८ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

महामारी र आकाशमा गुरु–शनिको महायुति

शिव पोखरेल

ज्योतिष विज्ञान

हामीले पृथ्वीबाट नांगो आँखाले आकाशमा देख्न सक्ने सौर्यमण्डलका सबैभन्दा टाढाका र चम्किला ठूला ग्रह हुन्– गुरु र शनि। यही डिसेम्बर २१ मा यी दुई ग्रह पृथ्वीको दृष्टिबिन्दुबाट एक–अर्काबाट ०.१ डिग्रीको कोणमा हुँदा सूर्यास्तपछिको दक्षिण–पश्चिम क्षितिजमा लगभग एकैसाथ देखिए, एउटै चम्किलो ताराजसरी। यी दुई ग्रहको यस्तो युति, जो वास्तवमा एक आपसबाट ७३ करोड किलोमिटरभन्दा बढी टाढा छन्, बिरलै हुने गर्दछ। पछिल्लोपटक यी दुई ग्रह आकाशमा एकापसको यति नजिक आजभन्दा झन्डै चार सय वर्षअघि सन् १६२३ मा आएका थिए, जुन ग्यालिलियोले दूरबिनको सहायताले पहिलोपल्ट गुरु ग्रहका चार चन्द्रमा पत्ता लगाएको मात्र १३ वर्षपछि थियो। त्यो बेला आकाशमा गुरु र शनि सूर्यको नजिकै भएको हुँदा पृथ्वीबाट प्रत्यक्ष मानव आँखाले त्यो दृश्य देखिएको थिएन। यसरी रातको समयमा शनि र गुरुको महायुति (द ग्रेट कन्जक्सन) भई पृथ्वीको अधिकांश ठाउँबाट आकाशमा यो अलौकिक दृश्य देखिएको आठ सय वर्षमा पहिलोपल्ट हो।

गएको १,५०० वर्षमा पृथ्वीमा भएका प्रमुख महामारी, युद्ध, राजनीतिक संघर्ष र परिवर्तनहरूको दृकपंचांगअनुसार अध्ययन गर्दा ती अधिकांश घटना आकाशमा शनि र गुरु ग्रह एकै राशि अथवा एकै नक्षत्रमा युति वा परस्पर आमुन्ने–सामुन्नेको नक्षत्रमा, राशिमा भएका बेला वा त्यसको अघि वा पछिको एकदमै नजिकैको समयमा भएको देखिन्छ।

परापूर्व समयदेखि नै आकाशमा हुने खगोलीय परिवर्तन र तिनले पृथ्वीमा पार्ने सांसारिक र आध्यात्मिक असरका बारेमा गहिरो मानव जिज्ञासा रहँदै आएको छ। यही जिज्ञासाको एक रूप ज्योतिष विज्ञान हो। ज्योतिष एक अनुमानात्मक विज्ञान हो, जसले आकाशमा हुने नियमित परिवर्तनको गणितीय अध्ययन गरी तिनले समकालीन पृथ्वीको प्राकृतिक र मानवीय घटना क्रममा पार्ने प्रभावका बारेमा दक्ष अनुमान गर्दछ। निश्चय र तार्किक प्रमाणमा आधारित आधुनिक विज्ञानले लामो समयसम्म ज्योतिषलाई एक झुटो र छद्म विज्ञान माने पनि हालका केही वर्षमा ज्योतिषलाई पुष्टि गर्ने खालका केही वैज्ञानिक खोज र अनुसन्धान भइराखेका छन्। अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा रहेको लमान्ट–दोहर्टी अर्थ अब्जर्भेटरीका डेनिस केन्ट लगायत अन्य वैज्ञानिकले कसरी गुरु लगायत सौर्यमण्डलका अन्य ग्रहको आफ्नो कक्षमा निरन्तर भ्रमणका क्रममा पृथ्वी र सूर्यबाट कहिले नजिक र कहिले टाढा हुँदा एकापसमा पार्ने गुरुत्वाकर्षणीय प्रभावको सम्बन्ध पृथ्वीमा करोडौँ वर्षपहिले भएका जलवायु परिवर्तन र डाइनोसर लगायत अन्य प्राणीको उत्पत्ति र विलयसँग हुन सक्छ भनेर अध्ययन गरिराखेका छन्। वर्षौंसम्म खगोलीय परिवर्तनले पृथ्वीमा रहेका जीवमा कुनै असर हुँदैन भनेर ज्योतिषलाई खण्डन गर्दै आएको मात्र तीन–चार सय वर्ष पुरानो आधुनिक विज्ञानले यसरी बिस्तारै प्राचीन ज्योतिषकै आधारभूत सिद्धान्तलाई पुष्टि गर्न लागेको देखिन्छ।  

