२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भोक

लघुकथा

     १) बेरोजगारी

 उसले वाणिज्य विषयमा स्नातक गरेर पनि जागिर पाउन सकेको थिएन । रोजगारीको विज्ञापन छ कि भनी विभिन्न पत्र–पत्रिकाहरूमा सधैँ आँखा डुलाउँथ्यो । एकदिन रोचक विज्ञापन देख्यो । त्यसमा पचास जना मार्केटिङ अधिकृत मागेको थियो । आवश्यक न्यूनतम योग्यता कम्तीमा प्रवेशिका उत्तीर्ण, स्नातक तथा स्नातकोत्तरलाई ग्राह्यता रे । उसले एकदुई जना मागेको ठाउँमा त आफ्नै मान्छे राख्छन् भनेर आवेदनै दिएन । त्यहाँचाहिँ रु एक हजार परीक्षा दस्तुर भए पनि तिरेर आवेदन बुझायो।

तोकिएको दिनमा परीक्षा दियो । पाँच हजार जनाले आवेदन फर्म भरेकामध्ये तीन हजारले लिखित जाँच दिएका थिए । परीक्षामा सामान्य प्रश्नहरू सोधिएका हुनाले उसले सबै मिलायो । तीन महिनापछि नतिजा निकाल्यो । ऊ पनि पास भयो । पहिलोपल्ट लिखित परीक्षामा नाम निस्कँदा उसलाई जागिर पाएको जस्तै खुसी लागेको थियो।

अर्को महिनाको अन्तिम शनिवार अन्तर्वार्ता तोकिएको थियो । उसले अन्तर्वार्ता पनि दियो । त्यहाँ सोधिएका सबै प्रश्नहरूको जवाफ मिलायो । उसलाई पास हुन्छु भन्ने कुरामा विश्वास भयो । स्वदेशमै काम गरेर खाने मौका जुर्न लागेकोमा हर्षित भयो । अन्तर्वार्ताको नतिजा तीन महिनापछि कान्तिपुरमा आउँछ भनिएको थियो । उसले नबिराईकन कान्तिपुर हे¥यो । दशैँतिहार समेत गरेर नौ महिना बित्यो । तर नतिजा छापिएन । त्यसैले दशौं  महिनाको एकदिन ऊ त्यस अफिसमै बुझ्न गयो । पुतलीसडकको एउटा गल्लीभित्र रहेको अफिसको ढोका अगाडि उभियो । त्यस अफिसमा त मम पसल पो खुलेको रहेछ । मास्तिर हे¥यो । अफिसको बोर्ड पनि झुन्डेको थिएन ।  वरपर कतै सरेको छ कि भनी पसलेलाई सोध्यो । पसलेले भन्यो — “खोई हजुर, हामी आउँदा त यो कोठा रित्तै थियो । सबै भन्छन् त्यो अफिस खोल्ने मान्छे त पचासौ लाख कुम्ल्याएर विदेशियो रे ।”

    २) परिवर्तन

“यो चोकमा यस्ता राष्ट्रद्रोही कविको सालिक राख्ने हो ? यहाँ त राष्ट्रनिर्माताकोे सालिक पो राख्नुपर्छ ।”  यस्तैयस्तै वाक्यहरू बोल्दै देश बनाउँछु भन्ने एक जना नेताले देशको राष्ट्रिय निधिको सालिक गल्र्याम्म ढालिदिए । उनी उल्लेख्य दलबलसहित त्यहाँ उभिएका थिए । उनको हर्कत देखेर केही असल मानिसहरूले मधुरो आवाजमा प्रश्न गरे —  

  “किन नेताज्यू ? यी राष्ट्रिय कविज्यूको सालिक किन भत्काएको ?”  

ती मानिसहरूको सातो जाने गरी नेता कड्किए — “यसले नेपाली भाषामा मात्रै साहित्य लेखेर देशको सयौ मातृभाषालाई पछाडि पारिदियो । यसलाई यस्तो सार्वजनिक ठाउँमा सालिक भएर ठडिन मन थियो त सबै भाषामा लेख्नु पर्थेन ?”

