२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

जाडो पनि कति हो

बालकविता

रमेशचन्द्र घिमिरे 

 

बाक्लो हुस्सु कुहिरो उडिराछ फुसफुस,

जाडो पनि कति हो, उस्, उस्, उस् ।

 

– शहरबाट गलबन्दी ल्याइदिएनन् मामाले,

एउटा स्वीटर किन्नलाई नि कन्जुस गरिन् आमाले ।

केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस ,

जाडो पनि कति हो, उस् , उस्, उस् ।

 

बाले दे’को जड्यौरी, थोत्रा लुगा हापिन्छ,

नयाँ लुगा नपाइन्जेल बरु आगै तापिन्छ ।

सल्काइन्छ झिँगल्टा, घसेटा र झ्यासझुस्,

जाडो पनि कति हो, उस्,उस्, उस् ।

 

कठ्याङ्ग्रिँदा ठण्डीमा पढ्न मन ला’छैन,

आँत कामेर थरर्र बोल्न पनि भा’छैन ।

माघले फेरि रुवाउने भो कट्यो बल्ल पुस् ,

जाडो पनि कति हो, उस्, उस्, उस् ।  

प्रकाशित: २ माघ २०७७ ०६:५१ शुक्रबार

अक्षर