हाम्रो पूर्वीय वैदिक ज्योतिष लगायत विश्वका प्रायः सबै ज्योतिष परम्पराले आकाशमा हुने गुरु र शनि ग्रहको युतिलाई पृथ्वीमा ठूलो परिवर्तनका कारकका रूपमा हजारौँ वर्षदेखि विशेष महत्व दिँदै आएका छन्। यो डिसेम्बर २१ मा देखिएको जस्तो यी दुई ग्रहको महायुति धेरै लामो अन्तरालमा भए पनि हरेक १८ देखि २० वर्षको फरकमा शनि र गुरु आकाशमा एकै राशि र नक्षत्रमा एक आपसलाई भेटिरहन्छन्। आकाशमा देखिने ताराहरूको स्वरूपलाई नक्षत्र भनिन्छ। वैज्ञानिकले सम्पूर्ण आकाशलाई ८८ नक्षत्रमा विभाजित गरेका छन्, तर ज्योतिषमा ग्रहहरू भ्रमण गर्ने कान्तिवृत्तका नजिकका २७ नक्षत्रलाई मात्र विशेष ध्यान दिइन्छ। आकाशका यिनै २७ नक्षत्रहरूलाई १२ राशि समूहमा विभाजित गरेर पृथ्वीमा कुनै पनि समय अथवा त्यो समयमा घटित कार्य, जस्तै व्यक्तिको जन्मको बेला त्यो भौगोलिक स्थानको माथिको आकाशमा राशिहरूको अवस्था र ती राशिमा सूर्य, चन्द्रमा समेत बुध, मंगल, शनि, गुरुलगायत अन्य ग्रहहरूको भ्रमणगत स्थिति तय गरेर उक्त समय वा घटनाको तात्कालिक कुण्डली अर्थात् खगोलीय नक्सा, तय गरिन्छ।

यसरी विचार गर्दा दृक्, अर्थात् प्रत्यक्ष, पञ्चांगअनुसार योपल्ट सन् २०१९ मार्च ३० बाट शनि र गुरु आकाशका एउटै राशिमा भ्रमण गर्न सुरु गरेको देखिन्छ। धनु राशिमा सुरु भएको यो युति मकर राशि हुँदै एकै नक्षत्र उत्तराषाढामा २०२० मार्च ८ देखि जुलाई २६ सम्म र फेरि अक्टोबर ३० देखि २०२१ जनवरी ७ सम्म यी दुई ग्रहको गहिरो युति भइरहेको थियो। यो डिसेम्बर २१ मा यी दुई ग्रह आकाशमा एकै नक्षत्रको एकै चरणमा ०.१ डिग्रीको कोणमा भएकाले पृथ्वीबाट हेर्दा एक ठूलो ताराजस्तो देखिएका हुन्, जुन बिरलै हुन्छ।  

शनि र गुरुको यो युति आउने २०२१ जनवरी २२ देखि मार्च ५ सम्म मकर राशिकै श्रवण नक्षत्रमा र सेप्टेम्बर १४ देखि नोभेम्बर २० सम्म मकर राशिमा भएर सकिन्छ। यसपछि यी दुई ग्रहको युति आउने २० वर्षसम्म फेरि हुँदैन।