नेता कड्किएपछि सबै हच्किए । उनको विरुद्घमा आवाज निकाल्ने हिम्मत कसैले गरेन । स्थिति केही शान्त भएपछि एक जनाले बादलले ढाकेकोजस्तो कालो मुख बनाएर सोध्यो —  

“त्यसो भए यहाँ अब कसको सालिक राख्ने त नेताज्यू ?”  

नेताले पुनः कड्किएरै जवाफ दिए —“अब यहाँ राष्ट्रिय व्यक्तिको सालिक राखिने छ । जसले सबै भाषा, धमर्, जात–जातिको उत्थानका लागि काम गरेको छ; त्यसैको सालिक राखिने छ ।”

 “नामचाहिँ के होला त्यो व्यक्तिको नेताज्यू ?” त्यो मान्छे डराईडराई फेरि बोल्यो ।  

 “यति भनेसी नि बुझ्दैनौ ? यो मुलुकमा मैलेजस्तो सबैलाई समतामूलक हेरचाह कसले गरेको छ ? अब यहाँ सालिक मेरो बन्छ, मेरो ।”  

यति भन्दै दलबलसहित नेता लमकलमक लम्किए । मानौँ, उनलाई अर्को कविको सालिक भत्काउन हतार भएको छ । वास्तवमा उनी भत्काएकै भरमा नेता भएका थिए । कमजोर वर्गको हित गरेजस्तो गरी, तिनीहरूकै पसिना खान पल्किएका थिए ।  

नेता गएपछि असल मानिसहरू आपसमा कुरा गर्न थाले — “भत्काएर परिवर्तन हुने भए त किन बनाइरहनुपथ्र्यो र ?”  

     ३) कल्पनाको कविता

कविजी झिसमिसेमै उठे । आँखा मिच्दै भने — “आहा सपना त निकै राम्रो देखेछु । यसको राम्रो कविता लेख्नुपर्ला ।”

नित्यकर्म सकियो । उनी बिहानीको ताजा हावा खान हिडेँ । बाटोमा हिँड्दाहिँड्दै उनले बिहानीपखको रमणीय दृश्यहरू देखेर मनमनै भने — आहा  

कति सुन्दर दृश्य ! यी सबैको आज कविता कोर्छु।

घर फर्किए । काममा जान ढिलो हुँदैथ्यो । फटाफट भात खाएर हतार–हतार गर्दै कार्यालय हिँडे । बसमा चढ्दा पनि मनमनै भने — “यो हतार जीवनको बारेमा पनि भरे बेलुका कविता लेख्छु ।”  

  कार्यालयबाट बेलुका सात बजे उनी घर फर्किए । हातखुट्टा धोइधाई गरेर पत्रिका पढी नसक्दै आठ बज्यो । खाना खान श्रीमतीले बोलाइन् । टन्न खाए । त्यसपछि टिभीमा समाचार हेर्न बसे । श्रीमतीले धन्दा सकेर सुत्न कोठामा गइन् । नौ बजिसकेको थियो । त्यसपछि श्रीमतीको आवाज आयो — “सुत्ने होइन ?”  

 उनी हाई गर्दै उठेर गए, श्रीमतीसँग गुजिल्टिन अनि खाटमा लम्पसार परेर सिलिङतिर हेरेर कल्पना गरे —कत्ति कविता लेख्नुपर्ने थियो । आजलाई त्यसै भयो । अब भोलि लेख्नुपर्ला।

यसैगरी कल्पनामा मात्रै कविता लेखेर कविजीका दिनहरू धेरै बिते ।

    ४) छवि अनुसारको सोच  

   “कंशलाई एड्स लाग्यो रे !”  

