खेमराज पोखरेल
१) पत्नी पीडित
पढ्न मन लाग्थ्यो। तर,एसएलसी दिनेबित्तिकै मेरो बिहे भएको थियो। त्यतिबेला मेरा श्रीमान् हाईस्कूलमा शिक्षक हुनुहुन्थ्यो।
मैले घरका सबै काम गरेँ। भात पकाएँ। चुलोचम्को पोतेँ। लुगा धोइदिएँ। भाँडा माझेँ। आइरन लाइदिएँ। जुत्तामा पालिस लाइदिएँ। सासूससुरा पनि हुनुहुन्थ्यो। सेवा गरेँ। बुहार्तन खेपेँ। दाइजो कम भो भनेर वचन पनि खाएँ। छोराछोरी पाएँ। स्याहार गरेँ। हुर्काएँ।
श्रीमान् ढिलो उठ्नुहुन्थ्यो। ओछ्यानमै चिया टक्य्राएँ । घरैमा साथी बोलाएर तास खेल्नुहुन्थ्यो। खाजा बनाएर खुवाएँ । सबै कुरो उहाँले चाहेजस्तै गरेँ। ठिक चलेको थियो । गजब कुलकी बुहारी भन्थे घरकाले । परकाले। आफन्तले।
मैले प्राइभेट जाँच दिएँ । मास्टर गरेँ । जागिर खान थालेँ । घरको सबै काम सकेर जागिर खाएर पैसा घरमा ल्याउँदा जीवन सजिलो भयो।
तर, घरको काम भ्याइएन। मैले श्रीमान्लाई सघाउन लगाएँ । घरमा तास खेल्न छुट्यो । टक्य्राउने काम छुट्यो । जोसँग समय भयो उसैले काम गर्नुपर्ने भयो।
एकदिन उहाँलाई उहाँको साथीले भनेको सुनेँ–धनहर्क सर त पत्नी पीडित हुनुभयो।
म एकाएक कराएँछु– ‘पत्नीले अलिकति मुन्टो उठाउन थाले भने पत्नी पीडित हुन्छ लोग्ने?’
२) खोजी
आमा एकदम खराब मुडमा हुनुहुँदो रहेछ। एकाबिहानै कराउन थाल्नुभयो–इन्जिनियर केटो आएको छ, बिहे गर।
मैले उत्तर दिएँ–‘गर्दिनँ अहिले।’
आमाले झन् रिसाएर भन्नुभयो– ‘किन ?’
मैले आमातिर नहरेरै भनेँ– ‘मलाई लोग्ने चाहिएको छैन।’
आमाले झन् जङ्गिएर भन्नुभयो– ‘तेरा उमेरमा मैले लोग्ने सुमरेर ३ वटा पाइसकेकी थिएँ।’
मलाई पनि झोँक चलेछ र भनेँ– ‘तपाईँले आफू जलेर लोग्ने पाउनुभो।’
आमाले आगो निल्दै भन्नुभयो– ‘तेरी दिदीले पनि त पढेकी छे, बिहे गरिन् त।’
मैले फेरि भनेँ– ‘र त उसले नजले पनि आफू सकिएर श्रीमान् पाई।’
आमाले सल्लाह दिँदै भन्नुभयो–‘धेरै जान्ने न हो, पछि फेरि लोग्ने नपाउलिस्।’
मैले सहज पारामा उत्तर दिएँ– ‘लोग्ने र श्रीमान् बन्न त समाजमा लाम लागेका हुन्छन् पुरुष।’
आमाले छक्क परेर सोध्नुभयो– ‘अनि किन बिहे गर्दिनस् त तँ हँ ?’
मैले सुस्तरी जवाफ दिएँ–‘किनकि मलाई लोग्ने र श्रीमान् चाहिएको छैन।’
आमा त बिचैमा जङ्गिनुभयो– ‘अब के चाहियो त तँलाई, बुढीकन्ने बस्लिस्?’
मैले पनि चिच्याएरै भनेँछु–‘ए आमा, तपाईँले पाएकोजस्तो लोग्ने र दिदीले भेटेकोजस्तो श्रीमान् मैले खोजेको होइन, मैले पूर्ण जीवनसाथी खोजेको हो। साँच्चि छ कोही त्यस्तो पुरूष तपाईँको नजरमा?’
३) महामहिमको यात्रा
तीन दिनको यात्रामा जानु थियो । धुवाँ, धुलो, खाल्डो, हिलो, अबडेखबडे थियो सडक। कतैकतै त गजारझैँ देखिन्थ्यो। त्यहाँ महानगरपालिका र सरकारको संयुक्त रूपमा झुन्डिएको फ्लेक्स बोर्डलाई सोधेँ–ए चिल्लो बोर्ड, कहिले बनाउँछौ यी कोत्र्याहा सडक ?
बोर्ड बोल्यो –बजेट मरूँ!
३ दिनपछि यात्राबाट घर फिर्दै थिएँ। त्यही सडक जम्मै कालाम्मे पिच भएको थियो । धँुवा, धुलो, हिलो, खाल्डो केही थिएन । आश्चर्य लाग्यो । आफैँलाई चिमोटेँ।
बोर्डलाई सोधेँ– ‘के अचम्म गर्यौ ? के जादु गर्यौ, तीन दिन मै ?’
