९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

मनका कुरा

निबन्ध

श्रीओम श्रेष्ठ रोदन

 

थाहा छैन, कस्ता हुन्छन् मनहरू ? कति प्रकारका हुन्छन् ? वैज्ञानिकहरू चमत्कार गर्र्न सक्छन् तर मन प्रदर्शन गर्न सक्दैनन् । मनलाई चटक बनाउन र सर्कस बनाउन सक्दैनन्। अणु –परिमाणुझैं टेस्टट्युबमा खेलाउन पनि सक्दैनन् । हुन त नहुनेनमिल्नेलाई प्रमाणित गर्छ विज्ञानले।  

प्रदर्शनी र प्रयोगबिना मन उपमा बनेको छ । आकाशसँग नाता, सागरसँग सम्बन्ध, सगरमाथासँग सौहार्द आदि इत्यादिसँग समन्वयमा मन नै उदाहरण बनेको छ, उत्कृष्ट । यो मनको सरलपनको फाइदा हो । कतै विरोध नगर्ने, सहने र धैर्यवान् , जहाँसुकै मिल्ने । रेडियोबाट एउटा गीत बज्ने गर्छ अरुणा लामाले गाएको र राजेन्द्र थापाले रचेको –

पोहर साल खुशी फाट्यो, जतन गरी मनले टालेंँ

यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो ....  

मन फाट्ने । मन सिउने । कसरी होला ? लुगाजस्तै मन पनि फाटिने पो हो कि ?  

फाटेको मनलाई सिलाउने मान्छेहरू कस्ता होलान् ?  

हुन त यो गीत हो गाउनका लागि मात्र । छलफल गर्न र व्यवहारका लागि पक्कै हैन । जेहोस् गीतमाथि उम्रेका प्रश्नहरू उत्तरविहीन छन् । प्रश्नमाथि प्रश्नहरू जति नै थपे पनि । प्रश्नैप्रश्नको एउटा सगरमाथा ठडिए पनि, उत्तर उपस्थित हुन सक्दैन । कुनै विज्ञानको बाउको बुताले भ्याउने कुरा हैन यो।

मन, विज्ञानको बाबु हो, बाजे हो र घोर आश्चर्य हो । मनभित्र कैद भए पनि बाह्य गतिविधिमा समाहित हुनसक्ने देखेर, सुनेर । मनको प्रतिनिधिका रूपमा आँखा र कानले दिलोज्यानले कार्य सम्पादन गर्ने गर्दछन् । त्यसैले अलिकति मात्र पनि मनलाई बिझाउने दुःखाउने कुरा कानले सुन्यो भने तुरुन्तै मनलाई जाहेर गरिहाल्छ।  

मनले थाहा पाएको जानकारी आँखामार्फत् व्यक्त गर्छन् । कति कमजोर छ बिचरो मन । आफू प्रत्यक्षदर्शी बन्न सक्दैन र मार्फत् प्राप्त जाहेरीलाई मार्फत नै प्रमाणित गर्ने गर्दछ ।  

यो सबैको भोग्य विषय हो, अनुभूतिको विषय हो । थाहा नभएको कसैलाई हैन । खासगरी मनले आफूले चिनेजानेका सबैलाई धेरै थोरैमा बाँडेको हुन्छ । निकटवर्ती, सहकर्मी, रगत नाता र रगत नाता बनाउन खोज्नेलाई दिएको हुन्छ वा त्यही अपेक्षा गरेको हुन्छ । अर्थात् जुन स्नेहले मन दिएको हुन्छ त्यही आशा गरिन्छ । स्वाभाविक पनि हो । यो सामान्य प्रदान र सामान्य प्राप्ति न्यायप्रदत्त छ । यसमा चित्त दुःखाए पनि जाने कुनै अदालत हुँदैन । थोरै आशा गरेकोबाट अलिकति पाउँदा पनि धेरै लाग्छ । तर, धेरै अपेक्षा गरेकोबाट थोरैभन्दा बढी प्राप्त हुँदा पनि सन्तुष्टि मिल्दैन । यो कस्तो मनको न्याय हो ?  

के हुँदा खुशी हुने र के हुँदा दस्ुखी हुने ? कुनै निश्चित छैन ।  सामान्य अर्थमा जति दिइन्छ त्यति नै पाउने हो  ।

श्रम र अर्थ, अर्थ र श्रम पनि एकापसमा समानताको तराजुमा जोखेर बाँडिन्छ भने संवेदनशील मनको कुरा नै अर्को परिभाषा नै पृथक् ।

मनलाई मनपर्ने मान्छेको तराजुमा ढक तलैसम्म जान्छ । थोरै मात्र बाँकी राखेर आफूलाई र अपेक्षा पनि त्यस्तै गर्छ । यस्ता प्रसङ्गमा जबसम्म पानीले पानी, हावाले हावा र मनले मनलाई गुणन गरेर मिल्न सक्दैन तबसम्म मन अर्थयुक्त स्नेहपूर्णभन्दा बढी बोझिलो बन्न थाल्छ ।  

हुन त कुरै अर्को छ । भाँचिएका मनहरू, च्यातिएका मनहरू हिजोआज र भोलि पनि हुनसक्छन् ।

