१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

बिक्रीमा छ

लघुकथा

पुष्पा नेपाल  (सुवेदी )

     

 आजभन्दा झण्डै बीस वर्ष अगाडि ऊ र म असाध्यै मिल्ने साथी थियां ै। उसको र मेरो शरीर मात्र फरक थियो। घाँसदाउरा, मेलापात, बजार जहाँ गए पनि हामी सँगै हुन्थ्यौ। त्यसो त हामीले १ देखि १० कक्षासम्म सँगै पढेका थियौ र सँगै एसएलसी दिएर सँगै फेल पनि भएका थियौ। फेल भएपछि झनै फुर्सदिला भएका थियौ। वनपाखा चाहर्दै ढुकुर, जुरेलीका गुँड भत्काउनु, खोलामा माछा मार्नु। यसरी जिन्दगी रमाइलोसँग बितिरहेको थियो थियो।

अचानकै एकदिन उसले अचम्मको कुरा गर्यो। देशमा विद्रोह गरेर गणतन्त्र ल्याउने र देशविकास गर्ने। गणतन्त्र आएपछि सारा नेपाली सुखी र धनी हुन्छन्। जताततै शान्ति छाउँछ। उद्योगधन्दाहरू धेरै खुल्नेछन्। अरू केके थुप्रै सपनाहरू सुनायो। तर यो पटक भने म उसँग जान सकिन । ऊ भने गएरै छाड्यो।

साँच्चिकै देशमा गृहयुद्धको आगो बल्यो। हजारौ विधवा भए, कतिको कोख उजाडियो, कति अनाथ बने। अन्ततः देशमा गणतन्त्र स्थापित भएरै छोड्यो। यतिबेला सायद मेरो साथीभन्दा म धेरै खुसी थिएँ। उसले देशवासीका लागि देखेका सपना बरु पूरा हुँदै थिए। जतिबेला मैले ऊ भूमिगत भएको बेला मेरै घरको बुइँगलमा राखेर खाना खुवाएको र उसले मेरो बुइँगलमै बाल्टिनमा विसर्जन गरेको मलमूत्र कुशलतापूर्वक व्यवस्थापन गर्न सकेकोमा घमण्डले धपक्कै बलेको थिए।

तर केही वर्ष नबित्दै गणतन्त्रले नेपालीको नियतमा नियति थपिदै थियो । रोग, भोक, शोक र अभावले अझै थिच्दै थियो। एकदिन मैले पत्रिकामा मेरो साथीले आफ्नो गाउँको घरखेत, कुलो, जंगल बिक्रीमा राखेको विज्ञापन देखे। असह्य भएर मैले उसलाई नबेच्न फोन गरे। तर जवाफमा उसलाई गाउँको कुनै कुरा आवश्यक नभएको र आउन पनि नभ्याउने भएकाले बेच्न लागेको बतायो। आज सम्झँदै छु, मेरो साथीले देशवासीको सपना बिर्से पनि आफ्नो झिलिमिली शहरमा रमाउने सपना भने बिर्सेको रहेनछ। सुन्दैछु, आजभोलि आफ्नो सपना पूरा गर्न उसले “स्वाभिमान “ बिक्रीमा राखेको छ रे।

प्रकाशित: २२ जेष्ठ २०७८ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App