२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

यान्त्रिक जीवन

कथा

म आज सोचिरहेकी छु । उदास पनि छु । भाग्यलाई दोष दिन्छु । चित्त बुझाउँछु । यो नियति हो । खोई कहाँ कोसँग म गुनासो गरूँ ! कोसँग विद्रोह गरूँ !  कोसँग अधिकार मागूँ ! मेरो चिराचिरा भएको हृदय म कसलाई देखाऊँ ! को हेर्न तयार छ ! को बुझ्न तयार छ !

मैले कपडा मिलमा काम थालेको पनि वर्षौँ भएको छ । मिलमा हुन्छु । कर्कश र सम्वेदनाहीन यन्त्रको आवाजले ग्रसित हुन्छु । कानका जाली फुट्नै लागेको हुन्छ । लाग्छ, अहिले नै त्यो यन्त्र बन्द गरिदिऊँ । त्यसको कर्कश ध्वनिबाट मुक्ति पाऊँ । तर, उफ त्यो बन्द भयो भने मेरो गुजारा बन्द हुन्छ । मेरो संसार सकिन्छ ।

घर आउँछु र उही यन्त्रवत जीवन छ । यो जीवन उसैगरी कराउँछ । गुलाबका फूलहरू फुलेका छन् । तर, यो यन्त्रलाई के गुलाब, के जाई  र  के जुही !

उफ यो कर्कश जीवनबाट मुक्त हुन पाए कस्तो हुन्थ्यो होला ! यन्त्र छोडेर गुलाबमा रमाउन पाए कस्तो हुन्थ्यो होला !  

आकाशका तारा हेरेर हाँस्न पाए कस्तो हुन्थ्यो होला ! जुनेली रातमा एउटा असल लोग्नेको मायालु स्पर्श पाए कस्तो हुन्थ्यो होला ! यो यन्त्रबाट मुक्ति पाए के हुन्थ्यो होला !

होइन यो मुक्ति अकाल हुनसक्छ मेरा लागि । असामयिक हुन सक्छ मेरा लागि । यही कर्कश यन्त्रवत् जीवनले पालेको छ मलाई । छोराछोरीलाई हेरेकी छु । एउटा जब्बर आश पलाएको छ  र पनि मलाई थाहा छ, यो आश मिथ्या हो । यो अवैज्ञानिक हो । त्यसैले मैले भूतभूतमै बाँच्नुपर्छ । रमाउनुपर्छ ।

बिस वर्षअघि म आइए प्रथम वर्षमा पढ्दै थिएँ । सायद सुधी थिएँ । गोरी थिएँ । अग्ली थिएँ । पातली थिएँ ।  राम्री थिएँ । अलमस्त थिएँ । पढैया थिएँ । उमेरको करामत थियो होला । मलाई मेरा घरका आँखीझ्यालबाट देखिने जुनेली रात मन पर्न थालेको थियो । शून्य रातले मेरो निद अधकल्चो बनाउन थालेको थियो।

सरले पढाइरहनुभएको हुन्थ्यो । म सरतिरै ध्यान दिइरहेकी हुन्थेँ । अनायास केटा बस्ने पल्लो हारतिर मेरा आँखा पुगका थिए । एउटा केटो मलाई नै हेरिरहेको थियो । ऊ बोल्ने होइन । पिछा लाग्ने पनि होइन । अनापसनाप पनि भन्ने होइन । बाटो कुरेर बस्ने पनि होइन । तर जब ऊ कक्षामा हुन्थ्यो, ऊ मलाई नै हेरिरहन्थ्यो । मलाई उसको यो बानी देखेर अचम्म पनि लाग्थ्यो – के खालको केटो होला ! रिस पनि उठ्थ्यो । हाँस पनि उठ्थ्यो । मन पनि पर्थ्यो । 

