कृष्णबहादुर बुढाथोकी
आयौ मृदु वसन्तको पछिपछि कोट्याउँदै दुखलाई
उन्माद छैन कतै विलाप सबमा साथी बनेकोे छ है
नेपाली जन आसुमा डुबिसके उद्दारमा आउन
घोली सोम् रस चित्त पारि सुकिलो आनन्दमा छाउन
लेकाली वनका गुराँसहरुमा पोति रगत् रङ्गिन
मल्मल् झैँ हरिया चऊरहरुमा मुर्दा थुपार्यौ किन
आँखाको डिलमा हरेक पलमा आसु खसालीकन
बस्नू कुन् दिन तक्न नढाँटी नव साल् चाँडो मलाई भन
आशा मर्न गयो निराश मनमा लेऊसरी फैलियो
सेतो स्वच्छ धरा दुषित् हुन गयो मान्छे झनै मैलियो
कालो कान्ति छरी मडारिन गयो दुर्भाग्यको हुण्डरी
हास्ने शान्त वसन्तका फूलहरु जोगाउने के गरि ?
गर्छन् तारिफ भावना जलधिमा चुर्लुम्म डुब्नेहरु
रानी हुन् ऋतुराज् वसन्त विरही भन्ने र बुझ्नेहरु
जस्तो सुन्दरता वसन्त रजनी देख्छन् कहाँ पाउँछन्
कोमल अङ्ग मुसारने रहरले सम्वत् नयाँ धाउँछन्
आगो लागि कुरुप् भई विटपका सुकेपछि फूल् फल
रुन्चे मुख् गरि बस्तछिन् धरतीले पर्खेर बादल् दल
यै बेला नव वर्ष आतुर भई टुप्लुक्क आइदिँदा
धिक्कार मान्छ उनै वसन्त विरही सुन्सान भइदिँदा
राम्रो भन्छ वसन्तलाई कविको दुर्दान्त चिन्तन् फगत्
आँधी हुण्डरीको चुटाइ कलिला भोग्छन् लता पल्लवित्
ज्वालामा जलि मर्दछन् हलहले मुना कलीला जब
यो बेला ऋतुराज् वसन्त बढिया भन्छौ कसोरी अब !
प्रकाशित: ८ वैशाख २०७८ ०५:०६ बुधबार