२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

आदेश

लघुकथा

राम मेरो सारै मिल्ने साथी थियो । एकैठाउँमा जन्मीहुर्की पढाइ पनि सँगै सुरु गरेका थियौँ । ऊसँग मेरो सबै कुरा मिल्दा पनि पढाइ भने ठ्याक्कै मिल्दैनथ्यो । म कक्षामा सधैँ पहिलो हुन्थेँ भने ऊ तान्तुनेमा पथ्र्यो । त्यसमा पारिवारिक पृष्ठभूमिको प्रभाव पनि थियो । मेरो आमाबाबा पढेलेखेका हुनुन्थ्यो । उसका थिएनन् ।

कलेजमा पनि ऊ होहल्ला गरेर समय बिताउँथ्यो । म पढाइमा समय खर्चन्थेँ । परिणाम ऊ आधीजसो विषयमा फेल हुन्थ्यो । पास भएकोमा पनि बल्लतल्ल।

म लोकसेवा पास गरेर अधिकृत भएँ । एक दिन प्रतिलिपि प्रमाणित गराउन मेरो कार्यालयमा आएछ ऊ । लोकसेवा दिन लागेको रहेछ । खुसी लाग्यो । छिमेकी देशबाट साथीले एमए पास गरेछ । तर, लोकसेवा पास गर्न सकेन । बेलाबेलामा यो गरिदिनु परयो र त्यो गरिदिनु परयो भनेर आउँथ्यो । मिलेसम्म गरेर पठाउथेँ।

“म यसपाला चुनावमा उठेको छु । परिवारको भोट कतै नजावस् है ।” निकैपछि आएर उसले भन्यो । आफूसँग मिल्ने साथीलाई भोट नदिने कुरै थिएन । साथीले चुनाव जित्यो र मन्त्री पनि भयो । त्यो पनि आफ्नै मन्त्रालयको । म मन्त्रालयको सचिव थिएँ ।

एघार बजे मन्त्रीलाई पद बहाली गराएँ । भोलिपल्टदेखि मन्त्रीका आदेशका लाइन लाग्न थाले । त्यसमध्ये एउटा टिप्पणीको फाइल थियो । खरखर्ती पढेँ । सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्नुपर्ने रहेछ।

 “मंत्रीज्यूको आदेश हजुर ।” ल्याउनेले भन्यो । फाइल बोकेर मन्त्रीको कोठामा पसेँ ।

“मन्त्रीज्यू, यो सरकारी जग्गा व्यक्तिको नाममा गर्न कसरी मिल्छ ?” मैले सोधेँ ।

– मिल्नेनमिल्ने मलाई थाहा छैन । मिलाएर गर्नोस् ।

मैले आफ्नो अडान छाडिनँ तर बदलामा केही दिनपछि आफ्नो सिट छाड्नु परयो । 

प्रकाशित: २४ माघ २०७७ ०५:३३ शनिबार

अक्षर