एक दिन ऊ क्याम्पस आएन । मैले उसको बेन्चतिर निकैपल्ट हेरेँ । मलाई छटपटी लाग्न थालेको थियो । ऊ किन आएन !  कहीँ कलेज फेर्यो कि वा सन्चो पो भएन कि ! दुर्घटनामा पो पर्यो कि  वा उसको गाउँ पो गयो कि ! उसको गाउँ कहाँ होला !  केही हराएजस्तो, केही गुमाएजस्तो मेरो मन एकतमासको भयो।

सात दिनपछि ऊ आयो । दुब्लाएको थियो । रीतासँग उसले नोट मागेथ्यो ।

ऊ गयो । मसँग बोलेन । ऊ गएपछि मैले रीतालाई सोधेकी थिएँ– किन नदिएकी नोट, बिचरालाई ?’

रीताले मलाई जवाफ दिएकी थिई– ‘माया लाग्यो भने तँ दे न। तर, बुझ यी केटाहरू औँलो दिइस् भने डुँडुलो माग्छन् । लाट लाग्नै नदियो । टन्टा खलास्।  एकदिन उसले मसँग परिचय गरेथ्यो– ‘म विवेक । विवेक न्यौपाने । भोजपुरबाट। ’  

हाम्रो औपचारिक चिनजान भयो । ऊ असल साथी भयो । हामीले नोटकपी साट्यौँ । कुरा साट्यौ । माया साट्यौँ । भावना साट्यौँ । धुकधुकी साट्यौँ । उच्छवास साट्यौँ । हामीले एकअर्कालाई मन पराएछौँ । छुट्टिन नसक्ने भएछौँ । हामी जीवनको एउटा गल्छेंडो उक्लिन तम्तयार भएछौँ ।

आइए दोस्रो वर्षको परीक्षा सकिनेबित्तिकै उसले मलाई माग्न आउने कुरा गरेको थियो । जात थर, गोत्र र परिवारिक स्थिति मिल्थ्यो । तर म वैष्णव थिएँ । मेरो परिवेश वैष्णव थियो । 

ऊ मांसाहारी थियो । उसको परिवेश मांसाहारी थियो । तर ऊ वैष्णवमा रूपान्तरण भएरै माग्न आउने भनी हिँडेको थियो । म बाटो हेरिरहेकी थिएँ । ऊ आउने गल्ली गल्छेंडो कुरिरहेकी थिएँ । दिन बित्यो । ऊ आएन ।

राति मैले सोचेँ । आ होस् बरु, मेरो प्रेमका लागि म नै वैष्णव छोडिदिन्छु । उसलाई वैष्णव हुन गाह्रो भयो होला । म उसलाई भनिदिन्छु । म नै सम्झौता गर्छु । म नै विद्रोह गर्छु।

तर ऊ आएन । हप्ता दिन भो, आएन । महिना दिन भो, आएन । वर्ष दिन भो, आएन । ऊ आउँदै आएन । न खोज न खबर । न चिठी न पत्र । उफ, ऊ आएन । तर म कोसीपारिको डाँडापारि हेर्थेँ । ऊ त्यहीँ बाटो आउँथ्यो सधैँ । चारकोसे झाडीका बुट्यानहरूले हल्लीहल्ली मलाई नै गिज्याएजस्तो लाग्थ्यो । 

रीतासँग एकदिन चतरा बजारमा भेट भयो । उसले भनेकी थिई– ‘बुझिस् रुजा, तेरो च्याँसेले त बिहे गरेछ ।’ 

मेरो आकाश खसेको थियो । खुसी मारिएको थियो । विश्वासले मुर्छा खाएको थियो । प्रेम रोएको थियो । कोसीका कन्द्राकन्द्रामा पुग्ने गरी रोएकी थिएँ । उदाश हुँदै घर पुगेकी थिएँ । आमालाई गम्लङ्ङ अँगालो हालेकी थिएँ  र भनेकी थिएँ– आमा विवेक त अविवेकी भएछ । स्वार्थी भएछ । पापी भएछ । धोकेवाज भएछ । उसले बिहे गरेछ आमा ।’

