सुशीला प्रधानाङ्ग
जंगे भाले कुखुरा ..काँ.. गर्दै खोरबाट बाहिर निस्क्यो । उसले आफना दुवै पखेटालाई फयाट्फयाट् ग¥यो । आफ्नो घाँटीलाई तनक्क टन्काएर फेरि एक पटक सकेसम्म जोडले कुखुरी ... काँ ...गरेर करायो।
भालेको डाँको सुनेर ओथारो बसेकी च्यान्टी कुखुरीलाई असह्य भयो । तिनी ओथारोमै बसेर भुनभुनाउन थालिन् ।–“ यो जंगेलाई पनि ज्यादै कराउनुपर्छ । ओथारो बसेको बेलामा मेरो अगाडिपछाडि हल्लाखल्ला गर्नु हुँदैन भनेर भन्दाभन्दै पनि हल्ला गरेर हिंडिरहन्छ ।” त्यसपछि तिनले आफ्ना अण्डाहरूलाई बेसरी आफ्ना पखेटाले छोपिन् र आँखा चिम्लेर बसिन् ।
बाहिर अरू पनि कुखुरा र चल्लाहरू चरिरहेका थिए । आमा कुखुरीहरूले आफ्ना चल्लाहरूलाई माटो खोस्रेर किराफट्याङग्रा र गड्यैलाहरू निकालेर खुवाइरहेका थिए । चल्लाहरू पनि आमाले दिएको एउटा ठुलै गड्यौलालाई लुछालुछ गर्दै खाँदै गरिरहेका थिए।
त्यहीबेला जंगे दौड्दै आयो र चल्लाहरूले लुछालुछ गरिरहेको गड्यौलालाई टिपेर क्वापक्वाप खाईहाल्यो । त्यो देखेर चल्लाहरू जिल्ल पर्दै एक आपसमा मुखामुख गर्न थाले । एकजना चल्ला त चिंचिं चुंचुं गर्दै दगुर्दै आमा भएतिर दगुर्दै गयो । यसरी आफ्नो सानो बच्चा आत्तिएर आपूmतिर दगुर्दै आएको देखेर तिनले भनिन्–“के भयो ? मेरो बाबु किन दगुर्दै आएको ?”
चल्लाले रुँदै भन्यो –“जंगे काकाले हाम्रो खानेकुरा खाइदियो ।”
त्यो सुनेर तिनले भनिन्–“छोडिदेऊ । मैले अर्को खानेकुरा दिउँला ।”
गाउँमा धान काट्न सुरु भइसकेको थियो । धान काट्न गाउँलेहरूलाई हतार थियो । उनीहरू बिहानै खेतमा जान्थे र बल्ल साँझ घर फर्कन्थे घरको हाँस, कुखुराहरू, गाईबाख्रा, भैंसीहरू सबैलाई बाहिर निस्कने बेलामा नै चारा घाँसहरू खुवाएर निस्कन्थे।
गोठभित्र बसेका गाईवस्तुहरूका लागि प्रशस्त घाँसहरू हुन्थे । उनीहरू त्यही खाएर बस्थे । अर्कोतिर आमा कुखुरीहरू आफ्ना चल्लाहरूलाई लिएर बस्थे । भाले कुखुराहरू यताउता डुलिरहन्थे।
सधैंजसो गाउँका मानिसहरू सबै धान काट्न खेतमा गएका थिए । नजिकैको जंगलमा बस्ने मोटे स्यालको आँखा भने जहिले पनि त्यहीँ गाउँका हाँस, कुखुराहरूतिर हुन्थ्यो । त्यो मोटे स्याल लुक्दैछिप्दै गाउँको सिमानासम्म आउँथ्यो र ती मोटामोटा सिउरी हल्लाउँदै कुखुरी...काँ ...गर्ने भालेहरूलाई देखेर रयाल काढदै सोच्थ्यो– “आहा ! यी भालेहरूको तातोतातो रगत चुइँचुइँ चुस्न पाए अनि यिनीहरूको मासु सहितको हड्डी च्वारामच्वाराम चपाउन पाए क्या मज्जा आउँथ्यो होला । गाउँलेहरूले पालेर राखेका भोटे कुकुरहरूलाई देखेर ऊ डराउँथ्यो र फेरि लुरुलुरु जंगलतिर फर्कन्थ्यो।
एकदिन गाउँलेहरुले आआफ्ना घरमा पालेर राखेका सबै कुकुरहरूलाई चरा र सुगाहरूले धान खाइदिए भनेर खेतमा लिएर गएका थिए । स्यालले त्यही दाउ हेरिरहेको थियो । उसले एकपटक गाउँका भालेहरूलाई सम्झयो र गाउँको बाटोतिर लाग्यो । उसले बाटोमा जाँदै गर्दा सोच्न थाल्यो –“आज मौका राम्रो छ । यही बेलामा मैले मजाले स्वाद मानीमानी भालेलाई चपाउनुपर्छ । अनि ६÷७ वटा चल्लालाई च्यापेर ल्याउनुपर्छ । नजिकै बसेको कागले उसको बठ्याँइँ थाहा पायो । कागले सोच्यो–“ बिचरा ! ती गाउँलेहरू सिधासाधा छन् । हामीलाई पनि दिनहुँ आफ्नो भागबाट भात खान दिन्छन् । कागतिहारमा हाम्रो पूजा पनि गर्छन् । यस्तो बेला हामीले पनि उनीहरूको मद्दत गर्नुपर्छ ।”
ऊ रुखबाट उड्दैउड्दै गाउँमा पुग्यो । उसले सबैतिर हेरयो । उसले देख्यो गोठमा बसेका सबै गाईवस्तुहरूले मजाले घाँसहरू चपाइरहेका थिए। आँगनमा भाले कुखुराहरू र आमा कुखुरीहरू आआफ्ना चल्लाहरूसँग खेलिरहेका थिए । त्यो दृश्य कागलाई असाध्यै रमाइलो लाग्यो।
उसले मनमनै सोच्यो–“गाउँ भनेको गाउँ नै हो । यहाँका मानिसहरू मेहनती र सरल मनका हुन्छन् । गाउँको पिपलको रुखमा बसेर काका गर्न मलाई पनि असाध्यै मन पर्छ ।”
काग आँखा चिम्लेर बसेको जंगे भालेकोमा गयो र भन्यो –“जंगे भाइ! आज तिमीहरूलाई खान स्याल आउँदैछ है सबैलाई खबर गर । खास गरेर सानासाना चल्लाहरूको सुरक्षा गर।”
त्यो सुनेर जंगे भालेले भन्यो –“धन्यवाद, काग दाइ ! यो समाचार ल्याएर तिमीले हामीमाथि ठुलो गुन लगाएछौ। हामी सबै होसियार हुनेछौं।”
काग त्यहींको पिपलको रुखमा बस्यो । जंगे भालेले सबैलाई सूचना पु¥याएर आआफ्नो सुरक्षा गर्न भने। सबै गाईभैंसीको गोठभित्र परालले छोपिएर बसे।
स्याल आयो । उसले कहीँ कतै पनि भाले र चल्लाहरू देखेन । एकछिन उसले त्यहीँ नै उभिएर यताउता हेरयो । त्यहीँ बला जंगेले अचानक उसको आँखामा गएर झम्ट्यो र ठुंगिदियो स्याल चिच्याउँदै जंगलतिर भाग्यो । सबै खुशी भए । जंगे भाले र कागलाई सबैले स्याबास भने।
प्रकाशित: ६ जेष्ठ २०७८ १३:०८ बिहीबार