अहिले मेरा आँखामा झलझली एउटा किम्वदन्ती छाइरहेको छ । सत्ययुगमा देवता र राक्षसले संयुक्त समुद्र मन्थन गरेका थिए । मन्थन गर्दा एकाएक गर्दै थुप्रै चिज प्रकट भए अमहत्त्वका । तसर्थ उल्लेख्य हुन सकेनन् । मन्थनबाट विष प्रकट भएपछि पृथ्वी, जल, आकाश तीनैलोक डोलायमान भए । राक्षस–देवता दुवैको कुनै जोड चल्न सकेन । त्राहिमाम–त्राहिमाम गर्दै महादेवलाई पुकारे । महादेवले सर्वहितका लागि विष पिए र घाँटीमा थुपारे । विषको पीडाले छट्पटिए र त्रिशूलले रोपी गोसाईंकुण्ड बनाए र  पानीमा डुबेर पीडा बिर्सन खोजे रे।

यो क्या हो । रेरेका र फेरि पनि रे नै । पछि मन्थनबाटै अमृतको घडा निस्क्यो र दुवैले आ–आफ्नो अमरत्वको चाहना राखे । राम्रो कुरा आफ्नो निम्ति र नराम्रो कुरा बेवास्ता गर्ने परम्पराको प्रार्दुभाव सत्ययुगका देवता हँु भन्नेहरूले नै गरेका हुन् ।

अमृतको विषयमा राक्षस–देवताबीच युद्ध हुने निश्चित भएपछि लड्ने हिम्मत देवतामा भएन । चाकडी र सम्मान मात्र पाइरहेका देवताहरू किन लड्न रुचाउँथे बेकारमा ? नलडी जित्ने षड्यन्त्रको योजना बनाए र पाप गरे धर्मात्मा भनाउँदाहरूले ।  

संयुक्त मेहनतको फल एकलौटी लिनु धर्मले दिने कुरा हैन । राम्री रुपवती युवतीको सिर्जना गरी लहरै अमृत बाँड्न लगाए । राक्षसलाई अमृतको ठाउँमा मदिराद्वारा लठ्ठाए र देवताले अमृत पिए । आफूले मात्र अमरत्व प्राप्त गरे र बदमासी गरी चिरञ्जीवी  भएका रे । यसरी धर्मविपरीत कार्य गरेर अरुका मेहनतलाई लात हान्दा कति मन दुखेका थिए होलान् राक्षसका ? 

सर्वहितका निम्ति विष पिउने महादेवको पीडामा एक थोपा अमृत पनि नछर्किदिँदा कति मन दुखाए होलान् बूढा महादेवले । आफू छटपटिएर बस्दा देवताहरू तिलोत्तमा, मेनका र उर्वशीसँग हाँसीहाँसी नाच्दा महादेवको मन कस्तो भएको थियो होला ? आखिर बूढो भए पनि , त्यागी भए पनि मन नभएको त होइन होला ? 

भ्रष्टाचार, छलकपट, षडयन्त्र, पाप, धोका वर्तमान समयको पर्यायजस्तै बनिसकेको छ । यस्तो नहोस् भनेर घटाउनेहरू पनि नभएका होइनन् । भए पनि बढ्ने गति बढेको बढेकै छ । शान्त समाजलाई अशान्त बनाउने कामको जग खन्ने काम  पनि देवता भन्नेहरूबाटै भएका त रहेछन् नि । मन दुख्ने दुखाउने काम पनि वैदिककालीन परिणति नै रहेछ  । स्वीकार गर्नैपर्छ यो । अहिले यो किम्वदन्ती र महादेवका मन वर्तमान बनिरहेका छन् र बनिरहने छन्।

म पहिले आनन्दले प्रफुल्लित हुँदा शब्दहरूलाई टुक्राटुक्रा पार्थेँ र जोड्थँें । यो नियमितता थियो खुशीको । अहिले म असीमित बनेको छु । खुशी वा पीर दुवैमा आफूलाई कलम बनाएर अक्षर ओकल्न खोज्छु । किन होला मन यस्तो गरी कलम र अक्षरसँग प्रभावित बन्दै गएको ?

घामजस्तो मुसुक्क उज्यालो भएको समयमा मन मीठो वास्ना भएर जतासुकै बग्न रुचाउँछ । तर, फतक्क गलेको बेला मनले मनकै जस्तो चिसो ओस खोज्छ । बढी दुख्ने कोर्राजस्तो आँसुले मनलाई  शीतल बनाउन सक्दैन ।

मन पाकेपछिको स्वाद कसलाई थाहा होला ? मनमा अगेनो सल्काउनेले नै जानून् । यो पनि त्यस्तो स्वाद हो जसलाई चाख्दा पनि घाटा र नचाख्दा पनि घाटा नै लागेजस्तो लाग्ने । चाहना राख्नासाथ पाइहाल्ने कुरा पनि होइन यो । मन पाकेपछिको स्वाद चाख्न सहज नभएकाले पनि होला यसको महत्त्व बढेको ? त्यसैले पनि हो कि यस्ता रहर गर्न खोज्नेहरू निरर्थक बन्ने गरेका छन् ।  कोठामा आगो लगाएर उडुसलाई डडाएँ भन्दै मुरली बजाएजस्तै।