म रोइरहेकी थिएँ । आमाको अनुहारमा भनेँ मैले खुसी देखेँ । आभा देखेँ । कुनै पीडा थिएन । तर पनि आमा मेरो केशराशि खेलाउँदै भन्दै हुनुहुन्थ्यो– ‘यी मांसाहारीको विश्वास हुन्न छोरी । ती माया छोड्न सक्छन् । बाबुआमा छोड्न सक्छन् । समाज छोड्न सक्छन् तर चोक्टा छोड्न सक्तैनन् ।’

म एकोहोरो सुनिरहेकी थिएँ । रोइरहेकी थिएँ।

समय न हो । आमाबुवाले एउटा वैष्णव केटो उभ्याउनुभयो । यसो हेरेँ । त्यो मान्छे विवेक जति राम्रो थिएन । ह्यान्डसम पनि थिएन । उसलाई उसकी श्रीमतीले एकवर्षमै छोडेकी थिई रे । खोई किन छोडी होली त्यसले । मलाई थाहा थिएन । मसँग ‘च्वाइस’ पनि थिएन । खोई कस्तो अनुहार होला त्यो मान्छेको । कहीँ कतै मिलेको थिएन । तर, म बाबुआमाले खोजेको वैष्णव केटोलाई नाइँ भन्न सक्ने परिस्थितिमा थिइनँ । बिहे हुनु थियो । भयो ।

आज मेरो बिहे भएको १८ वर्ष पुगेछ । सत्र वर्षको छोरो, १५ वर्षकी छोरी र म केकको अगाडि बसिरहेका छौँ । मेरा श्रीमान आउनु भएको छैन । उहाँको बानी नै त्यस्तै छ । उहाँमा न कुनै सम्वेदना छ न मायाको कुनै रूप छ । मैले यो जीवनका १८ वर्ष फोस्रिएर बिताएकी छु । उच्छवासहरूलाई तिलान्जली दिएकी छु । रहरहरूलाई मारेकी छु ।  

उहाँ सोझै भन्ने गर्नुहुन्छ– म यो लोलोपोतो जान्दिनँ । कमाएकै छु । ख्वाएकै छु । मलाई यो लोग्ने स्वास्नी लठारिएर हिँडको मन पर्दैन ।’

उहाँ आउनुभयो । केकको औपचारिकता पूरा भयो । उहाँले खाना खानुभयो । सुत्नुभयो । हेर्दाहेर्दै घुर्न थाल्नुभयो । आज उन्नाइसौँ सुहागरात हो भन्छन् मान्छे । हरेक विवाहोत्सवको रात सुहागरात  ठान्छन् मान्छे । म उहाँ सुत्ने ओछ्यानमा पुगेकी थिएँ । उही सामान्य ‘चार्मलेस’ सहवास । उही रोमान्चबिनाको जीवन । उही अलगअलग सुताइ । यन्त्रवत् । खोई किन हो उहाँमा उच्छवास छैन । रमाइलो नामको कुनै कुरै छैन । कर्कश यन्त्रजस्तो । सायद उहाँ सोच्नुहुन्छ होला । उहाँलाई त्यस्तै लाग्छ होला । बिहे गरेर मलाई ल्याउनु भनेको भान्से ल्याएको होला  र उहाँलाई चाहिएको बेला मैले तयार हुनुपर्ने होला । मेरो आफ्नो इच्छा बुझ्नु उहाँको लागि सायद स्वास्नीकै मुतमा डुब्नु होला । सायद उहाँको सामन्ती दम्भ उचालिएको होला।

