१)
अचम्म लाग्छ हाँस्दाहाँस्दै रिसाएर गई,
नम्बरी सुनमा उल्टै पित्तल मिसाएर गई ।
जाडोले काँप्दा मायाको सिरक ओढाएथें,
विवाहको निम्तोमा सम्बन्ध चिसाएर गई।
२)
मायालु यो तन अझ यो मन तिम्रै हो,
सुस्त गतिमा चल्ने धड्कन तिम्रै हो ।
पहिलो नजरमै भुइँचालो गयो दिलमा,
यो मुटु हल्लाउने पराकम्पन तिम्रै हो।
३)
बिरुवा अनुसारको मौसमी फल फल्नुपर्थ्यो,
भ्रष्टलाई संरक्षण दिए कालोमोसो दल्नुपर्थ्यो ।
गाईजात्रे शैलीमा सरकारले प्रशासन चलाउँछ,
नीति नियमानुसार त सरकार पनि चल्नुपर्थ्यो।
४)
वाह नेताजी तपाईंले गजबको काम गर्नुभो,
कागती सम्झेर संविधानको भावना निचर्नुभो ।
तपाईं त पुग्न खोज्नुहुन्थ्यो माथि धेरैमाथि,,
तर, खङ्गारिदै मध्यावधि निर्वाचनमा झर्नुभो।
५)
समृद्धि ल्याउँछौं भन्दै व्यर्थ चर्को नारा लाउने हुन्,
विकासको नाममा देशको ढुकुटी सारा सकाउने हुन् ।
एकताको नाटक खुब मञ्चन भो देशको रंगमञ्चमा,
जो आए पनि उनै भ्रष्ट्राचारी ज्यानमारा आउने हुन् ।
प्रकाशित: २८ माघ २०७७ ०७:५१ बुधबार