बिराजमान रायमाझीलाई साउदी जानु थियो । काठमाण्डुका शहरमा केही हुल टायर बालेर बसेका थिए । विगतका सरकारले राम्रो गरेको भए विदेश जानु पर्दैन थियो । घरखर्च र परिवार चलाउन बाहिर नगई नहुने जाने कसरी ? भोक लागेकोले चोकको अस्पतालको क्यान्टिन छिरे।
– आमा, चिया खान पाइन्छ ? अस्पतालको क्यान्टिनमा गएर वृद्ध साहुनीसँग चिया मागे ।
– पाइन्छ,पाइन्छ तर खानेकुरा ल्याउन पाएका छैनौ । आलुको तरकारी ,चिउरा र चिया छ । साहुनी आमाले पीडा सुनाइन् ।
गाडी जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गर्यो । दुवैतर्फ भिडन्त भयो । आफैं असुरक्षित भएकाले प्रहरीले गोली चलायो । गोलीबाट एक व्यक्ति सशक्त घाइते भए । उक्त व्यक्तिलाई अस्पताल लगियो । निर्दोष भएको भए सबैको सान्त्वना मिल्थ्यो होला । प्रहरीमाथि नै खनिएपछि कस्ले सान्त्वना दिनु ?
– बाटो छोड्नुस् । बिरामी सिरियस छ । मर्न पनि सक्छ । डाक्टर, डाक्टर । केही आन्दोलनकर्मी कराउँदै इमर्जेन्सी रुममा छिरे ।
डाक्टर एकछिन गम्भीर बने । त्यसपछि औजार तयार गर्दै भने – हामी उहाँलाई बचाउँछौँ । उहाँको जीवन बन्द हुने छैन । हाम्रो मोटरसाइकलमा आगजनी गर्दा पनि हामी चुप थ्यौँ । जसको पछि लागेर बन्द गर्नुभएको छ नि त्यही कारणले तपाईँको जीवन बन्द नहोस् । भगवानसँग प्रार्थना छ।
प्रकाशित: २२ माघ २०७७ ०४:३५ बिहीबार