छैटौं शताब्दीका ज्योतिष, गणितज्ञ तथा खगोलविद् वराहमिहिरले आफ्नो बृहत्संहिता पुस्तकको १०औँ अध्याय १९औँ श्लोकमा आफूभन्दा अगाडिका प्राचीन वैदिक ऋषि पराशरलाई उद्धृत गर्दै आकाशमा शनि र गुरुको एक राशि वा नक्षत्रमा युति हुँदा पृथ्वीमा ठूलो संघर्ष, जनहानि र युद्ध वा युद्धसरहको कठिन अवस्थाको सिर्जना हुन्छ भनेर लेखेका छन्। उनको यो फलादेश हाल विश्वमा भइराखेको कोरोना महामारीसँगको संघर्षसँग एकदमै मेल खाएको देखिन्छ।

यो कुरा मैले कोरोना महामारी सुरु हुनुअगाडि नै २०७६ वैशाख १ गते एभिन्युज खबर टेलिभिजन च्यानलको ‘व्यक्ति, विषय र विशेष’ कार्यक्रममा अन्तर्वार्ताका क्रममा भनेको थिएँ। अन्तर्वार्तामा मैले वराहमिहिरले गुरु र शनिको युतिको बारेमा बृहत्संहितामा गरेको फलादेशको आधारमा आउने समयमा विश्वपरिदृश्यमा तेस्रो विश्वयुद्ध सरहको स्थित आउन सक्छ भनेको थिएँ। त्यही कुराको पुष्टि हुने गरी २०७६ को मध्यपछि (सन् २०१९ को अन्तिमतिर) चीनको वुहान सहरबाट कोरोना महामारीको सुरुवात भएको कुरा विश्व स्वास्थ्य संगठनले औपचारिक रूपमा घोषणा गर्‍यो। त्यसपछि गएको एक वर्षमा आकाशमा शनि र गुरुको कहिले एकै राशि र कहिले एकै नक्षत्रमा युति भइरहँदा अहिलेसम्म विश्वभरि नै लगभग ८ करोड मानिस कोरोना महामारीको संक्रमणमा परी तीमध्ये १७ लाखभन्दा बढी मान्छेको यो रोगका कारण मृत्यु भइसकेको छ। यसले मानव जीवन र विश्व अर्थतन्त्रमा पारेको व्यापक असर, अनिश्चितता र अन्योललाई देखेर स्वास्थ्य तथा अर्थविज्ञले कोरोना महामारीले संसारमा विश्वयुद्धसरह नै प्रभाव पारिरहेको कुरा बताइरहेका छन्।

गएको १,५०० वर्षमा पृथ्वीमा भएका प्रमुख महामारी, युद्ध, राजनीतिक संघर्ष र परिवर्तनहरूको दृकपंचांगअनुसार अध्ययन गर्दा ती अधिकांश घटना आकाशमा शनि र गुरु ग्रह एकै राशि अथवा एकै नक्षत्रमा युति वा परस्पर आमुन्ने–सामुन्नेको नक्षत्रमा, राशिमा भएका बेला वा त्यसको अघि वा पछिको एकदमै नजिकैको समयमा भएको देखिन्छ। महामारीको कुरा गर्दा आजभन्दा ६६० वर्षअघि सन् १३४६ देखि सन् १३५३ मा एसिया र युरोपमा फैलिएर त्यो बेलाको युरोपको अनुमानित लगभग आधा जनसंख्या सखाप पारेको ‘द ब्ल्याक डेथ’ अर्थात् कालो मृत्यु महामारीको सुरुवातमा पनि शनि र गुरु आकाशमा मकर, कुम्भ राशि र धनिष्ठा, सतभिषा नक्षत्रमा सँगसँगै भ्रमण गरेको देखिन्छ। त्यसअघि आजभन्दा १४७० वर्षअगाडि (सन् ५४१–४२ मा) फैलिन सुरु गरेर एसिया, दक्षिण अफ्रिका तथा युरोपका तीन करोडदेखि पाँच करोड मान्छे (त्यो बेला विश्वको लगभग आधा जनसंख्या)को मृत्युको कारण बनेको जस्टिनियन प्लेग महामारीको सुरुको समयमा पनि आकाशमा गुरु र शनि १८० डिग्रीमा परस्पर आमुन्ने–सामुन्ने भई क्रमशः वृष र वृश्चिक राशिमा बसेका देखिन्छन्। त्यस्तै, अहिलेको कोरोना महामारीभन्दा अघिको विश्वको प्रमुख महामारी (आजभन्दा १०० वर्षअघि सन् १९१८ को स्पेनिस फ्लु, जुन त्यो बेला विश्वको दुई करोडदेखि पाँच करोड मान्छेको मृत्युको कारण भएको थियो) को बेला पनि शनि र गुरु आकाशमा एकै राशिमा प्रवेश गर्ने क्रममा थिए।

