मिलनकान्छा किराती
म देश हुँ
के शहर के गाउँ ?
जहाँ चोट लगाउ
दुख्छ, एकै ठाउँ।
मेरो छाती, पहाड
मेरो शिर, हिमाल
मेरो गोडा, तराई
मेरो शरीर, नेपाल
यहाँ,
शिर उडाउ
अथवा,
छाती छेड
अथवा,
गोडा काट
तर,
दुख्छ, मलाई ।
ए कति गर्न सक्छौ अत्याचार ?
सक्दो गर ।
यो पृथ्वी उचाल्न सक्छौ भने
त्यो आकाश उप्काउन सक्छौ भने
त्यो चन्द्रमा टपक्क टिपेर सुन्तलाजस्तै
कोया–कोया चबाउन सक्छौ भने
टेक, मेरो शिर
कुल्च, मेरो छाती
भाँच, मेरो गोडा
तिम्रो वीरता र वैभवको
एउटा इतिहास लेख्नेछु ।
नत्र,
म देश हुँ
के शहर के गाउँ ?
जहाँ चोट लगाउ
दुख्छ, एकैठाउँ ।
प्रकाशित: १६ फाल्गुन २०७७ ०५:२२ आइतबार