१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

चिसो जून

लघुकथा

    १) चिसो जून

पाँच वर्ष प्रेम गरेर भागी बिहे गरेका थियौँ हामीले । उनी तल्लो जातकी भएकाले भाग्नु मात्र होइन आसाम भासिनु परेको थियो हामीले । आसाममा पनि हामीले जात लुकाउनु परेको थियो । हामी गरिव थियौँ । समस्या यति थियो कि पर्गेल्न धौधौ थियो । तर पनि उनी थिइन् । म थिएँ । हाम्रो संसार थियो । सन्तान भएनन् र पनि हामी पूर्ण थियौँ । प्रेम साथ थियो । प्रेमको ज्वालामा सबै समस्या डढेका थिए । तमाखुको ट्वार्रट्वार्र आवाजमा पिरती हाँसेको थियो । यस्तै हो, हाम्रो समय प्रेमिल थियो।

तर, दुर्भाग्य उनी थलिइन् । डाक्टरले क्यान्सर भन्यो । किमो दिन थालियो । उनको कपाल झर्यो । दाँत झर्यो । उनी खाली पोल्यो पोल्यो भन्थिन् । क्यान्सरले उनलाई मात्र सिध्याएन, सबै सम्पत्ति स्वाहा पार्यो ।  

म पनि थलिएँ । डाक्टरले मलाई पनि क्यान्सर भन्यो । म खुसी भएँ। किनकि अब बाँच्नु थिएन। मेरो संसार सकिएको थियो । अब म छिट्टै मायानजिक पुग्नेवाला थिएँ। 

निरूद्धेश्य घरबाट बाहिर निस्केँ । खोकी मलाई पनि लागिरहेको थियो । असाध्य पोलेको थियो । रातको समय थियो । जून टहटह लागेको थियो । बादलले घरिघरि जूनलाई छोप्थ्यो ।  घरि उघ्रन्थ्यो । रोमाञ्चक भएर जूनलाई हेरेँ । फोक्सो खलाँतीजस्तै खुम्चन्थ्यो । फुल्थ्यो । एकदम दुख्दै थियो । भतभती पोल्दै थियो । सकीनसकी उनकै समाधिलाई समाएर उभिएँ । जूनको टहटहमा उनको समाधिमा एक थुँगा फूल चढाएँ । उनी त समाधिबाट बाहिर आइन् र हिँडिरहेको जूनलाई भनिन्– ‘ए जून, बिस्तारै– बिस्तारै हिँड । बुझ्यौ, मैले भोगेकी छु, तिम्रो शीतल चालले पनि पोल्दै छ बाबै उहाँलाई ।’

       २) सुरक्षा 

मेरो घरमा चोरी भयो ।  

आफ्नो भुइँतले कम्पाउन्ड नघेरिएको घरलाई देखाउँदै श्रीमतीले भनिन्– ‘हाम्रो घर पनि दयारामको जस्तो भएको भए सुरक्षित हुन्थ्यो ।’

मसँग उपाय थिएन । चुप लागेर सुनिरहेँ।

बालुवाटारको प्रधानमन्त्री क्याटरकै ठ्याक्कै अगाडि दयारामकोे चार तले घर छ । कम्पाउन्ड घेरिएको छ । पर्खालमाथि काँडेतार लगाइएको छ । सुरक्षाको एलार्म सिस्टम छ । सिसी क्यामराले रखवारी गरिरहन्छ । गेटमा पालेले जाँचेर मात्र भित्र जान दिन्छ । अति सुरक्षित छ उनको घर।

उनकी १२ वर्षे नातिनी वयोधा स्कूल गएकी फर्किनन् । ३ दिनपछि उनको लास पुलिसले बागमतीको पुलमुनि फेला पार्यो ।  

ठूलो विरोध भयो । पत्रपत्रिकाले गजब मसला पाए।

चोकबाट पत्रिकाहरू किनेँ । सोफामा पल्टिएँ र हेड लाइनहरू हेर्न थालेँ ।

‘वयोधालाई बलात्कार गरेर मारियो ।’

‘.............।’

‘.............। ’  

टिभी हेर्न थालेँ–

‘वयोधालाई बलात्कार गरेर मार्ने अपराधीलाई कारवाही गर्यो भने सरकार हल्लिन्छ रे । ढल्छ रे ।’

‘.............’  

