विष्णु भण्डारी आचार्य
उषाले फोनमा कुरा गरेको सुनेर प्रभा मुर्मुरिई, घोइरा आँखा पार्दै मुन्टो बटारी, मुख कुच्याउदै भनी–उहुँ, त्यसको छोरो ठूलो देश ग’को छ भनेर होला नि, ठूलठूला कुरा सुनाकी।
उषा र प्रभा एउटै आँगन जोडिएका छिमेकी, उषाको छोरोलाई डिभि परेर अमेरिका गएपछि भने उनीहरू दुईको आन्तरिक द्वन्द्वले अझ उग्र रूप लिन थालेको थियो, कारण थियो, उषाको दुईतले बिल्डिङ छोरो अमेरिका गएपछि अझ अग्लिदै गइरहेको थियो । प्रभाका त छोराछोरी पनि अलिक साना , श्रीमान् को कमाइ थोरै, कमाएको जति जेनतेन परिवार धान्नै ठिक्क हुने, त्यै पनि उषा र प्रभाबीच लुगा र गहना लाउने कुरामा होडबाजी चल्थ्यो।
एकदिन प्रभा विरामी परी, कतिओटा डाक्टर फेर्नु, देखेसुनेसम्मका अौषधि, एलोपेथिक, होमोपेथिक, आयुर्वेदिक जम्मैको उपचार पद्दतिले नभएपछि धामीझाँक्रीलाई भाकल्न समेत बाँकी राखिएन । केही पार लाग्या हैन, छोराछोरीको विचल्ली, श्रीमानलाई पनि धौधौ पर्न थाल्यो।
प्रभालाई अस्पतालमै भर्ना गर्नुपर्ने भयो। अस्पताल राखेको पनि पन्ध्र दिनजति भैसक्यो, जस्ताको तस्तै छ, आजित भए श्रीमान् पनि।
ऊ विरामी श्रीमतीको छेउमा बसेर कुरा गरिरहेका थिए –साँच्चि प्रभा ती उषाका छोरालाई त कोराना पो लागेको छ अरे त नि । विदेशमा कति नेपालीहरू नि मरिसके भन्छन् ।
–साँच्चै हो र ? प्रभाको बोलीमा तागत आएझैँ सुनियो।
–तिमीसँग को ठट्टा गर्छ त नि । उनका श्रीमान् जगदिश दाइ त सुनेर प्रेसरले ढले अरे,अस्पताल लगिरछन।
भाको धुम्म परेको अनुहारमा एकाएक चमक आयो , काँडो झिकेझैँ भयो विमार। शरीरमा फुर्ति बढ्यो।
भनिन् –बुढा,डाक्टरसँग डिस्चार्ज माग, आजै घर जानुपर्छ, घर लथालिंग भइसक्यो होला ।
प्रकाशित: ८ वैशाख २०७८ ०२:३३ बुधबार