२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

काठमाडौँ मोह

लघुकथा

  रामकुमार पण्डित क्षेत्री

  

  १) व्यभिचार 

ऊ नव धनाढ्य स्वस्थ युवक थियो । गाँस, बास र कपासले भरिपूर्ण भएपछि उसले यौन आनन्द चाह्यो । विवाहित, त्यो पनि बच्चाको बाबु भइसकेको भए पनि उसले घरको आँपलाई आलु बराबर ठान्यो । त्यसैले हिँड्यो बजारतिर । बजारमा यौनकर्मी महिलालाई देखेर मनमनै भन्यो —यसको गरिबीलाई देखेर धेरैले लुछे होलान्, यसको सुन्दरतालाई । खानका लागि यसले पनि बाध्य भएर सुम्पिई होली आफ्नो जवानी, जो पायो त्यसलाई । धेरैजनासँग यौन सम्पर्क राख्ने मान्छेसँग होस गर्नुपर्छ रे । भैगो यसलाई नछोऊँ । बेकारमा रोग सर्ला । बरु धनी आइमाई भेटे विचार गर्नुपर्ला । स्टैन्डर्ड पनि हुने, पैसा खर्च पनि नहुने, रोग पनि नसर्ने । आफ्नो स्टैन्डर्ड जोगाउन उनीहरू जो पायो उहीसँग सम्पर्क राख्दैनन् ।

ऊ अलि पर हिँड्यो । सडक किनारामा कालो कारको भित्तामा अडेस लागेर एउटी अधबैँसे महिला उभिएकी थिई । आधुनिक शृङ्गारले सजिएकी ती महिला आकर्षक लाग्दथी । उसले एकनासले ती महिलालाई हेरयो । महिलाले पनि उसलाई हेरिन् । हेराहेरमै उनीहरूबिच कुराकानी भयो । कुरा मिल्यो।

उसलाई ती महिलाले आफ्नो बङ्गालामा लगिन् । भव्य बङ्गालाको चमकधमक देखेर ऊ भित्रभित्रै आत्तिइरहेको थियो । त्यस घरमा काम गर्ने नोकरचाकरको उच्च गेटअप देखेरै ती महिलाको सम्पन्नताबारे अन्दाज लगाउँदै थियो । उसलाई तेस्रो तलाको एउटा बेडरुममा राखिन् । एकछिनपछि आयातित उच्चस्तरको मदिराबाट उसको स्वागत गरिन् । अनि ढोकाको छेस्किनी बन्द गरिन्।

तिनीसँगको एकछिनको बसाइपछि उसले खाएको मदिराको नसा उत्रियो । तिनी भने आनन्दसाथ कोठामै लम्पसार परेर सुतिन् । ऊचाहिँ घरको निरीक्षण गर्न कोठा बाहिर निस्कियो । एक्लै हेर्दैहेर्दै हिँड्दा भरयाङको कुनोमा कलात्मक सुनौलो सुगा देख्यो । त्यसको जीउमा हातले छोयो । त्यो त अहिल्यै बोल्लाजस्तो गरी धातुले बनाएको चाल पायो । एकचोटि टाउकोमा मुसारयो । नभन्दै सुगा तुरुन्तै बोल्यो — म्याडम, यो महिनामा पुरुष संख्या पाँच !

सुगाको यो आवाजले उसको सातो लग्यो।  

     २) कृष्ण र सुदामा

ती केटीमा खासै सुन्दरता थिएन । होचो कद, दुब्लो शरीर र पोतो आएको अनुहार थियो तीनको । यही कारणले उसले ती केटीलाई आफ्नो साथी बनाउन चाहेको थिएन । तर, त्यो केटीले उसलाई पछ्याएको पछ्यायै गरेपछि उसले धरै पाएन । कृष्ण र सुदामाबिच धेरै कुराको असमानता भए पनि राम्रो मित्रता थियो । कृष्णको आदर्शलाई अनुसरण गरेर उसले तीनलाई साथी बनाउने अठोट गरयो । उनलाई सक्दो सहयोग गर्ने कुरा सोच्यो । उनको लागि आफू कृष्ण जस्तै भएकोमा गर्व गरयो । तिनी आफूभित्र ट्यालेन्ट छ भनेर घमण्ड गर्दथिन्।

एक दिन तीनले भीम नाम गरेको केटाले आफूलाई पिछा गरेको सुनाइन् । उसले सचेत रहनु भन्यो । तीनले फेरि भीम नाम गरेको केटाले ‘बिहे गर्छु’ भनेको सुनाइन् । उसले ‘विचार गरेर गर्नू’ भन्यो । युवतीले फेरि अरू थपिन् — बिहे अगाडि नगरकोट घुम्न जाउँ भन्छ । घुम्न गएको बेलामा माया गाँसौ भन्छ । अघि गरे नि पछि गरे नि, मैले नै तिमीलाई बिहे गर्ने हो भन्छ ।

  “त्यसले तिमीलाई फसाउन खोज्दैछ । नजानु ।” उसले भन्यो।

तीनले पनि भनिन् —मलाई त्यस्तो सम्झेको ? म जो पायो त्यहीसँग जान्छु जस्तो लाग्छ र ?

