१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

त्रास

कथा

किशन पौडेल

 

उसले लामो श्वास तान्यो एकछिन फोक्सोभित्र राख्यो र फाल्यो । पुनः तान्यो फाल्यो र लामो सुस्केरा हाल्दै आँखा चिम्लियो । अस्पतालमा अक्सिजन नपाएर छटपटिएका हृदयविदारक समाचारहरू उसको मानसपटलमा दौडिन थाले । जुरुक्क उठ्यो कोठाको एउटा कुनाबाट अर्को कुनामा पुगेर चर्किएको ऐना हेर्यो आफ्नै अनुहार उसलाई भयभीत लाग्दै जान थाल्यो।

“हेर उजेली आत्मबल बलियो बना। तँलाई केही हुँदैन। छिटो निको हुन्छ । ल, यो टिम्मुर ज्वानो पानी तनक्क पार । पिँधमा रहेको यो टिम्बुर ,ज्वानो , जिराको छोक्राहरू मुखभित्र राखेर चुस् । टिम्मुरले अक्सिजन लेबल बढाउँछ बुझिस्” तीन दिनदेखि जरोले सिकिस्त श्रीमतीलाई हौसला दिँदै डेक्चीबाट उम्लिरहेको पानी खन्याउँदै एक गिलास श्रीमतीको नजिकै लगेर राखिदियो।

जिन्दगीमा कयौँ पटक रुघाखोकी ज्वरो आयो होला । उसले सामान्य रूपमा अदुवा, बेसार, तातोपानी पिएरै भगाएको थियो । ऊ कहिल्यै यति धेरै आत्तिएको थिएन । आज ऊ त्यसै त्यसै आतिइरहेछ । मन त्रसित भएको छ । समाचार हेर्यो  जतासुकै हाहाकार छ । जताततै दर्दनाक दृश्यहरू देखिन्छ । अक्सिजन सकिएको छ रे हस्पिटलमा जरो आएको बिरामीलाई भर्ना नलिने रे ! अचम्म लाग्छ सुन्दा पनि यत्रो अक्सिजन छ हाम्रो वायुमण्डलमा कसरी सकिन्छ होला ! एक प्रकारको आक्रोश उब्जन्छ मनभित्र समाचारहरूले पनि कति आतंकित बनाएका हुन् । बिरामीको भन्दा नि सद्दे मान्छेकै कुन बेला प्राण लिएर जाने हो चिन्ताले ऊ  छटपटिदै आगनमा आएर आकाशतिर हेरेर टोलाउन थाल्यो।

आकाशमा एउटा हेलिकप्टर उसैको टाउको माथि मडारियो । खुसीले ऊ फुरुङ्ङ हुँदै हेलिकप्टरलाई हेर्दै सोच्न थाल्यो– कतै मेरै उजेलीलाई अस्पताल लिएर जान आएको त होइन ! हेर्दाहेर्दै हेलिकप्टर आकाशबाट ओझेल भैसकेको थियो।

– पुन्टेको बा, पुन्टेको बा ! भित्रबाट उजेलीले बोलाएको मधुरो आवाजले ऊ झसङ्ग भयो र दौडिएर भित्र हेर्न पुग्यो । पुन्टे आमाको छेउमा बसेर आमाको टाउको सुमसुम्याउँदै रहेछ।

“मलाई धेरै गाह्रो भो, अस्पताल जान पाए हुन्थ्यो” उजेलीको पीडामिश्रित स्वरले ऊ झनै विचलित हुँदै गयो ।

“खै कसरी अस्पतालसम्म पुरयाउने होला ! छरछिमेक हेर्नसम्म पनि आएका छैनन् सवारी साधन गाउँमा एउटै चलेको छैन । मर्दापर्दा त मैले धेरैलाई ज्यानले सकेको सहयोग गरेकै थिएँ । आज आफूलाई पर्दा कोही भएनन् हरे शिव !” पुर्पुरोमा हात राखेर बिलौना गर्छ । गाउँकै एक चिनजान प्रतिष्ठित हरि दाइलाई फोन लगायो फोन उठेन।

“उजेली चिन्ता नगर।  बिहानसम्म तँलाई ठिक हुन्छ।  बिस्तारै जरो ओर्लिन्छ।  म पानीपट्टी लगाइदिन्छु । अहिले सुत उजेली । ” 

बुढीलाई कोरोना त लागेकै होइन भन्ने कुरामा ऊ निश्चिन्त थियो । कुनै मान्छेसँग न भेटघाट न सम्पर्क थियो । लकडाउन भएदेखि आफ्नै बारीमा मकै गोडेर बसेकी थिइन । कतै गाउँ छरछिमेककोमा गएकी नि छैन । कसरी सर्न सक्छ र कोरोना ? उसले मनमनै सोच्न थाल्यो।

फेरि गाउँलेहरू किन यति निर्दयी भएका होलान् है ! कस्तो दिन पनि देख्न परेको । बिरामी पर्दा गाउँमा कति धेरै मान्छेहरू कुर्नलाई जम्मा हुन्थे। दुःखसुखका कुराहरू एक आपसमा गरेर सहानुभूति दिँदै रातभरि बिरामी कुरेर बसिन्थ्यो । आत्मबल कति बलियो हुन्थ्यो । साँच्चिकै कलियुगको अन्त्य हुनै लागेछ अब ! सब निर्दयी भए । मनभित्र अनेकौ कुराहरू खेलाउँदै पुन्टेलाई सुताएर उजेलीसँगै छेउमा ऊ पनि निदाउने कोसिस गर्छ । मध्यरातमा उठेर उजेलीको निधार छाम्यो चिसो न चिसो। बेलुकी त्यस्तो तातो थियो। अहिले त चिसो भइसकेछ। ऊ अतालियो । टाउको काखमा राखेर सुमसुम्यायो।

–उजेली, उजेली!

