ । फायरिङ, जस्ता चर्का आवाजहरू सुनिन्छन् । पूर्वतिरको अग्लो सुरक्षा पोस्ट (वुर्जा) को टिनमाथि बम पड्किन्छ । बमको आवाजसँगै एकजना हतियारसहित तल खसेको दृश्य देखिन्छ । आक्रमणकारीहरू मूल गेटमा पुगिसकेका हुन्छन् । मूल गेट ड्यूटीवाल प्रहरीबाट अन्धाधुन्द फायरिङ हुन्छ । उताबाट पनि प्रतिकारमा गोली चल्छ । टाढाबाट आएको अनियन्त्रित प्रकाशमा कसैले कसैलाई चिन्ने कुरा पनि भएन । आक्रमणकारीको कमाण्डर सामुन्ने उभिएको देखिन्छ । दुवैले एकअर्कालाई हतियार तेस्र्याउँछन् । विद्रोही कमाण्डरको गोलीेले छाती छेड्नुअघि नै प्रहरीले पनि गोली छोडिसकेको हुन्छ । विद्रोही कमाण्डरलाई पनि गोली लाग्छ । कमाण्डर रन्थनिदै भुइँमा लडेपछि टाउकोको ह्याट खस्छ र लामो चुल्ठो देखिन्छ । अर्धचेतसरि भएका प्रहरी जवानले विद्रोही कमाण्डरमा नैनकलाको अनुहार देख्छन् भने कमाण्डरले घाइते प्रहरीमा सुदीपको अनुहार देख्छन् । त्यतिकैमा विद्रोही कमाण्डरको चीत्कार सुनिन्छ, मलाई माफ गर्नु । मैले हजुरलाई बचाउन सकिन । महिलाको स्वर सुनेर सुदीपका कान ठाडा भए । आङ जिरिङ्ग भयो । आँखा तन्काएर आवाज आएतिर हेरे । साँच्चिकै आफ्नै नैनकला । ‘तिमी यहाँ मलाई मार्न आएकी ?’, सुदीप आश्चर्यमिश्रित स्वरमा कराउँछ । तपाईलाई मार्न होइन, म त बचाउन आएकी थिएँ तर युद्धको मोर्चा र अँध्यारोमा एक अर्कामाथि पो प्रहार गर्न पुगिएछ । युद्ध गर्न आउनेले बचाउन आएको ? तर कसरी विश्वास गरूँ । भुइँमा लम्पसार सुदीप मुस्किलले ठाडो घाँटी गरेर बोले ।
हजुरसँग विवाह गरी घरबार गरेको खबर पार्टीले थाहा पायो । मलाई अपहरण गरेर मेरै नेतृत्वमा कारागार आक्रमण गर्न बाध्य पारियो । मैले पनि हजुरलाई बचाउँदै कारागारबाट कैदी छुटाउन सकिन्छ कि भनेर आएकी हुँ तर अँध्यारोमा गोली चलाउँदा हामीलाई नै लाग्न गएछ । कारागारका बारे मलाई पूर्ण जानकारी भएकाले मलाई माओवादी कार्यकर्ता र कमाण्डर छुटाउन पनि उनीहरूले मलाई ढाल बनाए । मलाई माफ गरिदिनुहोस् । मैले चाहेर पनि तपाईलाई बचाउन सकिनँ’, उनले अन्तिम वाक्य बोलिन् । सुदीपको नजिकिने प्रयास गर्दै उनले हात अगाडि बढाइन् । रक्ताम्य सुदीपले पनि नैनकलाको हातमा हात राखे । बाँच्ने आश नभए पनि एक अर्काको प्रेम पाउने आशा भने मरिसकेको थिएन ।
प्रकाशित: २८ जेष्ठ २०७८ ०७:४४ शुक्रबार