पाँच वर्ष अगाडितरको कुरा हो । एकदिन म बिहानको खाना पकाईवरी बाहिर बसेर कपाल कोर्दै थिएँ । कपाल कोर्ने क्रममा आफ्नै हातले झुक्किएर टेबलमा राखेको सानो ऐना भुइँमा खस्यो । झरम्म आवाज आई टुक्राटुक्रा भयो।
ऐनाको त्यो आवाजले कोठामा रहनुभएकी सासू आमा बाहिर निस्किनुभयो। ऐनाका टुक्रा हेर्दै भन्नुभयो – हेरहेर, यस्तो सिसा फुटाएर । यो त अशुभ समाचारको लक्षण हो। अहिलेसम्म मैले यस्ता अशुभ हुनबाट घरपरिवार बँचाएर राखेकी थिएँ। अरूलाई त के चासो !
आवेशमा आएर आमा चिच्याई –चिच्याई कराएपछि म चूपचाप बसें । सम्झें– मैले आखिर जानीजानी त गरेकी थिइन् नि।
मधुमेह र उच्च रक्तचापले थलिनुभएका ससुरा बुवालाई दिनभरि नै आमाले यही कुरा सुनाइरहनुभयो।
बुबाले सम्भाउँदै भन्नुभयो – भैगो चुप लाग। जे हुनु भयो । आखिर जानीजानी गरेकी पनि होइन बुहारीले ।
आमाले उल्टै बुवालाई खाउँलाझैँ गरी बुहारीलाई नचाहिने कुरामा ओढ ढाक्ने भन्दै रिसाउनुभयो। एकोहोरो टोकसिरहेकोले बुवाको रक्तचाप ह्वात्तै बढ्यो। अस्पताल लान नपाउँदै उहाँ बित्नुभयो ।
पाँच वर्षपछि हिजो दिउँसो फेरि उस्तै घटना दोहोरियो । एक महिना अगाडिदेखि बिरामीको कारण आइसियु कक्षमा जेठाजुलाई राखिएको थियो । अस्पतालमा बिरामी कुर्ने श्रीमान् र भतिजीलाई खाना लिएर जानुपर्ने हतारो थियो। छिटोछिटो तयार हुन कपाल कोर्दै थिएँ। यसपटक पनि हातले झुक्किएर ऐना खसेर धुजाधुजा भयो। अरू कसैले यो घटना देखेका थिएनन् । आमाले पनि थाहा पाउनु भएन । अनि मैले छिटोछिटो सिसाका टुक्राहरू टिपेर थाहा नपाउने ठाउँमा व्यस्थित गरें। रातभरि मनमा कुरा खेलाएँ –अब के हुने हो !
आज बिहान आमा हस्याङ्फस्याङ् गर्दै आएर भन्नुभयो– बुहारी भो अब खाना पुरयाउनु नपर्ने भयो। कान्छाले फुन गरेर भर्खरै बतायो।
आमाका कुरा सुनेर म झसङ्ग भएँ । मनमनै सोचें – आखिर आज पनि अशुभ भएरै छोड्यो हे भगवान ।
मेरो चिन्तित मुहार देखेर आमाले भन्नुभयो – किन मलिनी भैछेस् र । हिजोबाट जेठाको स्वास्थ्यमा सुधार आयो । सबै ठिक छ । अब आज डिस्चार्ज गरेर घर जानुभए हुन्छ भन्यो अरे डाक्टरले ।
प्रकाशित: २७ माघ २०७७ ०७:१६ मंगलबार