पृथ्वीमा भएका प्रमुख मानव युद्धहरू (विशेषगरी २०औँ शताब्दीमा भएका प्रथम र दोस्रो विश्वयुद्ध) हुँदा वा हुन लाग्दा पनि तात्कालिक आकाशमा शनि र गुरुहरूको माथि उल्लिखितझैँ स्थिति देखिन्छ। त्यसमा पनि सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धले विकराल रूप लिँदै गर्दा सन् १९४० मा यी दुई ग्रह ज्योतिष परम्परामा युद्धको कारक मानिएको मंगल ग्रहको स्वराशि मेष र एकै नक्षत्र भरणीमा भ्रमण गरिराखेको देखिन्छन्।

वराहमिहिरले छैटौँ शताब्दीमा लेखेको बृहत्संहिताको १६औँ अध्यायमा गुरु ग्रहको खगोलीय स्थितिले सिन्धु नदीबाट पूर्वका भू–भागहरू (जसमा हालको भारत, नेपाल लगायत ठाउँ पर्छन्) मा अरू क्षेत्रभन्दा अझ बढी विशेष प्रभाव पार्छ भनेर औँल्याइएको छ। यो कुरालाई ध्यानमा राखेर विचार गर्दा योपल्ट २०१९ को मार्चबाट सुरु भएको गुरुको शनिसँगको सह–भ्रमणले नेपाल र भारतको राजनीतिक र रणनीतिक घटनालाई पनि विगतमा जस्तै प्रभावित गरेको देखिन्छ। यसमा सिन्धु नदीकै नजिक भारत–नियन्त्रित कस्मिरमा २०१९ को अगस्तमा भारतले गरेको दशकौँदेखिको विशेष संवैधानिक व्यवस्थामा परिवर्तन, २०२० को मे महिनादेखि सिन्धु नदीकै नजिक लद्दाखमा भारत र चीनबीच अहिलेसम्म जारी रहेको सैन्य आमना–सामना, नेपाल र भारतबीच लिम्पियाधुरा लगायत विषयमा २०१९ नोभेम्बरदेखि सुरु भएको सीमा विवादलाई केही प्रमुख उदाहरणका रूपमा हेर्न सकिन्छ। अहिले तत्काल नजिकको समयमा आकाशमा शनि र गुरुको महायुति भएको एक दिनअगाडि डिसेम्बर २० मा हाम्रो देश नेपालमा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा थप राजनीतिक द्वन्द्व र अस्थिरताको अवस्था सिर्जना भएको पनि छ।  

विगतमा नेपालमा भएका प्रमुख राजनीतिक घटना र परिवर्तनको सम्बन्ध पनि आकाशमा गुरु र शनिको भ्रमणगत स्थितिसँग हामी पाउँछौँ। यसमा वि.सं. २०५८ (सन् २००१ को जुन १) को राजदरबार हत्याकाण्ड, २०१७ साल (सन् १९६० को डिसेम्बर १५) मा राजा महेन्द्रले मुलुकको पहिलो जननिर्वाचित सरकार र संसद्माथि गरेको ‘कु’, २०३७ साल (सन् १९८० मे २) मा भएको बहुदलीय व्यवस्था र सुधारिएको पञ्चायती व्यवस्थाबीचको जनमत संग्रह केही उल्लेख्य उदाहरण हुन्।