  यो अपुष्ट भनाइ कता हो कताबाट सुरु भएर धूवाँको   मुस्लोझैं फैलियो । झन् पत्रपत्रिकामा छापिएर इमेल इन्टरनेटमा समेत मान्छेहरूले यही विषयलाई स्ट्याटस बनाएर लेखेपछि त एक मिनेटमै संसारभरि फैलियो।

तमाम मान्छेहरूको प्रतिनिधि आवाजले यो विषयलाई यस्तो भन्यो —त्यस्तो खराब सङ्गतको मान्छेलाई एड्स लाग्नु कुन नौलो कुरो भो र ? त्यसलाई त लाग्नै पथ्र्यो । अझ एड्सभन्दा नि भयानक रोग लागेर पहिल्यै मर्नुपथ्र्यो, त्यो त !

“कृष्णलाई पनि एड्स लाग्यो रे ।”  

   यो अर्को अपुष्ट भनाइ पनि अनजान स्रोतबाट सुरु भएर पहिलेझैँ एकै मिनेटमा संसारभरि फैलियो । आम मान्छेहरू आश्चर्यचकित भए । भेटघाटमा पनि त्यही कुरा गर्न थाले । फेसबुकमा त झन् कुरै भएन।

पहिलेजस्तै तिनै मान्छेहरूको प्रतिनिधि आवाजले यो विषयलाई चाहिँ यस्तो भन्यो —कृष्ण त्यस्तो हो र ? संसारै उस्तै ! दुष्टको साम्राज्यमा देवता कसरी टिकून् ! मान्छेहरू सद्दे भइदिएको भए त उनलाई यो रोग सर्ने नै थिएन नि !  

       ५) भोक

 ‘‘दशा मन्छिएको सामान केही पनि लिनु हुन्न है । दशा सर्छ । दोबाटोमा कालो भाले पनि मन्छिनुपर्छ । त्यसको मासु पनि नखानू । त्यो भाले मैले लिएर गएँ भने मात्रै यहाँ बिरामीको भलो हुने साइत  छ ।’’

झाँक्रीले परिवारका सबैलाई सम्झाउँदै थियो । हिजोदेखि खान नपाएर भोकले छट्पटिएको पाँच वर्षीय वीरेले भन्यो —बा, भोक लाग्यो । पाँच  रुपियाँ देऊ न । म बम किनी खान्छु।

उसको आग्रहको उत्तर दिँदै आमाले बोली —बाबु पख् न । तेरो बाको देखिनस्, झाँक्री बाले दशा उतार्दै छन् । यही दशाले गर्दा एक पैसा छैन । पाँच रुपियाँ काँ पाउनु ?

हुन त भोक उसकी आमाले पनि खपी राखेकी थिई । कमाउने पोइ बिरामी भएपछि घरमा हरिकङ्गाल लागेको थियो । ऋण गरेर पोइलाई उपचार गराउन झाँक्री ल्याएकी थिई ।

झाँक्रीले धूपबत्ती बालेर दुनामा बेसार, खरानी र चामल मोलेर राख्यो । त्यसमा एकएकको डबल पाँचवटा हाल्यो । अनि त्यो दुनो वीरेको बाउको टाउकोमा तीन फन्का घुमाएर भन्यो —लौ बाबु, यो दुनोको बत्ती ननिभाईकन दोबाटोमा लगेर राखिदेऊ त ! यो दशा मन्सेको पैसा हो । नलिऊ नि बाबु ! दशा सर्छ।

वीरेले नबोलीकनै टाउको हल्लाएर हुन्छ भन्यो । उसले त्यो दुनो समाएर हिँड्यो । घरबाट अलिपर पुगेपछि दुनोको बत्ती निभ्यो । उसले कतै नि नहेरी छिटोछिटो दुनो लगेर दोबाटोमा पु¥यायो । पल्याकपुलुक हेरेर दुनोको पैसा हातमा लियो । अनि खुर्र  दौडेर पसलमा गई बम किनेर खायो।

(‘देशको खोजी’ लघुकथा सङ्ग्रहमा सङ्गृहीत !)    

प्रकाशित: २० चैत्र २०७७ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App