घनश्याम सिटिङ रुममा पत्रिका पढ्दै बसिरहेकी थिए । श्रीमतीले मन्दिर गएर फर्किनेबित्तिकै भनिन् –तपाईले मन्दिरलाई निकै चन्दा दिनुभएछ नि यसपालि। हामी मन्दिर जाँदा एलाउन्स गर्दैथे सन्दिप क्षत्री पचास हजार भनेर। निकै पो समाजसेवी हुन थाल्नुभयो त ! व्यंग्य हानिन्।
–हो र। खिसिक्क हासेँ ऊ।
– दिन पनि कत्रो दिनुभ’को । अरूले चैँ थोरथोरै दिँदा हुने, खूबै अरूलाई उछिन्नुपर्ने, लोभ भने फिटिक्कै छैन, भुतभुताइन् सानो आवाजमा।
– हे नकरा न, यो सबै कुरा तँलाई के थाहा।
–अँ के थाहा भन्नुहुन्छ, मलाई चाहिँ थाहा हुन्न ? पोहोर पनि जनकेशरी स्कुलमा पुराण लाउँदा चन्दा दिनेमा उहाँ नै अगाडि हुनहुुन्थ्यो। त्योभन्दा अघिल्लो साल बाटो निर्माणमा थोरै दिनुभएको हैन, यो धेरैधेरै दिदाचाहिँ के हुने हो ?
श्रीमतीको धेर गनगनले वाक्क लागे पनि शान्त भएरै भने उनले–लु भो छोड्दे त्यो कुरा । चिया खाऊँ अब।
चियाको चुस्की लिदै सानो आवाजमा भने श्रीमतीतिर फर्केर–कुरै नबुझी तँ कति गनगन गरिरहन्छेस् । मैले तँलाई प्रत्येक महिना कति पैसा दिने गरेको छु, भन् त । प्रत्येक महिना लाखको छेउछाउ नभए नि सत्तरीअसी हजार दे’को त हैन भन्दिनस् होला नि?
होमा मुन्टो हल्लाइन् श्रीमतीले।
– तेरो लोग्नेको कमाइ कति हो, थाहा छ तँलाई ?
–अहँमा मुन्टो हल्लाई फेरि।
महिनाको चौँतिसपैँतिस सहजार भन्दा धेर हुन्छ र सचिवको तलव ? अरू काँबाट ल्याउनुभो भनेर सोधेकी छस् कुनै दिन ? कति नै चन्दा दे’को छु मैले भन त । वर्षको पचास हजार चन्दा दिनु भनेको मेरो कमाइको दुईतिन पर्सेन्ट पनि हैन त्यो भनेको।
समाजसेवी कहलिएकै कारण साराले विश्वास मानिराछन् आफूलाई।
प्रकाशित: २५ चैत्र २०७७ ०३:३८ बुधबार