१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला

मुर्झाएको 'शिरीषको फूल'

पारिजात 'शिरीषको फूल' लेखेर कालजयी बनिन्। २०२२ सालमा प्रकाशित कृतिले त्यही वर्ष मदन पुरस्कार पायो। यसको पाण्डुलिपि हेरेर साहित्यकार शंकर लामिछानेले त्यतिबेलै उपन्यास मात्र नभनी 'काव्यन्यास' भन्न अनुमति मागेका थिए। यसको भूमिकामा उनले यतिसम्म लेखेका थिए, 'यत्ति सानो क्यानभासमा सारै कम स्ट्रोक्सहरुमा जसरी पारिजातले चित्र बनाएकी छ त्यो सारै ईखलाग्दो भएको छ। मैले यस्तै अचम्भित पार्ने एक जापानी उपन्यास पढेको थिएँ, ओसामु दजाइको 'द सेटिङ सन,' त्यो यत्ति राम्रो लागेको थियो कि, उल्था गर्ने विचार गरेको थिएँ र सोचेको थिएँ त्यसले नेपाली साहित्यलाई केही उपलब्धि हुनेछ। अब त्यसको आवश्यकता रहेन।' लामिछानेको भविश्यवाणी सही सावित भयो।


साहित्य अनुरागीमाझ विशिष्ट कृतिका रुपमा गढेको 'शिरीषको फूल' माथि जापानी निर्देशक तोसिआकी इतोह आकर्षित भए। काठमाडौं सहर शिरीष फुलेर निलाम्मे भएको यही याममा फिल्म रिलिज भयो। शहर सुन्दर देखाउने यो फूलको आयु लामो हुँदैन। फूलभन्दा पनि छोटो आयु फिल्म 'शिरीषको फूल'को रह्यो। संयोगले फिल्म र फूल सँगै फुले, फूलले भमरा लोभ्याउने ल्याकत राख्यो होला। तर, फिल्मले साह्रै थोरैलाई आकर्षित गर्योल, अझ कमलाई रत्याउने सामर्थ्य राख्यो। शुक्रबार रिलिज भएको 'शिरीषको फूल' राजधानीको गंगा हलमा आइतबारसम्म मात्र टिक्यो। अरु हलमा पनि झर्ने क्रम सुरु भएको छ।

कृतिमाथिका धेरै फिल्म व्यापारिक रुपले असफल छन्। 'शिरीषको फूल' असफल त भयो नै सिर्जनात्मक हिसावले पनि आलोचना योग्य बन्यो। निर्देशक तोसिआकीले यो बहुप्रशंसित कृतिलाई न्याय गर्न सकेका छैनन्। उनले एउटा उत्कृष्ट कृतिको निकृष्ट रुपान्तरण गरेको आरोप खेप्नुपर्ने भएको छ। 'राम्रो आख्यानमा हात हाले त्यत्तिकै राम्रो फिल्म बन्ला' भन्ने अपरिपक्व धारणाबाट प्रेरित भई उनी फिल्म बनाउन तम्सिएजस्तो लाग्छ। 'राम्रो साहित्यको सबै तत्व भेटिने' कृतिका रुपमा प्रशंसित 'शिरीषको फूल' उत्कृष्ट फिल्ममा हुनुपर्ने सबैखाले तत्वबाट करिब करिब बिमुख छ।

निर्देशकले फिल्मको सुरुआत र अन्त्य उपन्यासको सिलसिलाभन्दा बेग्लै गरेका छन्। 'फिल्म लिबर्टी' लिई त्यसमा फेरबदल गर्न निर्देशकले पाउँछन् नै। तर, उपन्यासको दार्शनिक पक्षलाई उनले वेवास्ता गरे वा त्यसलाई दृश्यमा पेश गर्न जानेनन्। बर्माको बमबारीबाट फिल्म सुरु गरेका निर्देशकले सुयोगवीर (गणेश लामा)लाई बढी महŒव दिएका छन्। फिल्मको अन्त्यमा 'निर्देशकीय दृष्टिकोण' थपेर सुयोगवीरलाई घर पुर्या एका छन्। र, पात्रको 'सेटलमेन्ट' गराउन खोज्दा उपन्यासको मर्म भाँचिदिएका छन्।

