१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

महामहिमको यात्रा

लघुकथा

खेमराज पोखरेल

 

  १) महामहिमको यात्रा

तीन दिनको यात्रामा जानु थियो । धुवाँ, धुलो, खाल्डो, हिलो, अबडेखबडे थियो सडक । कतैकतै त गजारझैं देखिन्थ्यो । त्यहाँ महानगरपालिका र सरकारको संयुक्त रूपमा झुन्डिएको फ्लेक्स बोर्डलाई सोधेँ–‘ए चिल्लो बोर्ड, कहिले बनाउँछौ यी कोत्र्याहा सडक ?’

बोर्ड बोल्यो,‘बजेट मरू’ ३ दिनपछि यात्राबाट घर फिर्दै थिएँ । त्यही सडक जम्मै कालाम्मे पिच भएको थियो। धुवाँ, धुलो, हिलो, खाल्डो केही थिएन। आश्चर्य लाग्यो । आफैँलाई चिमोटेँ। 

बोर्डलाई सोधेँ– ‘के अचम्म गर्यौ ? के जादु गर्यौ, तीन दिनमै ?’

बोर्डले ताउ लाउँदै बोल्यो– ‘के हाम्लाई काम गर्न सक्टैन भन्या हो टिमीले ?, गरेर डेखायो ट, अब ट पट्यायो ?’

म नतमस्तक भएर हिडें। अलिपर पुगेपछि अर्को मूल सडकमा फोहोरको डङ्गुर देखेँ। हिलो, धुलो, खाल्डो जताततै थिए ।  

जित्ने मनसायले मैले फेरिबोर्डलाई सोधें– ‘यो सडक त डम्पिङ साइट भएछ, के धाक लाउँछौ काम गरेँ भनेर ?’

बोर्डले सगौरव जवाफ दियो–‘कस्टो मान्छे रहेछ ? यो बाटोमा महामहिमले यात्रा गर्नु हुन्न भनेर ठाहा छैन टिमीलाई ?’

     २) पङ्गा

प्रथम श्रेणीमा प्रथम भएर फिजिक्समा एमएस्सी गर्दा मेरो बाहुने चुच्चे नाक झन घिरौंलाझैं उचालिएको थियो। संसार खाउँलाजस्तो जोस थियो।  

लोकसेवा दिन गएँ । सिंहदरबारको पर्खाल कसले बनायो भनेर सोधियो। म के जान्नु ? भौतिकशास्त्रीलाई किन चाहियो त्यो। रिसले मुर्मुरिएँ। फेल भएँ । सरकारी कलेजमा गएँ। एकजना हितैषीले सित्तैँमा सल्लाह दिए–‘पार्टी नमिलाई यहाँ त पिरियड बेसिसमा पनि जागिर पाइन्न।’

जागिर खानै थियो । प्राइभेट कलेजमा हप्ता दिन त्यसै पढाएपछि मेरो जागिर भयो। मैले पढाएको सबैले वाहवाह भने । प्रिन्सिपल सरले त मेरो मुखैमा भने– ‘मुकुन्द सरजस्तो पढाउने पो मास्टर। कस्तो गहन अध्ययन रहेछ तपाईँको। सबै विद्यार्थीले वाहवाह गरेका छन् ।’

केही दिनपछि म कक्षा लिँदै थिएँ। एउटा मुन्द्रे विद्यार्थीले निहुँ खोज्यो। केही गरे उसलाई पढाउन सकिनँ। भनाभन भयो। ऊ त रन्किएर ‘चाख्लास् काठा’ भन्दै हिँड्यो। 

भोलिपल्ट पढाउन जाँदा प्रिन्सिपलले भने–‘मुकुन्द सर, तपाईंको ठाउँमा अर्को सर राखें ।’

मैले भने– ‘किन सर मैले पढाएको भएन र ?’

‘हुन त भयो नि । हेर्नु न त्यो पावरफुल र धनी बाउको छोरो हो। व्यर्थमा तपाईले त्योसँग पङ्गा नलिनु पथ्र्यो ।’

      ३) तातो चिसो  

 

सम्साँझै म्यासेन्जरले लेख्न थाल्यो–  ‘हेलो ? म मधु प्रीति । हिजो हजुरलाई मैले चिन्दै चिनिनँ। देखेजस्तो। पछि पो झसङ्ग भएँ । हजुरका कविताको त म फ्यान छु ।’  

‘हजुर हो, मलाई पनि हिजो चिनेजस्तै लागेको थियो’ मैले शिष्टाचार जनाएँ ।

उनीसँग हिजो एउटा कार्यक्रममा भेट भएको थियो। होची र गोरी। खुब राम्री लागेको थियो । ग्रुप फोटोमा हामी सँगै पनि रहेछौं। फोटो हेरें। चिनेजस्तो लाग्दै थियो। एउटा साथीले फोटो हेरेर मलाई सोधेको पनि थियो– ‘ओई नियात्राकार मधु प्रितीलाई कसरी चिनिस् ?’

मघु प्रीतिको म्यासेन्जरले फेरि लेख्यो– ‘चिया पिउनु भयो ?’

