२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मृत्यु बस्ने डाँडो

कविता

शरीरभरि युद्ध सामाग्री बोकी

लिटरे तुम्लेटको पानी समेत छाडेर

लिङ्ठिङ्गे शरीर बाङ्गिने गरी गोलाबारुदको भारी  

बरफका मसिना थुम्का र मरिसकेका झारहरू समाउँदै  

चढिरहेछन् बहादुर जवानहरू

बर्षौँसम्म युद्धकला अनि

जीतको शिक्षा दिइएका ती वीरहरू

हुन्छ हजुर  को रिकर्डेड आवाज घन्काउँदै

चढिरहेछन् मृत्युसँग लडाइँ जित्न ।

 

पहिलो र दोस्रो विश्वयुद्धको भिक्टोरिया क्रस

फक्ल्याण्ड, टिमोर र कोसोभोको धङ्धङे मेटाउन  

यतिबेला चढिरहेछन् मृत्युको डाँडो

पाखै पल्टिएलाजस्तो कहालीलाग्दो  

तोप र क्षेप्यास्त्रको आवाज

आँखाको ज्योति उडाउलाजस्तै बमको झिल्को

कानै छुँदै बहने बुलेटको सुइसुला

तर बढिरहेछन् तातो मृत्युुलाई अँगाल्न  

ती योद्धाहरू ।

 

उता अबोधहरूको आफन्त खोज्ने चिच्याहट

यता आत्मीयतालाई सम्झिदै झारेको आँसु

हेर्दाहेर्दै वैरीको गोलीले चुँडाएको

स्निग्ध अश्रुधारा  

म प्रार्थना गरिरहेछु

त्यो दिन त्यो समय त्यो वियोग

फेरि कहिल्यै नदोहोरियोस्  

कसैलाई नपरोस् देख्न आउने दिनमा

जहाँ मेरै जस्तो बाध्यताको लास ढलिरहेको

स्वाभिमान र राष्ट्रियताको नाममा

विवशताको युद्ध लडिरहेको ।

 

फेरि कसैले चढ्न नपरोस् त्यो उकालो  

कसैले देख्न नपरोस् विनाशको कालो छाया  

कसैले गुमाउन नपरोस् परिवार

कसैले हराउन नपरोस्  आफन्त  

बर्षौँ एउटै बर्को ओढेर एउटै थालमा खाने

साथीको ढलेको शरीर नाघेर अगाडि बढेको क्षण

फेरि कसैले भोग्न नपरोस्  

कसैले चढ्न नपरोस्  

बहादुरी र स्याबासीको लागि

मृत्यु बस्ने त्यो डाँडो

कसैले टेक्न नपरोस् ।

प्रकाशित: ६ फाल्गुन २०७७ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App