'शिरीषको फूल' पढ्दा एक/एक वाक्यले गहकिलो स्वाद दिन्छ। उच्चकोटीको विचार दिन्छ। फिल्ममा त्यस्तो केही पाइँदैन। हेरिसकेपछि सोच्न बाध्य बनाउँछ, 'कुन दक्षता पोख्न यो कृतिमाथि फिल्म बनाउन खोजियो!' यस्तै निर्देशकीय योग्यता प्रयोग गरेर अरु विषयमा फिल्म बनाएको भए निर्देशक गुमनाम हुन सक्थे, कृतिसँग जोडिदा उनी त्यसबाट जोगिएका छन्।

वास्तविक कथा तोडमोड गरिएको छ, पटकथाको गुञ्जायस छैन, मात्र मनोलग र संवादले फिल्म सकाउने सजिलो तरिका अपनाउँदा निर्देशककै उपस्थिति गुमेको छ। सकमबरी, सुयोगवीर र शिवराज उपन्यासका प्रमुख पात्र हुन्, पाठकमा निकै गढेका। फिल्मको मुख्य कमजोरी तिनै पात्रको व्यक्तित्व सुहाउने कलाकार चयन गर्न नसक्नुबाट सुरु हुन्छ। सकमबरी उपन्यासले चित्रण गरेजस्तो 'बोल्ड' लाग्दिन। उपन्यासमा दार्शनिक संवाद बोल्ने यी पात्रले फिल्ममा घोकेको बोल्छिन्, जहाँ शब्द र भावको तालमेल छैन। अभिनयबाट अभिव्यक्त गर्ने ठाउँमा पनि उनी चुकेकी छिन्। निर्देशक जापानी भएकाले केही सीमा रहे होलान्, नेपालका निकै अनुभवी विजयरत्न तुलाधर र देशभक्त खनालले पनि उचित सल्लाह दिन नसकेको देखियो। विजयरत्न संलग्न 'वसन्ती' र 'मसान' व्यापारिक रुपमा असफल भएपनि सिर्जनात्मक रुपमा त्यति खोट नलागेका फिल्म हुन्।

उपन्यासका सुयोगवीरमाथि फिल्मका गणेश लामाले ठूलै अन्याय गरेका छन्। फिल्ममा सबभन्दा धेरै छाएका उनीबाटै सबभन्दा कमसल काम भएको छ। 'डायलग डेलिभरी' उनको कमजोरी हो। घोकेको संवाद त जसोतसो बोल्छन्, तर अनुहारमा भाव पटक्कै देखिँदैन। शिवराज (जगत राजथला)बाट त्यस्तै कमजोरी भएको छ। उपन्यासमा आत्मीय लाग्ने यी दुई साथी फिल्ममा साह्रै औपचारिक छन्। मुजुरा (सौजन्य सुब्बा) र सानु (अप्सरा कार्की)को अभिनय तुलतात्मक रुपमा राम्रो छ।

फिल्ममा उपन्यासले अर्थ्याएको भाव अभिव्यक्त गर्ने दृश्य अत्यन्त कम छन्। कलापक्ष साह्रै फितलो छ। बैठककोठा देखाउनुपर्ने ठाउँमा त्यही आउँछ। तर, एउटा सिंडीमा सोफा ठड्याइको कोठाले उपन्यासले वर्णन गरेजस्तो शिवराजको बैठकको छनक बिल्कुलै दिँदैन। न त सकमबरीको अधिकांश समय बित्ने बगैंचा नै वर्णनअनुरुप छ। एउटा सजीव उपन्यासको निर्जीव रुपान्तरण बनेको छ 'शिरीषको फूल'। फिल्म विधाको शक्ति उपयोग गर्न नजान्दा वा नसक्दा एउटा विशिष्ट कृति कसरी खेर जान्छ भन्ने जानकारी दिन मात्र काम लाग्ने हैसियत यो फिल्मले बनाएको छ।

यहाँ शंकर लामिछानेले भूमिकामा लेखेको अंश उल्लेखनीय छ। 'मलाई तिमीसँग सोध्न मन लागेको छ एउटा कुरा पारिजात! के 'शिरीषको फूल' पनि 'द सेटिङ सन' जस्तै हाम्रो शब्द कोशमा एक विशेषण बन्न जाने कुरा तिमीलाई थाहा छ? तर म जान्दछु, तिमी आफ्ना आँखामा हाँसो सोहरेर मौन बस्नेछ्यौ। म जान्दछु, तिमीले उत्तर दिइसकेकी छ्यौ उपन्यासका पंक्तिहरु माझ।'

शंकर छैनन्, निर्देशकलाई राहत भयो। नभए तोसिआकी इतोहलाई फिल्म हेरेर के प्रश्न गर्थे होलान्?

प्रकाशित: २४ वैशाख २०७० २३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App