१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

यादहरू

कविता

केशवमोहन अधिकारी  

 

तिम्रा यादहरू कहिलेकाहीं  

घाम बनेर आइदिन्छन्

कहिले फेरि  तिनै यादहरू  

जुन बनेर आइदिन्छन्  

अस्तिदेखि झरी परिरहेको छ

यादहरू झरी बनेका छन्

सिर्सिर बतास चलेको बेला  

यादहरू बतास बनी आइदिन्छन्  

अँधेरी रातमा तारा बनेर  

सन्ध्यामा झिसमिसे बनेर  

उषामा शीत बनेर    

विरहमा गीत बनेर 

आइदिन्छन् तिम्रा यादहरू।

कल्पनामा जोगी बनेर हिँड्छु  

भिक्षा बनेर आइदिन्छन् 

पागल बन्छु कहिलेकाहीँ  

पागलपन बनेर आइदिन्छन्  

सडकमा लेन बनेर  

पहाडमा टाकुरा बनेर  

गाउँमा स्वच्छता बनेर  

शहरमा भिड बनेर

आइदिन्छन् तिम्रा यादहरू।  

मान्छेहरू सोच्छन् म एक्लै छु  

धुम्धुम्ती बसिरहेछु

अर्थहीन

खुस्केट? 

असत्य! 

म त हरपल चढिरहेछु यादहरूको यो सगरमाथा  

मनको क्यानभासमा यादहरूको रङले बनाइरहेछु अर्को मोनालिसा

डुबिरहेछु गहिरो सागर यादहरूको अमर पनडुब्बीमा  

यादहरूको पखेटाले घुम्दै छु होल युनिभर्स 

लाग्छ म जेलमा छु जो तोड्नै मन लाग्दैन

वा तोडेर निस्कँदा आपत पर्छ। 

हो, म जेलमै छु यादहरूको  

निस्कनै नमिल्ने  

निस्कनै नसकिने  

निस्कनै मन नलाग्ने एउटा महाजेल।  

देखेको छु धेरै मानिस जो यादहरूमै बाँचिरहेछन्

लेखिएका छन् कैयौ गीतहरू  

मुक्तक र गजलहरू  

सायरी, कथा र आत्मकथाहरू  

ती पक्कै कसैका यादहरूका दस्तावेजहरू हुनुपर्छ

असफल  दस्तावेजहरू!

हो असफल  दस्तावेज,

 त्यसैले त लेख्नै मन छैन मलाई

ती बेआकार,बेलगाम, अमूर्त यादहरूबारे    

अन्याय गर्नु छैन प्रिय यादहरूलाई  

भत्काउनु छैन लेखेर यादहरू

घाइते पार्नु छैन समातेर यादहरू   

बरु तैरिरहनु छ यादहरूको पागलपनमा

त्यसैले यादहरू,

हरेक दिन बिहान बनेर आइरहुन्  

हरेक रात सन्ध्या बनेर आइरहुन्    

यसरी नै धन्य बनाइरहुन् तिम्रा यादहरू।  

प्रकाशित: १२ वैशाख २०७८ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App