मलाई अचेल त स्वाभाविक लाग्न थालेको छ । यो यन्त्रवत जीवन । यो हिसाब गरेर चलेको जीवन । नाफा घाटा सोचेर चलेको जीवन । मायामा त कहाँ दुईमा दुई जोड्दा चार हुन्छ र ? मायाले बाँचेको जीवनमा कहाँ नाफाघाटा हेरिन्छ र ? यन्त्रले के माया गर्ला र ? बरु यन्त्रलाई एकनासले सुमरेकी छु । पुछेकी छु । ऊ भोकाउँछ, म खुवाउँछु । ऊ तिर्खाउँछ, म पिलाउँछु  र सधै एकनासले यन्त्रकै तालमा यन्त्रजस्तै भएकी छु । यसरी म आफैँ यन्त्र भएकी छु।

रातको ९ बजेको हुँदो हो । म फेसबुक चलाएर जीवनका अँध्यारा गल्लीहरूमा पनि रमिरहेकी थिएँ । एउटा रिक्वेस्ट आयो । ऊ विवेक रहेछ । खुसी पनि लाग्यो । डर पनि लाग्यो । जिज्ञासा पनि लाग्यो । रहर पनि लाग्यो । कुतूहलता पनि लाग्यो । उसलाई एसेप्ट गरेँ । फोन हुन थाल्यो । ऊ मेरो शहर आयो । ऊ मेरो रहर आयो । ऊ मेरो माया बोकेर आयो । भेट भयो ।

चतराको कोसी किनारको चाक्लो ढुंगामा हामी बसेका थियौँ । ऊ मेरो काखमा मुन्टो राखेर रुन थाल्यो । बिलौना गर्न थाल्यो–

‘रुजा, मैले तिमीलाई धोका दिएँ । तिमीलाई छलेर भागेँ । म पापी हुँ । मलाई माफ गर । मैले मेरै जीवनलाई नर्क  बनाएँ । मेरो एउटा १६ वर्षको छोरा छ, अर्को १३ को । श्रीमती मलाई छोडेर हिँडिन् । पारपाचुके नै गरेर हिँडिन् । मैले उनलाई माया गर्न सकिनँ रे । म कर्कश भएँ रे । मैले उनलाई भोगको साधन मात्रै बनाएँ रे । म फेरि एक्लो भएको छु । फेरि बेसहारा भएको छु । छोराहरूको दायित्वले थिचिएको छु ।’

उसका रुवाइहरूले म पनि पग्लेकी छु । म पनि रुँदै छु । उसले मलाई अँगालो हाल्यो । मैले उसलाई अँगालो हालेँ । रुँदारुँदा हाम्रा आँसु निख्रिए क्यार । कोसीपारि झ्याउँकिरी कराउन थालेका थिए । बाटोभरि गोधूलि छरिएका थिए । हामी आआफ्ना घरतर्फ लाग्न थाल्यौँ । ऊ मलाई अनुरोध गर्न थाल्यो–‘रुजा, म तिमीलाई अझै माया गर्छु । के तिमी मेरो मायामा विश्वास गर्न सक्छौ ? तिमी आऊ, मसँग आऊ । छोरा छोरीसहित आऊ, एउटा सुन्दर संसारको निर्माण गरौँ ।’

‘माया र बिहे अलग कुरा हुन् विवेक । माया मैले तिमीसँग गरेकी छु । तिमीले धोका दिएर हिँडदा पनि मैले माया गरेकै थिएँ । मुटु चर्किएर चर्चरी हुँदा पनि माया गरेकै थिएँ । जीवनको यो सत्रअठार वर्ष त तिमीलाई माया गर्दै बित्यो । म तिमीलाई जीवनभर माया गरि नै रहनेछु । तर बिहे ? त्यो त मैले मेरो लोग्नेसँग गरेकी छु । यो तिम्रो प्रस्ताव अठार वर्षअघिको खोलामा बगेको पानी फर्काउने जस्तै हो । त्यो केही गरे, कसै गरे फर्कन्न । किनकि पानीका कैयौँ जुनी फेरिइसकेका छन् ।’