इन्तु न चिन्तु आवाजविहीन चिसो मुडोजस्तै शरीर छामेर ऊ हतासियो । फेरि अँगालो हालेर भक्कानियो ।

सम्हालिन खोज्यो । निद्रामा मस्त सुतेको छोराको अनुहारमा पुलुक्क हेर्यो । बिहानै सधैं ‘आमा’ “भन्दै बिउँझिने छोरो आमा बोलिन भने के सोच्छ होला । मनभित्रका तर्कनाले उसका आँखा रसाउन थाले । फेरि सम्हालिन खोज्यो । उजेलीले कल्पना गरेको छोराको भविष्य सम्झिन्छ । छोरालाई पढाएर ठुलो मान्छे बनाउने एउटा सपना र आशाले अलिकति मन भित्र हौसला पलाउँछ।

अब के गर्ने अन्योलग्रस्त भएर मन अत्तालिँदै छ । मुटुको धडकन जोडजोडले धड्किरहेछ । मध्यरातमा बाहिर निस्केर कराउँदै चिच्याउँछ । कसैले उसको आवाज सुन्दैनन् ।

वडाका हर्ताकर्ता वडा सदस्य हर्क दाइलाई मध्यरातमा फोन गर्छ। “कोरोना लागेको रिपोर्ट छ कि छैन ? रिपोर्ट भए आर्मी आएर लिएर जान्छन्। छैन भने आफैँ गर्नुपर्छ दाहसंस्कार। बिहान उतै घाटमा भेटुँला बोकेर लिएर आइज” उसको खरो निर्दयी स्वरले उसको मन झनै दुखित हुन्छ।

मान्छे मर्दा कति धेरै सहानुभूति प्राप्त हुन्थे । साथसहयोगका भावनाहरू उर्लिन्थे । रातबिहान केही भन्दैन थिए। खै आज न कसैको सहानुभूति देखिन्छ न साथसहयोग । मान्छेको मृत्यु पनि कति सस्तो हुँदै गएछ ! कुकुर बिरालोको मृत्युजस्तै लाग्न थाल्यो उसलाई । टाउकोमा हात राखेर एक्लै बिलौनामा धेरै आँसु बगायो । गरिबीले आक्रान्त बनाएको सहाराविहीन एक्लो जिन्दगी व्यर्थ लाग्न थाल्छ उसलाई।

मस्त सुतिरहेको छोराको अनुहारमा पुलुक्क हेर्छ । छोराको निधारमा हात राख्छ “सुतिरहनु बाबू, म आमालाई अस्पताल लिएर जान्छु ” एउटा झुटो आश्वासन पनि उसलाई मिठो लाग्छ।

जुरुक्क उठेर श्रीमतीलाई सकीनसकी काँधमा बोकेर घर बाहिर निस्किन्छ । अँध्यारो बाटो कान्लाकुन्ली, कति पटक ठेस लाग्यो, कति काँडा बिझ्यो उसलाई अत्तोपत्तो छैन । झिसमिसे उज्यालोमा तल बगरको घाटमा पुग्यो।

सुनसान, खोलाको कलकल आवाजबाहेक अरू केही थिएन। उजेलीलाई भुईँमा राखेर केही बेर श्रीमतीको मुहार हेरिरह्यो र डाँको छाडेर रोयो । उसको रुवाइले शान्त निश्छल झिसमिसे प्रहरलाई नमिठो गरी चिरयो ।

दुईचार गाउँलेहरूले दाउरा ल्याएर टाढैबाट फालिदिए । कोही उसका नजिक परेनन् ।

“अलि टाढै बस।  हामीलाई फेरि कोरोना सर्छ ”  गाउँलेहरूको वचनले उसको मुटु झन् छियाछिया भयो।

मन मुटु कठोर पारेर श्रीमतीको सग्लो देहमा आगो सल्कायो। छिनभरमै खरानी भएकी उजेलीलाई सम्झेर केहीबेर टोलाइरह्यो । सुतिरहेको छोरालाई सम्झिएर झस्कियो र सम्हालिँदै उठ्यो । घर गएर छोरालाई लिएर ऊ सरासर स्वास्थ्य चौकीतर्फ लाग्यो ।

दुई दिनपछि रिपोर्ट आयो कोरोना टेस्ट – नेगेटिभ !

प्रकाशित: ३ जेष्ठ २०७८ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App