अब उसलाई उनको कुरा सुन्दासुन्दा एकमन दिक्क लागेको थियो । अर्को मनचाहिँ तीनलाई एकपल्ट माया गरौँ भन्ने भाव जागेको थियो । यस्तैमा एकान्तमा उसले भेट्यो । गफ गर्दागर्दै उसले तीनको जिउमा स्पर्श गरयो । तीनले प्रतिकार गरिनन् । उसको हिम्मत बढ्यो । आफूले चाहेको सजिलै पायो।

उसले ती केटीप्रति जिम्मेवारी लिनुपर्ने विचार गरयो । ऊ बिहे गर्न तयार थियो । तर,  त्यसपछि बिस्तारै—बिस्तारै उनी भेटघाटमा कम गर्न थालिन्।

एकदिन बजार घुम्न गएको बेलामा उसले उनलाई देख्यो । तिनी त मोटरसाइकलको पछाडि सिटमा बसेर अगाडि बसेको चालकलाई चुम्दै थिइन् । चालक भने धीमा गतिमा मोटरसाइकल गुडाएर त्यसको मजा लिँदै थियो । त्यो देखेपछि उसको मनमा चिसो पस्यो र भन्यो —अरे ! त्यसलाई मैले सुदामा सम्झिरहेको थिएँ । सुदामा त मलाई पो बनाइरहेकी रैछे। 

 

३)  काठमाडौँ मोह

उनी मोफसलका साहित्यकार ।  आफूले आफूलाई खुब गर्व गर्दथे, स्वाभिमानी छु भनेर भन्ने गर्दथे —म जे भन्छु त्यही गर्दछु । मोफसलको साहित्यकार भएर मात्रै म चर्चामा आउन सकिन नत्र ...!

 एक दिन काठमाडौँको कुनोमा कविता वाचन कार्यक्रम आयोजना भएको थियो । सन्जोगले उनी त्यहाँ आइपुगे । उनले भानु र काठमाडौँ शीर्षकको कविता सुनाए । कविता यस्तो थियो —

 “ती भानुभक्त यस्तो लेखिन्या

काठमाण्डूलाई सुन्दर देखिन्या

म देख्छु जतासुकै फोहोर  

फोहोर फाल्न पनि तिर्नुपर्छ मोहोर  

नर हो कि नारी हो, छुट्टिनै नसक्न्या  

सर्पले भन्दा त घरपटीले डसन्या  

ए भानुभक्त तिमी रहेछौ कपटी

काठमाण्डूमा देखेनौ कति हुन्छ छटपटी ।”

   उनको कविता सुनेर मान्छेहरूले पर्र ताली बजाए । सबैले वाहवाह  भन्दै अनुहारभरि खुसी ल्याए । केही क्षणपछि कार्यक्रम सकियो । त्यसपछि कोही अतिथिसँग परिचित हुन गए । कोही आआफ्नो मन मिल्नेसँग गफ गर्न थाले । कहिले सकिएला र हिँडी हालौला भन्नेहरूचाहिँ दौडिहाले । एक जना अधबैसेले उनीसँग हात मिलाउँदै भन्यो — तपाईँको कविता बडो मनपरयो । भानुभक्तले नदेखेको तपाईंले देख्नुभो। काठमाडौंको क्या मजाले धज्जी उडाउनुभो।  

  उनी प्रसंशा पाएर खुसी भए । दाह्री एकपल्ट मुसारे । अनि सोधे —यहाँले के काम गर्नुहुन्छ नि ?

  “हजुर म काठमाडौँको काँठकाँठमा गएर अग्ला डाँडाकाँडा सम्याउँछु अनि सस्तोमा घडेरी बेच्छु ।” 

अधबैंसे मान्छेको कुरा सकिन नपाउँदै उनले भनिहाले —साँच्चै कतिसम्म मिलाउनुहुन्छ ? अलि सस्तोमा पाए त म पनि किनेर यतै बस्न हुन्थ्यो।

 

४) सुख

 – पैसा कमायो भने सुख हुन्छ रे !

यही मान्यतामा उसले प्रशस्त धन सम्पत्ति कमायो । पचास वर्ष उमेर काटिसक्दासम्म उसले सुखको अनुभव गरेन । धनको जगेर्ना र सुरक्षामा ध्यान दिनु परेपछि वास्तविक सुखको अनुभूति हुनै सकेन । दिक्क भएर एकाबिहानै एक दिन ऊ माता बगलामुखीको मन्दिरमा गयो । दर्शन गरयो । कुम्भेश्वर मन्दिरको परिक्रमा लायो । त्यहीँ नै उसले एकजना दिव्य ज्योतिले धपक्क बलेका साधु भेट्यो । आफ्नो मनको बह पोख्यो । साधुले सुख प्राप्त गर्नलाई धन दान दिनुपर्छ भने । उसले मानेन, भन्यो —  दान दिएपछि त मेरो भण्डार रित्तिहाल्छ नि । बिनाधन कसरी सुख हुन्छ ?