म–‘हजुर, कालो चिया संगै छु ।’  

मधु–‘मलाई त कालो चिया मन पर्दैन ।’  

म मजाकिलो भएँ– ‘हजुर गोरी भएर हो ?’

मधु– ‘‘भो गफ गर्न पर्दैन । पत्याउँदिन । मैले देखेको छु हजुरलाई। झुलुक्क भए पनि’

मैले र्याल काढें– ‘फेरि गजबले भेट््नुपर्ने भो पत्याउन ।’

मधु– ‘आशै आशमा चिया चिसो होला, पिउनू।’

म– ‘के फरक पर्छ र ? चिसो तातो दुवै जिन्दगी नै हो हजुर ।’

मधु– ‘हुन त हो, तर समय त हक्र्यो । समयले तातोलाई चिसो र चिसोलाई तातो बनाइसक्यो हजुर।’

    ४) ढिलो

यही बैसाखमा ८५ वर्षको भएछु। एकपाखे भएको १० वर्ष पुगेछ। नितान्त एक्लो छु । याने कि पहेँलो पात भएको छु । हरिया पातहरू छन् । ढिलो भएको छ । कुदिरहेका छन् । म यो जीवनभित्र मान्छेलाई सुनिरहेको छु। बोध गरिरहेको छु ।  

मान्छे मान्छेलाई उहिलेदेखि नै भन्दै आएको छ–‘बिहे भएको यतिका वर्ष भयो, सन्तान जन्माएनन्, ढिलो भयो ।’

–‘महिना लागिसक्यो, खोई बच्चा जन्मेन, ढिलो भयो ।’

–‘बच्चाको बामे सर्ने बेला टर्यो, बामे सरेन, ढिलो भयो।’

–‘बच्चा स्कुल हाल्ने बेला भयो, हालेको छैन, ढिलो भयो।’

–‘उमेर भइसक्यो, बिहे गरेको छैन, ढिलो भयो।’

–‘परिवार चलाउनु छ, जागिर छैन, ढिलो भयो ।’

–‘रोग लागिसक्यो, डाक्टर देखाउन ढिलो भयो ।’

–‘सुत्न, उठ्न, खान, हिँड्न ढिलो भयो’

फगत ढिलो भयो।  र फेरि मान्छे नै पहिलेदेखि नै भन्दै आएको छ–‘यो लास कस्तो रहेछ, अहिलेसम्म जलेकै छैन, ढिलो भयो ।’

   ५) डल्लेको पढाइ  

 

बिहानै माथि स्कुल चौरमा ‘शिक्षामा समान अधिकार‘ भन्ने कार्यक्रममा भाग लिएर आएको थिएँ। छोरो अझै स्कुल जान तयार भएको थिएन।  

मैले छोरालाई भने–‘बाबु, स्कुल जान ढिला भयो । हेर, अझै ड्रेस लगाएकै पो छैन । छिटो गर बाबु।’

र मैले डल्लेपट्टि फर्केर हकारें–‘डल्ले ए डल्ले, कहाँ मरिस् ?’

डल्लेले जवाफ दियो–‘भाँडा माझ्दैछु हजुर ।’

मैले अलि कडा स्वरमा भनें– ‘जा, बाबुको झोला बोकेर स्कुल पुर्याएर आइज।’

‘हस्’ भन्दै ऊ माझ्दै गरेको भाँडालाई अधकल्चो छोडेर उठ्यो। भाँडा माझ्दै गरेको पानीले हात धोएजस्तो गर्यो। उसको नाकका पोराहरू सिँगानले भरिएका थिए । अनुहारमा कट्कटिएको पोतो लागेको थियो।  

मैले उसलाई कडकिएरै भनें– ‘फोहोरी, पुँडी सँगुर, सिँगान फाल् ।’

उसले एक लत्को पाकेको सिँगान स्याँक्क गरेर फाल्यो। लगाएको मैलो सर्टको बाहुलाले सिँगाने औलो पुछ्यो।  

छोरो बोर्डिङ स्कुलको ड्रेसमा चटक्क परेर आयो। छोरालाई हेरिरहेँ। कति राम्रो छ मेरो छोरो । मेरो मनले भन्यो– ‘छोरो पक्का ठूलो मान्छे हुन्छ ।’

डल्लेले झोला बोक्यो। मेरो छोराभन्दा एक महिना कान्छो हो डल्ले। पोहोर सालको भुइँचालोमा परेर उसका आमाबाबु मरे। उसको बाउ मेरो घरमा हली थियो। अहिले ऊ मेरै घरमा घरधन्दा गर्छ।

मैले छोराको ढाडमा धाप मार्दै भने– ‘अहा, मेरो छोरो ! कति ज्ञानी । धेरै पढ है बाबु।’

छोराले मेरो अनुहारमा हेरेर भन्यो–‘यो डल्लेले पढनु नपर्ने मैले मात्र किन पढ्नुपर्ने ? भनिस्यो न बाबा ?

(खेमराज पोखरेलको ‘ईश्वरको मृत्यु’ लघुकथा सङ्ग्रहमा  सङ्गृहीत !)

प्रकाशित: ८ जेष्ठ २०७८ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App