बोर्डले ताउ लाउँदै बोल्यो– ‘के हाम्लाई काम गर्न सक्टैन भन्या हो टिमीले ? गरेर डेखायो ट, अब ट पट्यायो ?’
म नतमस्तक भएर हिडेँ । अलि पर पुगेपछि अर्को मूल सडकमा फोहोरको डङ्गुर देखेँ। हिलो, धुलो, खाल्डो जताततै थिए ।
जित्ने मनसायले मैले फेरिबोर्डलाई सोधेँ– ‘यो सडक त डम्पिङ साइट भएछ, के धाक लाउँछौ काम गरेँ भनेर ?’
बोर्डले सगौरव जवाफ दियो–‘कस्टो मान्छे रहेछ ? यो बाटोमा महामहिमले यात्रा गर्नु हुन्न भनेर ठाहा छैन टिमीलाई ?’
४) पङ्गा
प्रथम श्रेणीमा प्रथम भएर फिजिक्समा एमएस्सी गर्दा मेरो बाहुने चुच्चे नाक झन् घिरौँलाझैँ उचालिएको थियो। संसार खाउँलाजस्तो जोस थियो।
लोकसेवा दिन गएँ। सिंहदरबारको पर्खाल कसले बनायो भनेर सोधियो । म के जान्नु ? भौतिकशास्त्रीलाई किन चाहियो त्यो। रिसले मुर्मुरिएँ । फेल भएँ। सरकारी कलेजमा गएँ । एकजना हितैषीले सित्तैमा सल्लाह दिए– ‘पार्टी नमिलाई यहाँ त पिरियड बेसिसमा पनि जागिर पाइन्न ।’
जागिर खानै थियो । प्राइभेट कलेजमा हप्ता दिन त्यसै पढाएपछि मेरो जागिर भयो । मैले पढाएको सबैले वाहवाह भने । प्रिन्सिपल सरले त मेरो मुखैमा भने– ‘मुकुन्द सरजस्तो पढाउने पो मास्टर । कस्तो गहन अध्ययन रहेछ तपाईँको । सबै विद्यार्थीले वाह वाह गरेका छन्।’
केही दिनपछि म कक्षा लिँदै थिएँ। एउटा मुन्द्रे विद्यार्थीले निहुँ खोज्यो । केही गरे उसलाई पढाउन सकिनँ । भनाभन भयो । ऊ त रन्किएर ‘चाख्लास् काठा’ भन्दै हिँड्यो।
भोलिपल्ट पढाउन जाँदा प्रिन्सिपलले भने– ‘मुकुन्द सर, तपाईँको ठाउँमा अर्को सर राखेँ।’
मैले भने– ‘किन सर मैले पढाएको भएन र ?’
‘हुन त भयो नि । हेर्नु न त्यो पावरफुल र धनी बाउको छोरो हो । व्यथ्र्यमा तपाईँले त्योसँग पङ्गा नलिनुपथ्र्यो!’
५) तातो चिसो
सम्साँझै म्यासेन्जरले लेख्न थाल्यो–
‘हेलो ? म मधु प्रीति । हिजो हजुरलाई मैले चिन्दै चिनिनँ। देखेजस्तो । पछि पो झसङ्ग भएँ । हजुरका कविताको त म फ्यान छु ।’
‘हजुर हो, मलाई पनि हिजो चिनेजस्तै लागेको थियो’ मैले शिष्टाचार जनाएँ।
उनीसँग हिजो एउटा कार्यक्रममा भेट भएको थियो । होची र गोरी। खुब राम्री लागेको थियो। ग्रुप फोटोमा हामी सँगै पनि रहेछौँ । फोटो हेरेँ। चिनेजस्तो लाग्दै थियो। एउटा साथीले फोटो हेरेर मलाई सोधेको पनि थियो– ‘ओई, नियात्राकार मधु प्रीतिलाई कसरी चिनिस् ?’
मघु प्रीतिको म्यासेन्जरले फेरि लेख्यो– ‘चिया पिउनुभयो ?’
म– ‘हजुर, कालो चिया संगै छु’।
मधु–‘मलाई त कालो चिया मन पर्दैन’।
म मजाकिलो भएँ– ‘हजुर गोरी भएर हो ?’
मधु– ‘‘भो गफ गर्न पर्दैन। पत्याउँदिन। मैले देखेको छु हजुरलाई। झुलुक्क भए पनि।’
मैले र्याल काढेँ– ‘फेरि गजबले भेट्नुपर्ने भो पत्याउन।’
मधु –‘आशै आशमा चिया चिसो होला, पिउनू।’
म–‘के फरक पर्छ र ? चिसो तातो दुवै जिन्दगी नै हो हजुर।’
मधु –‘हुन त हो, तर समय त घक्र्यो । समयले तातोलाई चिसो र चिसोलाई तातो बनाइसक्यो हजुर।’
प्रकाशित: ८ वैशाख २०७८ ०५:४२ बुधबार