तारा केसी
‘डाक्टर समिर ! त्यो ४ नं बेडको एक्सिडेन्ट केसवाल बिरामीको होस आयो।’
नर्सको कुरा सुनेर डाक्टर समिर बेड नं ४ मा पुगे।
‘उहाँ नै हो डाक्टर समिर ! यदि यो केस उहाँले नहेरेको भए सायद तपाईं यो संसारमा नहुन पनि सक्नुहुन्थ्यो।’ बिरामीले बिस्तारै आँखा खोले। निकैबेर डाक्टर समिरको अनुहार नियालेपछि भने– समिर, तिमी त्यही समिर होइनौ? मेरो विद्यार्थी।
‘हजुर’ डाक्टरले टाउको हल्लाए।
धूमिल चित्रहरू बिरामीको आँखाभरि आउँदैजाँदै गर्न थाल्यो। एसएलसी पढ्दा टुयुसन फि तिर्न नसक्दा सिजन अनुसार खेतबारीमा फलेका आलु, धान, मकै बोकेर आउँथ्यो मेरो घरमा समीर। म उसलाई यस्ता चिज बोकेर नआऊ भन्थे। ए डराउँदै अप्ठेरो मान्दै भन्थ्यो।
–पैसा तिर्न सकिन सर! हामीसँग घरमा जे छ त्यही ल्याएको छु गुरु दक्षिणा।
समिर हुनहारको मिहिनेती छात्र थियो। सधैं प्रथम हुने। उसको भविष्य उज्ज्वल देखेको थिएँ , त्यतिखेर मैले। यो केटाले अवसर पायो भने केही गर्छ मलाई लागेको थियो र भनेको थिएँ– तिमीले मलाई गुरु दक्षिणा दिनु पर्दैन । तिमी आफ्नो लक्ष्यमा पुगेको दिन सम्झनु मलाई।
गरिब परिवारमा जन्मेको समिर आज यो स्थानमा आयो। मिहिनेत, परिश्रम र लगनसाथ पढेर। गुरुले आफ्नो हात समिरको शिरमा राख्दै भन्नुभयो– धन्यवाद समिर! आज मैले गुरु दक्षिणा पाएँ तिमीबाट।
त्यतिखेर गुरुचेला दुवैको आँखा आँसुले टिल्पिल टिल्पिल भरिएका थिए।
प्रकाशित: ७ जेष्ठ २०७८ १०:२६ शुक्रबार