–तिमीबिना म मर्छु रुजा ।

‘तिमी मबिना पनि मर्छौ । म भए पनि मर्छौ । मर्नु हाम्रो नियति हो । म तिमीसँग कुनै मूल्यमा पनि बिहे गर्न सक्दिनँ । बरु तिमी मेरो मायाको परीक्षा लिन्छौ भनेँ, तिमी भन म यही चतराको कोसीको पुलबाट अहिल्यै हामफालेर मर्छु र अर्को जन्ममा तिम्रो हुने कसम खान्छु ।’

मेरो उत्तर सुनेर विवेक चकित भयो । सायद उसले यस्तो उत्तर सोचेको थिएन होला । ऊ निरुद्धेश्य बराहक्षेत्रको कच्ची बाटोतर्फ हेरिरहेको थियो । यो उसको पहाड घर जाने बाटो थियो।

 हामी फटाफट हिँडिरहेका थियौँ । उसले फेरि मलाई भन्यो– ठिक छ, मेरो एउटा कुरा मान न त ।’

मैले भनेँ–मान्न हुने कुरा भए मान्छु।

‘म तिम्रो शहरमा बसाइँ सर्छु । यतै व्यवसाय गर्छु । म बिहे पनि गर्दिनँ । तिम्रो घर पनि बिगार्दिनँ । मेरा छोरा छँदैछन् । मलाई कहिलेकाहीँ हप्तामा सहवास गर्न देऊ ।’

‘बरु म कोसीमा अहिल्यै हामफाल्न तयार छु । किनकि म एकपल्ट मर्छु । मर्नु त छँदैछ । तर यो पटकपटक मर्न म तयार छुइनँ । बरु मान्छौ भने तिमी अर्को बिहे गर । स्वास्नीमानिसले पो त...!’

आजै को त कुरा हो । कपडा मिलबाट काम सकेर रमिलाको आग्रहमा उसको घर गएकी थिएँ । ऊ अति रमाइली छे । उन्मुक्त हाँस्छे । मान्छे भेट्नै हुन्न । ऊ आफ्नो कथा सुनाउन थालिहाल्छे । उसका रमाइला पनि कति हो कति । उसले भन्न थाली–  

–हेर्न रुजा, कलेज पढ्दा शेखरसँग भागेर फिल्म हेरेको कुरा अहिले सम्झँदा कस्तो मजा लाग्छ ।

म सुनिनै रहेकी थिएँ । ऊ भन्दै थिई–

–जात नमिले पनि मैले शेखरसँगै बिहे गरेँ । अनि नि रुजा यो शेखर त मलाई माया गरेरै थाक्दैन हौ अहिले पनि । अहो ओछ्यानमा पुग्नै हुन्न, ऊ कस्तो छ भनेँ, भो भन्दिनँ ।

म सटासट घर आएकी थिएँ । बाटैमा रीताले मलाई सुनाई–तेरो च्याँसेले त फेरि बिहे गरेछ ।

खानापछि म सुत्ने कोठामा छु । आज कोठाको बत्ती गएको छ । छोराछोरी आफ्ना कोठामा सुतेका होलान् । श्रीमान् पल्लो खाटमा सुत्नुभएको छ । घुरेको आवाज कोठाभरि फिँजिएको छ । मेरा आँखाबाट निद्रा हराएको छ।

विवेक आँखामा आएको छ । अहो उसले बिहे गरेछ । मैले नै विवेकलाई बिहे गर्ने सल्लाह दिएकी थिएँ । तर खोई मनभित्र किन यति धेरै आँधी चलेको होला । मलाई लागिरहेको छ । अब विवेक पनि मबाट टाढिएको छ ।  मेरो प्रेम टाढिएको छ ।  

दायित्व आएको छ । छोराछोरी आएका छन् । उहाँ आउनुभएको छ । म भने सोच्दैछु । मैले के पाएँ जीवनमा ? प्रेमलाई दागबत्ती दिन म अभिशप्त भएकी छु । एउटा शुष्क जीवन छ मसँग । न प्रेम छ । न यौन छ । न रमाइलो छ । खालि अविश्वास छ । किन यस्तो भयो हँ मसँग?

