१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

भूकम्पको झट्का

लघुकथा

काशिरामले छोराले मन पराएकी बुहारी नै भित्र्याए । सुभद्राको मन भने अलि अमिलो भयो । पढेलेखेकी बुहारीबाट घरधन्दामा सहयोग होला भन्ने उनलाई लागेन।

नभन्दै दुईचार महिनापछि शान्ता अधुरो पढाइ पूरा गर्न शहर पसिन् । किरण भने कहिले गाउँमा त कहिले शहर गर्न लागे।

शान्ताको पढाइ पूरा भयो । अब उनी जागिरका लागि लोकसेवाको तयारी गर्न लागिन् । बुहारी बोला भनेर किरणलाई आमाले कर गर्न लागिन् ।

यही विषयले घरमा ठुलो रूप लियो । आमाको कचकचले किरणलाई निर्णय गर्न गाह्रो पर्यो।

किरणसँग के सल्लाह भयो कुन्नि सुभद्राले एक वर्ष नबित्दै गुपचुपमा अर्की बुहारी भित्र्याउन सफल भइन् । उता शान्ता टुप्पी कसेर पढाइमा तल्लिन थिइन्।

किरण बेलाबेलामा शान्तालाई भेट्न आइरहन्थे । फोनबाट पनि कुराकानी गरिरहन्थे । अघिल्लो वर्ष जुठो परेर र यो वर्ष कोरोनाले गर्दा शान्ता घर नगएको दुई वर्ष भएछ । कोरोना अलि मत्थर भयो । किरणको सम्पर्क पनि घट्न थाल्यो । शान्ता कुनै खबरै नगरी घर पुगिन्।

घरमा गर्भवती नौली महिलाले घरधन्दा गरेको देखेर शान्ता छक्क परिन् । उनले सासू आमालाई सोधिन्– आमा, उहाँ को हो ?’

सुभद्राको किरणकी कान्छी भन्ने जवाफले शान्ता छाँगाबाट खसेजस्ती भइन् । उनलाई सहस्रौं भूकम्पका झट्काले मुटु हल्लायो । उनी थचक्क भुइँमा बसिन् ।

प्रकाशित: २१ चैत्र २०७७ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App