हरिप्रसाद भण्डारी
१) चप्पलको खोजी
“के गर्दैछस् विक्रम तैँले ?” नयाँ सडकमा असरल्ल छरिएका चप्पलका बिचमा उभिएर आफ्ना चप्पल खोज्दै गरेको विक्रमलाई देखेर रमेशले सोध्यो ।
“देखिनस्, हराएका चप्पल खोज्दैछु । कस्तो निर्ममतापूर्वक कुटे बजियाहरूले ।” विक्रमले जवाफ दियो ।
“जुलुस पनि कत्रो हगि !” रमेशले अश्चर्य व्यक्त गरयो ।
“हो त नि ।” विक्रम खुसी भयो ।
“तर के गर्नु जनताले जतिसुकै विरोध गरे पनि सत्तामा बसेकाहरूले सुन्ने होइनन् क्यारे ।” रमेशले निरासा पोख्यो ।
“त्यसरी निरास हुनु हुँदैन, साहस गर्नुपर्छ अवश्य जितिन्छ ।” विक्रमले भन्यो ।
“खोई, छयालीस सालमा पनि तँ यसैगरी रत्नपार्कमा हराएका चप्पल खोज्दै थिइस् । आन्दोलन सफल भयो तर पनि तैँले एकजोर जुत्ता फेर्न सकिनस् । तँसँगै नारा लगाउनेहरू महलमा बस्ने र पजेरो चढ्ने भए... ।”
रमेशको कुरा बिचमै रोकेर विक्रमले भन्यो, “तैँले भनजस्तो हामीले राजनीतिक लडाइँ त लड्यौँ तर शैक्षिक, सांस्कृतिक, सामाजिक, वैज्ञानिक आदि लडाइँ लड्न नभ्याएको कारण त्यस्तो भएको हो । हाम्रो मनभित्र रहेको सामन्ती र पूँजीवादी चिन्तन हराएको छैन । त्यसैको परिणाम हाम्रासामु तिमीले भनेजस्ता विकृतिहरू विद्यमान छन् । हामी सबै जुत्ता लगाउने हुनका लागि यस्ता धेरै पक्षहरूमाथि विजय हासिल गर्दै जानुपर्छ ।”
“खोई लड्यो –लड्यो जितिने कैल्यै होइन ।” रमेशले फेरि गलेका कुरा ग¥यो ।
“त्यसो होइन साथी, जनताले जतिचोटि हारे पनि अन्त्यमा जनताकै जीत हुन्छ । जब जनताले जित्छन् त्यसपछि कहिल्यै हार्नुपर्दैन । विश्वका धेरै इतिहास हाम्रासामु ताजै छन् । यही सोचेर हामी हिम्मत नहारी अगाडि बढिरहनुपर्छ । एक दिन अवश्य पनि हामीले फेरि युद्ध गर्न नपर्ने गरी युद्ध जित्ने छौँ ।”
यसो भन्दै गर्दा विक्रमको अनुहार उज्यालो देखियो ।
सडकभरि असरल्ल छरिएका जुत्ता–चप्पल अनि घाइते मान्छेको शरीरबाट बगेको रगत देखाउँदै विक्रमले भन्यो, “जनताको यत्रो समर्थन छ । अब पनि हार्नुपर्ला त हामीले ?”
उनीहरू कुरा गर्दै थिए । वसन्तपुरतिरबाट विशाल जुलुस आएको देखियो ।जुलुसेहरू गगनभेदी लगाउँदै थिए ।
२) आदेशको पालना
“पाँचजना भन्दा बढी मान्छे भेला हुन नदिनु ।” आदेश कडा थियो ।
“यत्रा मान्छे !” ऊ आत्तियो र तुरुन्तै जाहेर गरयो ।
“ठोक ।” सेटबाट जवाफ आयो ।
लाठीचार्ज भयो । धेरै मान्छे भागे । भाग्न नपाएका र नसकेकाहरूले बेसरी कुटाइ खाए ।
कुटेर लाफो पार्दा पनि नभागेकाहरूलाई समातेर गाडीमा कोचे र चौकीमा पुरयाए ।
“तँ को होस् ?” कडा शब्दमा हाकिमले सोध्यो ।
“बेहुलो हुँ हजुर ।” डराईडराई केटाले भन्यो ।
“अनि तँ ?”
