१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

रुझेका आँखा

लघुकथा

विष्णुमायाले गर्भे टुहुरो छोरो हुर्काइन् । बाबु बितेको चार महिनापछि हरिलाल जन्मेका थिए। छोरो हुर्काउँदा विष्णुमाया सुकुम्बासी भएकी थिइन् । सम्पत्तिको नाममा छोरोबाहेक उनीसँग केही थिएन।

हरिलालले नेपालीमा विद्यावारिधि गरे। उनले डा.हरिलाल लेख्न थाले। उनलाई डा. उपाधि गुथाउन उनकी आमाले कति पापड बेल्नुपर्यो त्यो त हरिलाललाई पनि थाहा थिएन।  

हिजोआज गाउँघर जताततै विष्णुमायाको गुणगान नगाउने मान्छे भेटिन्नन् । उनी पनि प्रफुल्ल छिन् । विगतलाई कोट्याएर दुःखी हुन पटक्कै चाहन्नन् ।

समयसँगै हिँड्न सकिन विष्णुमाया । छोराको बिहे गर्न चारैतिर कन्या खोजिन् । देखेर हुँदैन लेखेको चाहिन्छ भन्छन् हो रहेछ।

हरिलालको विवाह भयो । हरिलाल कलेजमा पढाउँथे भने फुर्सदमा यसो पुरेत्याइँ पनि गर्थे। सबैले उनलाई ठुलो विद्वान मान्थे।

बुढेसकालमा बुहारी पढाएर के दुःख बेसाएको होला भन्थे गाउँले। तर, उनले कसैको कुरा सुनिनन् । तिललाई पहाड बनाएर एक दिन सासूबुहारीको भनाभन भएछ ।

सानी नानीको पो निहुँ रहेछ भन्थे छरछिमेकीले।

हरिलाललाई आमाको कुरा जहर हुन थाल्यो । दुलहीका कुरा सुनेर बेलाबेला आगो हुन्थ्यो । चित्त नबुझे आमा पनि किन पानी हुन्थिन् र । स्वर्ग बनाउन पो समय लाग्दो रहेछ । नर्क हुन त केहीबेर नै नलाग्ने।

साँझमा विष्णुमायाको गेटमा एउटा ट्याक्टर आएर अडियो । छिनभरमै सरसामान भरेर हरिलालका परिवार घर छोडेर हिँडे । हरिलालले आमालाई गयौँ पनि भनेनन्। विष्णुमाया रुझेका आँखाले ट्याक्टर गएको बाटो देखुन्जेल हेरिरहिन् ।उनका आँखा कहिल्यै ओभाएनन् ।

प्रकाशित: १६ चैत्र २०७७ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App