म खिन्न र दिक्दार भएको थिएँ । मेरा रसाएका आँखा दयारामको काँडेतार लगाएको सुरक्षित घरलाई नै हेरिरहेका थिए ।  

एकाएक कराएँछु– ‘थुइक्क नामर्द सरकार । बलात्कारीलाई कारवाही गर्न पनि नसक्ने ।’

यसैबेला मेरी ८ वर्षे नातिनीले मेरा काखैमा बसेर सोधी– ‘अनि सरकार भनेको के हो नि हब्बा ?’

म केही बोलिनँ।

फेरि नातिनीले मलाई झक्झकाएर सोधी –‘भन्नु न हब्बा, अनि बलात्कार भनेको के हो नि?’

     ३) तिजको घोडा

तिजको दर खाने दिन थियो । नित्यानन्द कलेजको पिउन गिरी सकेर ६ बजे बेलुका घरमा टुप्लुक्क आइपुगे । उनकी श्रीमती दिलमाया अस्पतालबाट स्विपरको काम सकेर केही क्षण पहिले आएकी थिइन् । हुन त तीज एक महिना पहिलेदेखि टोल, छिमेक तथा आफन्तमा आइसकेको थियो । आज भने तिज उसको सँघारमा ठिङ्ग उभिएको थियो । दर पकाउने सुरसार थियो।

नित्यानन्दले दिलमायालाई नियालेर हेरे र मनमनै गमे–‘कस्ती आइमाई होली यो, जीवनसँग कुनै गुनासो छैन । छिमेकी महिलाहरू एक महिना पहिलेदेखि उफ्रिरहेका छन् । ऊ भने निश्चल छे । खोई रहर मारेकी हो कि ।’

विरक्त मानेर उनले श्रीमतीलाई सोधे–‘दिलु, एक महिनादेखि तिज आएको छ पार्टी प्यालेसमा, तिमीलाई रहर लाग्दैन ?’

‘रहर त केके लाग्छ, लाग्छ नि । रहरहरू लाग्छन् र जान्छन् । मजबुरीका नाम माहात्मा गान्धी भनेको सुन्नुभएको छ ?’

‘एक महिनादेखि उफ्रिरहेका छन् तिज भनेर छिमेकी । तडकभडकले समाज बिगार्यो नि दिलु ।’

‘उफ्रिन दिनु न उनीहरूलार्ई । त्यसले हामीलाई के फरक पर्छ र ?’

‘फरक पर्छ नि, तल्ला घरे ठाइँलीले त तिज मान्नलाई सहकारीबाट लिएको ऋण तिर्न घरबारी नै जाने भो रे  ।’

‘के गर्नु त हजुर ? नेपालीहरू न घोडा हुनेले घोडा चढेको देखिसहन्छन्, बरु हुने घोडा चढे भनेर घोडा नहनेहरू उपति न सुपति धुरी चढेर त हो नि बिग्रिएको ।’

         ४) गाडीघर

ऊ तेस्रो पुस्ताको नेपाली हो रहेछ अमेरिकामा । मैले भेट्दा ऊ यस्तै ४५ वर्षको हुँदो हो ।  

मैले उसलाई सोधेँ– ‘नाम के हो तपाईँको ?’