लजालु नजरले बेहुलातिर हेर्दै बिस्तारै भनी— “बेहुली ।”
३) हिजो र आज
हिजो—
आयस्रोत कम थियो । दैनिक जीवन यापन गर्न खूब मेहनत गर्नुपथ्र्यो । भोक लाग्दा टन्न खानु र निद्रा लाग्दा भरनिद सुत्नु दुर्लभ थियो ।
एउटा व्यवसायमा सफलता मिल्यो । व्यवसाय सप्रदै गयो । धनदौलत बढ्दै गयो ।
आज—
पैसाको कमी छैन । बस्ने घर र भोग गर्ने सम्पत्तिको राम्रो बन्दोबस्त छ ।
तर...
शरीरमा अनेकौँ रोगले घर गरेका छन् । मीठोमसिनु केही खानु हुँदैन । सम्पत्तिको चिन्ताले राति राम्ररी निद्रा पनि पर्दैन ।
४) ठूलो ढुङ्गो
बाटाका किनारमा एउटा ठूलो ढुङ्गो थियो । आवश्यक पर्दा बाटामा हिँड्ने बटुवाहरूले त्यसैको ओत लागेर दिसा–पिसाब गर्थे । जसले गर्दा वरिपरिको वातावरण औधी दुर्गन्धित भएको थियो ।
एकजना सिकारु कलाकारको आँखा परयो । जिज्ञासु थियो, ढुङ्गो खोपेर अमूर्त आकृति बनायो ।
एकजना बटुवा अनौठो आकारमा कुँदिएको उक्त ढुङ्गो देखेर दङ्ग परयो । देवताको मूर्ति ठान्यो र अबिर र फूल चढायो ।
अर्को एकजनाले त्यहाँ वरिपरि ध्वजापताका चढायो ।
अरू दुईचारजना मिसिए र वरिपरि सफा गरे । यो क्रम बढ्दै गयो ।
हिजो आज ठूलो ढुङ्गोलाई सबैले खाटी देवता ठान्छन् । फूल प्रसाद चढाउने र पूजा गर्नेको धुइरो लाग्ने गरेको छ ।
५) गिद्ध सम्मेलन
चरनको व्यवस्था गर्ने उद्देश्यले गाउँका गिद्धहरू मिलेर एउटा सम्मेलन गरे ।
“पहिलेपहिले गाउँलेहरू त्यत्ति सचेत थिएनन् । गाउँघरमा मरेका पशुहरूलाई भीरबाट लडाउने वा दलितहरूले काटेर खाने चलन थियो । त्यसो गर्दा हाम्रा लागि आहाराको कुनै कमी थिएन । तर अहिले दलितहरू सचेत हुँदै गए । सिनो खान छाडे । दुर्गन्ध र प्रदूषण बढ्छ भन्दै भीरबाट लडाउने वा त्यसै छाड्ने काम पनि बन्द हुँदै गयो । हिजोआज मरेका पशुहरूलाई व्यवस्थित रूपमा जमीनमुनि गाड्ने चलनले गर्दा हाम्रो आहारा नासिँदै गयो । हामी भोकभोकै मर्ने भयौँ । अब यस समस्याको समाधान कसरी निकाल्ने ? यही विषयमा छलफल गरौँ ।” आयोजकहरूले कुरो राखे ।
“होहो हाम्रा लागि यो निकै समस्याको विषय बनेको छ । यस सम्बन्धमा विचार गर्नैपर्छ ।” सबैले समर्थन जनाए ।
व्यापक छलफल भयो । छलफलमा केही बुज्रुक गिद्धहरूले यस्तो प्रस्ताव राखे—
“गाउँघरमा सरसफाइ गर्ने भावनामा वृद्धि भए पनि शहरमा अझै पनि फोहरको साम्राज्य कायमै छ । कुराले आफूलाई अति सभ्य र सुसंस्कृत ठाने पनि शहरबासीहरू अझै सफासुग्घर भएर बस्न सकेका छैनन् । ठाउँठाउँमा अस्तव्यस्त तरिकाले पशुवध गरेर उत्तिकै फोहर गर्दछन् । वध गरिएका पशुका हाडखोर यत्रतत्र छरिएका हुन्छन् । यसले गर्दा हरहमेसा राजधानी शहर निकै दुर्गन्धित देखिन्छ । हाम्रा लागि उक्त स्थान अति उत्तम छ । त्यसैले अब हामी सबै राजधानी शहरमा जानुपर्छ, सहजै ज्यान पाल्न सकिन्छ ।”
“अति उत्तम सुझाव !” खुसी हँुदै सबैले सामूहिक समर्थन जनाए ।
त्यसपछि एकएक गरी गाउँका गिद्धहरू राजधानी शहरतिर ओइरिन थाले ।
(अविरल लघुकथा सङ्ग्रहबाट )
प्रकाशित: ६ फाल्गुन २०७७ ०८:४५ बिहीबार