२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कोइली र काग

बालकथा

सरस्वती श्रेष्ठ

 

गगनको घरनजिकै खेतको डिलमा ठूलो कदमको रुख छ । त्यही कदमको रुखमा धेरै जातका चराहरूले घर बनाएका छन् । त्यहाँ उनीहरूको समाज ठूलो छ। उहिल्यैदेखि ठाउँठाउँबाट बसाइ सरेर आएका चराहरू परेको बेलामा एक अर्कालाई मद्दत गर्नका लागि समाज खडा गरेर समाजकै नियमअनुसार चल्ने गरेका छन् । एक्लैले गर्न नसकिने काम समाज मिलेर गरे एकैछिनमा गर्न सकिन्छ। त्यसैले चराहरूले प्रत्येक दुईदुई वर्षमा नयाँ कार्यसमितिको पनि चयन गर्ने गर्छन्। समाजमा कहिले कसैको बिहे हुन्छ, कहिले कसैको जन्म दिन हुन्छ, कहिले कसैको विभिन्न किसिमको उत्सव हुन्छ, कहिले मृत्यु संस्कार पनि हुन्छ। यस्ता सबै कार्यहरूमा चराहरू मिलेर काम गर्छन्।

कार्यसमितिको अध्यक्ष सुगाले एक दिन सबै चराहरूलाई सभा बोलायो र भन्यो, “मित्रहरू, हाम्रो छिमेकमा तोप चराको घर देखेर म अति प्रभावित भएँ। म एउटा कार्यक्रमको आयोजना गर्न जाँदै छु । यहाँहरूको सहयोग चाहन्छु ।”

सबै चराहरूले एकैस्वरमा भने, “हस्, भन्नोस् हामीले के सहयोग गर्न सक्छौँ ?”

सुगाले भन्यो, “धेरै ठूलो कुरा त होइन हाम्रो आफ्नै सिपको पनि विकास हुने, हौसला पनि बढ्ने र रमाइलो नि हुने उद्देश्यले सबैले आआफ्नो घर बनाउने प्रतियोगिता राख्न कसो होला ?”

सबैले स्वीकृति जनाए । काम एक हप्ताभित्र सकिनुपर्ने घोषणा पनि गरे। तोकिएको समयमा सबैले आआफ्नो घर बनाए । निर्णायकले सबैभन्दा राम्रो घर तोप चराको भएको बताए । ऊ प्रथम भयो। गौंथलीको घर दोस्रो भयो, काठ फोरुवा चराको घर तेस्रो भयो। बाँकी चराहरूले पनि मिहिनेतअनुसार केही न केही पुरस्कार पाए। सबै रमाए तर कोइलीले भने आफ्नो घर बनाउन नसकेको खुलासा भयो । 

कोइलीले आफ्नो घर बनाउन नसकेको थाहा पाएर सबै चराहरू हाँसे। कोइलीले लाजले शिर झुकाएर बसिरह्यो । आफूले सधैं कागको गुँडमा फुल पार्ने गरेको, आफ्ना बच्चाहरू कागले नै कोरल्ने गरेको कुरा पनि बतायो । कोइली असाध्य अल्छी स्वभावको तर चतुर थियो ।यतिबेलासम्म कागलाई थाहै रहेनछ, आफ्नो गुँडमा कोइलीको बच्चा हुर्कने गरेको कुरा । काग र कोइलीको फुल पनि उस्तै हुने र बचेरा पनि उस्तै रङका हुने हुँदा कागले पत्तो पाउन नसकेको हो । यति कुरा थाहा पाइसकेपछि काग र कोइलीबीच भनाभन सुरु भयो। भनाभनले नपुगेर हातै हालाहाल गर्न तम्सिए।

 सभामा भइरहेको रमाइलो वातावरणमा नरमाइलो छाइहाल्यो। तत्काल  लामपुच्छ्रे र सुगा मिलेर दुवैलाई छुट्याए । पुनः समाजमा रहेका गन्यमान्य चराहरूले फैसला  सुनाए, “कसैले पनि कसैको अन्याय र थियोमिचो सहनु हुँदैन । हामी समाजमा मिलेर बस्नुपर्छ । आजसम्म कोइलीले जुन काम गर्दै आइरहेको छ। त्यो काम निन्दनीय छ । कोइलीले कागसँग माफी माग्नुपर्छ। कागले पनि कोइलीलाई माफी दिनुपर्छ ।”

फेरि भने, “आइन्दा सबैले आआफ्ना लागि घर आफैं बनाउनुपर्छ । अरूमा आश्रित हुने होइन । त्यसका लागि बरु सहयोग चहिएमा समाजका सबै सदस्य तयार छन् ।” सहमतिमा सबैले एकैचोटि पररर ताली बजाए।

कोइली लज्जित भयो । कागसँग माफी माग्दै अबदेखि आफ्नो घर बनाउने र कागलाई नसताउने कबुल गरयो ।

(सरस्वती श्रेष्ठ सरुको बालकथा सङ्ग्रह ‘किट्टी’मा सङ्गृहीत !)

प्रकाशित: ७ जेष्ठ २०७८ १२:२५ शुक्रबार

अक्षर