उसले छोटो उत्तर दियो– ‘डायमन पउकर्याल’  

जिङ्रिङ्ग कपाल । मैला लुगा । नेपालीका कुनै कुनै शब्द जान्दो रहेछ । ऊ नेपाली हो भनेपछि उसको कैरन सोधेँ ।  

ऊ भन्न थाल्यो–

–‘हजुरबा नेपालबाट अमेरिका आएको ।’

–‘यतै बिहे गरेर बसेको ।’  

–‘बुवा यतै जन्मनुभयो ।’

–‘१८ वर्षको उमेरमा घर छोडेँ ।’

–‘त्यति पढिनँ ।’

–‘ग्रलफ्रेन्ड जोडेँ । बिहे गरेँ । डिभोर्स गरी । चुसेर छोडिदिई । एउटा छोरो छ उसैसँग । घर छैन । इलम छैन । सरकारले पाल्छ । कुरा रह्यो बियरको । त्यो पनि मागेर नै खान पुगिहाल्छ । बाबु आमा छन्, तर हु केयर ?’

अनि मैले सोधेँ– ‘त्यो सेतो गाडी तपाईँको होइन र ?’

उसले भन्यो–‘हो नि, पोहोर साल सेकेन्ड ह्यान्ड किनेको हो, फोर्डको २००२ मोडल । मेरो त घर नै त्यही हो । सबै चाहिने सामान गाडीमा छन् । नचाहिने सामान स्टोरेजमा थन्क्याएको छु । गाडी कतै पार्क गर्छु । माग्छु र बियर खान्छु र सुत्छु ।’

मैले आश्चर्य मान्दै भनेँ– ‘नेपालमा त धनाढ्य मान्छेले मात्र गाडी चढ्छन् । दुईचार पर्सेन्टसँग मात्र गाडी होला । यहाँ त ?’

उसले अचम्म मान्दै प्रतिप्रश्न गर्यो– ‘वाओ, एमेजिङ । नेपालमा गाडीबिना पनि मान्छे कसरी सर्भाइभ गर्न सक्छ ? ।’

        ५) कसको दोष ?

ग्रेटर अस्टिन सोसाइटीले गरेको कार्यक्रममा राधासँग चिनाजानी भयो । विदेशको ठाउँमा साँच्चि हामी दाजुबहिनीको साइनोले सम्बोधित भयौँ । नेपाली समाज कन्डापछाडि उनलाई वाइफाले भन्ने गर्थे । मैले एकदिन राधालाई उनका बारेमा सोधेँ ।

उनले रोकीरोकी भन्न थालिन्–‘भन्छन् दाजु, यो नेपाली समाजको कुरौटे विशेषता हो । मेरो घर काठमाडौँको गुर्जुधारामा थियो । दुई छोरा थिए । श्रीमान् पियक्कड र वेश्यागामी थिए । म विद्रोह त बोल्थेँ तर प्रताडनामा बाँच्न विवश थिएँ । नेपाली समाजलाई यो स्वाभाविक लाग्थ्यो । म सहन बाध्य पारिन्थेँ । गरिबी यति बढ्यो कि म अमेरिका छिरेँ । शरीर बेचेँ । किनकि मसँग बिक्री हुने त्यही जिनिस थियो । मान्छे किन्न तयार थिए । त्यसैबाट ग्रिनकार्ड लिएँ । नेपालमा परिवार पालेँ । श्रीमान् र छोराहरुलार्ई अमेरिका बोलाएँ ।’

त्यसपछि एकछिन सुस्ताइन् र फेरि भन्न थालिन् – ‘नेपाली समाजले मेरा श्रीमान्लाई कुरा लाइदियो । श्रीमान्ले रक्सी खाएर आएर मलाई वेश्या भने । अनि मैले श्रीमान्लाई भनेँ कि तपाईँ सतपत्रे बिटुलिँदा मैले खेपेकी छु । अहिले म बिटुलिएकी छु । यो सत्य खप्न सक्नु हुन्छ ?’

परिणाम उसले डिभोर्स गर्यो । काली लिएर हिँड्यो । कालीले सडकमा ल्याइदिई । ड्रग्समा लाग्यो । माग्ने भयो ।र सडकमै मर्यो । अहिले पनि महिला समानता खोज्ने नेपाली समाज मलाई भन्दै छ– लोग्ने छोड्वी वाइफाले ।’

प्रकाशित: २० चैत्र २०७७ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App