मान्छे फेरि मलाई नै भनिरहेका छन् । समाज पनि यन्त्रजस्तै सधैँ यही कुरा भन्छ । म अभिशप्त सुन्न बाध्य छु । हाँस्न बाध्य छु ।  

–रुजा भाग्यमानी छे । काँक्राका चिराजस्ता छोराछोरी छन् । पढुवा छन् । ज्ञानी छन् । जागिर छ । रोजा लोग्ने छ ।

मैले कठोर परिस्थितिमा पनि जोगाएर राखेको मेरो स्वः छ । उहाँले एकदिन भन्नुभयो–मिलको मेनेजरसँग लठारिएर हिँड्छेस् रे । मस्किन्छेस् रे । गाला जोडेर फोटो खिच्छेस् रे । बरु जा त्यहीसित ।

म रोइरहेँ । म मेरो फुटेको कर्मसँग कराइरहेँ । बिलौना गरिरहेँ । मैले उहाँलाई भनेँ । धेरै कुरा भनेँ । आफ्नो पवित्र स्वःको बारेमा छोराछोरी भाकेर किरिया खाएँ । कसम खाएँ । तर, उहाँले मलाई मेनेजरसँग बात लगाइरहनुभयो । पटकपटकको छेडखानले म मर्माहित भएकी छु । अहिले लाग्दै छ मैले कस्का  लागि जोगाएको होला ? मेरो प्रेमको प्रतिक विवेकलाई तिरस्कार गरेँ मेरो स्वःका लागि । मेरो भर्जिन स्वःको मालिकले नै मेरो सतित्वमाथि शंका गरेपछि म के गरूँ ? मैले लाख कोसिस गर्दा पनि उहाँको मप्रतिको आक्षेपमा कमी आएन । म छोडेर हिँड्न सक्तिनथेँ।

मैले मैनेजरसँग नै बिटुलिएर विद्रोह गर्ने विचार गरेँ । तर, त्यो मेनेजर कति कट्टर रहेछ भनेँ उसले मेरो यौन आमन्त्रणको कुरालाई ठाडै इन्कार गर्यो । मैले धेरैपल्ट सुनेका अर्ती उपदेश पो दिन थाल्यो । कायर रहेछ त्यो मैनेजर । मैले सिकार खोजिरहेँ । ममा विद्रोहको ज्वाला दन्किरह्यो । मैले मिलभरिका लोग्नेमान्छेमा आँखा लगाएँ । प्रोडक्सन शाखा प्रमुखमा मेरो आँखा पुग्यो । ऊ कालोकालो थियो । अग्लो थियो । सेक्सी देखिन्थ्यो । मैले उसलाई लिफ्ट दिन थालेँ । सँगै खाजा खान थाल्यौँ । ऊ पटियो ।   उसले मलाई धरानको होटलमा पुर्यायो  र त्यो आनन्द । यस्तो पो हुँदोरहेछ आनन्द । याने कि यौनानन्द । 

मेरा दिमागभरि कर्कस मेसिनहरू छन् । लोग्नेका । घरका ।मिलका । छिमेकका । विवेकका । रमिलाका ।दायित्वका । सुखका ।दुःखका । परिवेशका।

 मेरा कानभरि ती मेसिनहरू, ती यन्त्रहरू एकैपल्ट कराउँछन् । यौनको यन्त्र एकाठाउँमा छ । मौकाको ताकमा छ । प्रेम अन्तै आत्महत्या गर्दै छ र खप्की खाएर भए पनि दायित्व बोकेकी छु । यौन, प्रेम र दायित्वका यन्त्रहरू अनायास कराएका छन् । यन्त्रै यन्त्रले छोपेको छ मेरो जिन्दगीलाई र अचेल त म पनि यन्त्र भएकी छु । यन्त्रमै रमाएकी छु । नपत्याए चिमोट्नुहोस् । मलाई दुख्दैन ।  

प्रकाशित: ८ फाल्गुन २०७७ ०४:४७ शनिबार

अक्षर