नेपालमा भएका अन्य महत्वपूर्ण घटनाहरू, जस्तै २००७, २०४६/४७ तथा २०६२/६३ सालमा भएका लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तन र २०७२ को संविधान जारी हुँदा पनि शनि र गुरु आकाशमा १८० अथवा ९० डिग्रीको कोणमा परस्पर केन्द्रका राशिहरूमा नै भ्रमण गरिराखेको पाइन्छ।

वैदिक ज्योतिषमा गुरु ग्रहलाई जीव, अर्थात् जीवन र ज्ञानको कारक मानिएको छ। शनि ग्रहलाई शिवको स्वरूपमा संहार र न्यायको प्रतीक मानिएको छ। यही कुरालाई पुष्टि गर्दै आकाशमा जीवकारक गुरु र शिवस्वरूप शनिको अहिलेजस्तो एकै राशि वा नक्षत्रमा सह–भ्रमण भइरहँदा वा कान्तिवृत्तमा आमुन्ने–सामुन्ने हुँदा इतिहासको विभिन्न कालखण्डमा पृथ्वीमा संयोगवश ठूला महामारी, युद्ध र राजनीतिक उथल–पुथल भएको कुरा माथि दिइएका अनेक दृष्टान्तबाट प्रस्ट हुन्छ।

अहिले विश्वमा भइराखेको कोरोना महामारीजस्तै विगतका यी हरेक कष्टकर समयबाट गुज्रिएर सम्पूर्ण पृथ्वी र मानवसमाज पुनर्जागृत अर्थात् रिसेट, हुँदै अगाडि बढेको हामी पाउँछौँ। जस्तै, १४औँ शताब्दीमा त्यो बेला युरोपको लगभग आधा जनसंख्या नै सखाप पारेको ‘द ब्ल्याक डेथ’ महामारीका कारण पूरै युरोपमा भएको सामाजिक, धार्मिक र आर्थिक परिवर्तनले महामारी पछिको समयमा नयाँ सोच, दर्शन, प्रविधि र समृद्ध आर्थिक प्रणालीको विकासतर्फ युरोपलाई लगेको थियो भने बीसौँ शताब्दीको मध्यतिर भएको विनाशकारी दोस्रो विश्वयुद्धपछिको समयमा उपनिवेशवादको बिस्तारै अन्त्य हुँदै विश्वका अधिकांश देशमा राजनीतिक स्वतन्त्रताको प्राप्ति र लोकतान्त्रिक पद्धतिको विकास हुने क्रम बढेको थियो।

शनि र गुरु आउँदो जनवरी २२ देखि मार्च ५ सम्म एकै नक्षत्र श्रवणमा देखिनेछन्। यो बेला पनि विशेष सजगता अपनाउनुपर्नेछ। एकै राशि मकरमा भने अप्रिल ६ सम्म र त्यसपछि सेप्टेम्बर १४ देखि नोभेम्बर २० सम्म अन्तिमपटक यी दुई ग्रहहरू साथमा भेटिनेछन्। त्यसपछि अर्को लगभग २० वर्षसम्म यी दुर्ई ग्रह आकाशमा एकै राशि वा नक्षत्रमा सँगै देखिने छैनन्।

हामी आशा र विश्वास गर्न सक्छौँ कि सन् २०२१ नोभेम्बरको पछिको समयमा विश्वभरि नै कोरोना महामारी कम हुँदै जानेछ र आउने वर्षमा सम्पूर्ण पृथ्वी र मानव लगायत सबै जीवमा ज्ञान र शुभताको पुनर्जागरण हुनेछ।

(लेखक ज्योतिष एवं वास्तुविद् हुन्।)

प्रकाशित: ३ माघ २०७७ ०३:१७ शनिबार

महामारी र आकाश गुरु–शनिको महायुति