१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

प्रतिप्रश्न

लघुकथा

शुभ शर्मा

 

उनका जेठा छोरा बुहारी विदेशमै बसेको निकै भएको थियो,  नेपाली नागरिकता नै  त्यागेर  ! साथमा बसेको कान्छाको परिवारसँग उनी रमाएकै थिए । एकपटक  ठूलो भूकम्प आयो । विधिको लेखा ,  परिवारका सबै मरे । उनी एक्लै भए । जेठालाई कुनै उपायले फिर्न अनुनय गरे  तर    तर उनीहरूले मानेनन् । जन्मभूमि र पुख्र्यौली थलो छोड्न  उनको मनले  मानेन र एक्लै बस्न थालेका  थिए।

थाहा न पत्तो ,  आफ्नो आँगनभरि  आज मान्छेहरू भेला भएको  देखेर उनी झसङ्ग भए । कारण खोतल्दै जाँदा मिडिया  र छिमेकीहरू रहेछन्। उता विदेशमा उनकी नातिनीले उतैको सरकारी जागिरमा ठूलै पद पाएकी,  सामाजिक सञ्जालमा छाएकी अनि गाउँघरका सबै बधाई दिन आएका रे ! उनीहरू सबैले आआफ्ना कुराहरू  राखे।  क्यामेरा र माइकहरू  उनका तस्बिर र  भावना कैद गर्न तयार थिए।  

प्रश्न सोधियो, ‘नेपाली छोरीले प्रगति गरेकोमा  हजुरबुबाको गर्व र खुसीका अनुभव के कस्ता छन् , कृपया...!

 सुरुमा त उनले  केही  बोलेनन् तर पछि धर पाएनन् । खुइय्य गर्दै  टोपी झिके र तप्प चुहिएको आँसु पुछ्दै  प्रतिप्रश्न गरे, ‘न उनको जन्मथलो नेपाल हो , न त  उनी नेपाली हुन् । न त उनीसँग नेपाली हुनुको मनस्थिति छ न त  कुनै कागजपत्रको प्रमाण ! कसरी उनी    नेपाली चेली भइन् र यत्रो गुणगान गाउनु भयो ?’

प्रकाशित: १८ जेष्ठ २०७८ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App