साधुले भने —धनले भौतिक सुख मिल्छ। तर, दानले आत्मिक सुख मिल्छ । तिमीले खोजेको आत्मिक सुख हो, भौतिक होइन । विचार गर।

ऊ साधुको कुरामा विचार गर्दैगर्दै घर आयो । आफूले कमाएको अरबाँै सम्पत्तिमध्ये एकतिहाई दान दिएर हेर्ने विचार गरयो।

एक करोड गरिब, अनाथ बच्चाको पढाइमा दान दियो । एक करोड साहित्य सर्जकका सृजनामा दान दियो । आधा करोड वृद्घाश्रममा दान दियो । केही पैसा बाटोघाटो पुल निर्माणमा दान दियो । बाँकी पैसाले अस्पताल खोलेर निःशुल्क स्वास्थ्य सेवा दियो।  

  दुईचार महिनासम्ममा त उसको भण्डार एकतिहाई खाली नै भयो । तर जब साहित्य सर्जकहरूले दिल खोलेर उसको कार्यको प्रशंसा गर्दै दैनिक लेखरचनाहरू छपाउन थाले; तब उसको चर्चा परिचर्चा जताततै हुन थाल्यो । त्यसपछि त उचित ठाउँमा दान दिन नपाएका धनीहरूले उसैको नाममा रकम जम्मा गरिदिन थाले । हेर्दाहेर्दै उसको भण्डार कर्णको जस्तो जति खर्च ग¥यो, त्यसको दोब्बर हुन थाल्यो । तब बडो आनन्दित भएर भन्यो —धन थुपारेर भन्दा दान दिएर पो सुख हुने रहेछ।

 

५)   बूढो  नहुने वरदान

एकजना मान्छेको उमेर चालीस वर्ष पूरा हुन लागेको थियो । त्यो उमेरसम्म उसले केही गर्न सकेको थिएन । त्यो गर्न नसकेको दोष जति उसले विगत छयालीस सालदेखिको राजनैतिक अस्थिरतालाई लगाएको थियो । चालीस वर्षपछि मान्छेको जुनी सकिन्छ भन्ने पुरानो कथा उसले सुनेको थियो । त्यो कथाको भावनामा बगेर उसलाई केही गर्न नसकी बूढो हुन लागेकोमा पीर लाग्यो । त्यसैले जीवनमा धोको पुग्ने गरी केही गर्नुपर्छ भनेर भगवान्लाई पुका¥यो । अचानक उसलाई अचम्म पार्दै भगवान् उपस्थित भए । भगवान्ले के माग्छौ माग भने । उसको मुटुको ढुकढुकी बढ्यो । खुसीको आवेगमा उसले वृद्घ नहुने वरदान माग्यो । भगवान्ले उसलाई तथास्तु भन्दै यो सुझाव दिए —बालक तिमी राजनीतिमा लाग्नू । कहिल्यै बूढो हुने छैनौ।

भगवान्लाई उसले प्रश्न सोध्यो —यही राजनीतिले मेरो उमेर चालीसै नकटी पचास जस्तो बनाइसक्यो । यस्तो फोहोरी राजनीतिले कसरी म बूढो हुन्नँ र ?

भगवान्ले मुस्कुराउँदै जवाफ दिए —अरे बालक, राजनीतिमा लागेको कोही मान्छेलाई वृद्घ नेता भनेको सुनेका छौ ? सत्तरी वर्ष काटेको नेतालाई समेत सबैले युवा नेता भन्छन् त! 

भगवान्को कुरा सुनेर ऊ अक्क न बक्क परयो । सोच्यो; ‘फोहोरी राजनीतिको कारण वरदान समेत सद्दे पाइएन।’  

      ६) नयाँ पुस्ताले सुन्ने हिट गीत 

 

एकजना गीतकारको गीत खुब हिट भयो । टोलटोलमा, घरघरमा त्यस गीतको बारेमा चर्चा चल्न थाल्यो । गीतकार दङ्ग पर्न थाले । आफूले लेखेका शब्दहरू कर्णप्रिय भए भनेर खुब आनन्द माने । एकदिन एउटा पार्टीमा उनकै गीत खुब घन्किरहेको थियो । टीनएजरहरू रमाईरमाई नाचिरहेका थिए । उनले एउटा बालकलाई तानेर खुसुक्क सोधे —बाबु , तिमीलाई यो गीतको कुनचाहिँ शब्द बढी मनपर्छ ?

   बालकले जवाफ दियो —अङ्कल ! म यो गीतको एउटा पनि शब्दहरू बुझ्दिनँ । तर, मलाई यस गीतमा, गायकले “हो ऽऽऽ हो ऽऽऽ हो ऽऽऽ .........” भनेको मेलोडी असाध्यै मनपर्छ । त्यही सुनेर म उफ्रन्छु , नाच्छु ।” 

बालकको जवाफ सुनेपछि गीतकारको मुहारमा ग्रहण लाग्यो ।  

     (‘देशको खोजी’ लघुकथा संग्रहमा संगृहीत )

प्रकाशित: ३१ चैत्र २०७७ ०८:२५ मंगलबार

अक्षर