एक्लो हाँसोको प्रस्तुतिले मनलाई वय र वृद्ध बनाउन सकिँदैन । जसरी भूकम्प स्वरूप र संरचनाभित्र सीमित बन्दैन । खुशीहरू बन्धक राखेर आफूलाई कुनै तराजुमा तौलन सकिँंदैन । त्यसरी नै पीरयुक्त आँखा उदाङ्गो पारेर दृष्टिमा समवेदना खोज्न सकिँदैन । यो नियतिको मात्र कुरा हैन । नियति र निरन्तरता समन्वयात्मक शब्द पनि हैन । यो एक प्रकारको दुर्घटना हो । नियमित नभई आकस्मिक।

हरेक आकस्मिकता नियमितताभित्र नै हुन्छ । जन्मभित्र मृत्यु समाहित भएझँैं । पानीभित्र पानी, आगोभित्र आगो नै भएजस्तै । कसलाई थाहा छैन र ? प्रत्येक कोपिला फूल बन्नका लागि नै स्वयम्मा कैदी हुन्छन् भनेर । कसले नभोगेको कुरा हो र ? वीर्य बिंँडो हो, जसलाई जसरी प्रयोग गर्दा पनि आँगन रमाउँछ, रुन्छ र खेल्छ भनेर ।  

कस्तो हुन्थ्यो होला सबैको यथार्थबाट पूर्वगन्ध आउने भएको भए । प्रत्येकका भोगिने क्षणहरू रातजस्तै अन्धकार हुने भएको भए । हरेक भोगाइहरुसँग मोतिबिन्दु ओर्लने भएको भए । न भूतो न भविष्यति । जे हुन्छ र जस्तो हुन्छ वर्तमान मात्र । न भोलिले आजलाई पिरोल्छ  न हिजोले आजलाई लखेट्छ।

समय र मन धमिलिएपछि कसैले कसैलाई देख्दैन । बुकी फूलहरूले असार उज्यालो बनाउँदा सँगै बसेर तस्बिर उतार्ने लेक र खर्कहरूले कहिले उत्साह बोक्दैनन् । मीठो सुसेलीमा रङ्गीन धुन, च्याङ्वा र गोरेबहादुरका ओठमा लटरम्म फक्रँदा धमिलो साँझ हिजो पनि बनेको थिएन र आज पनि बन्न सक्दैन । जमराको महिना, नवरथाको बिहानी प्रहर र झ्याउँकीरीको साङ्गीतिक छनक मैलो भए पनि स्निग्ध बनेको उदाहरण प्रत्येक वर्ष स्वाद बनेर चखाइरहेकै छ ।

अँ ! मलाई लाग्दैन कि मन र समयहरु बिस्कुन बनेर रापिलो घाममा उत्तानो पर्न सक्दैनन् । प्रकृति रत्नहरु भिल्लको देशमा मणिझैंँ यत्रतत्र विष्णुमती र टुकुचा बनेर फालिन पनि सक्छन् । नदी र बालुवासँग सुनका टुक्रा खोज्ने मलामीहरु लाशको शिला हो होइन भन्न सक्दैनन् । यसरी प्रश्न र उत्तरमा दौडेर आफैलाई किरकिरी रेटिने धारलाई कुच्याइहाल्ने स्थिति पनि छैन ।  

आफू जहाँसुकै उम्रियो भन्दैमा सबैलाई किन समान देख्नु ? आफू हाँस्नासाथ सबैका आँखा उज्याला हुन्छन् र ? अघि होस् वा पछि समयले नेटो काटेपछि धैर्यका अदम्य पहाड आरोहणमा कञ्जुस्याइँ गर्नु हुन्न । यो जीवनको निरन्तरताको कोसेली हो। 

खाए पच्ने, लाए देख्ने । तसर्थ सकुन्जेल सपनाको मीठो आकाशमा चङ्गाजस्तै आकाशिएर विपनालाई बिगार्नु हुन्न र इतिहासको खोल ओढेर भित्री वर्तमान स्वीकार गर्ने आँट थेग्न तिघ्रा कमाउनु हुँदैन । म्यूजियमका राजामहाराजाका श्रीपोस र पाउपोसमा इतिवृत्त सुनाएका भरमा हात्तीमा हौदा कस्नु हुन्न र दिनु पनि हुन्न।

त्यसै पनि मन्दिरमा घण्टहरू बजेको भरमा आरती उतारेको भजन मलाई सुगन्धित लाग्दैन । समयको नाडी छामेर मनलाई तौलनु हुन्न । जसरी आकस्मिक नियमितभित्र पर्छ त्यसरी नै मनको मीठो–तीतो अंश मनभित्रै विकसित भएको हुन्छ । निश्चित गर्भमा लुप्त हुन्छ । भन्न खोजेको एउटै हो मनको सम्झौता मनसँग हुनुपर्छ समयसँग हैन।

प्रकाशित: ३० चैत्र २०७७ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App