२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

संविधान फेरियो मेरो देशको अत्याचार उस्तै छ अझै

गजल

संविधान फेरियो मेरो देशको अत्याचार उस्तै छ अझै,

हेर अनुहार त्यो गरीबहरूको लगातार  उस्तै छ अझै ।

 

शान्ति मागेन कुनै इतिहासमा हिंस्रक हतियारहरूले,

त्यसैले सावधान त्यो तिर्खाएको तरबार उस्तै छ अझै।

 

न्यायलयमा बसेर टुलुटुलु हेर्छन् न्यायको पुजारीहरू,

चोरलाई चौतारा साधुलाई सुली संस्कार उस्तै छ अझै ।

 

हिजो बोल्न नदिएर लुटे आज बोल्न दिएर लुटिरहेछ,

हिजो जस्तो आज पनि त्यस्तै,  सरकार उस्तै छ अझै ।

 

रोजगारीको नाउँमा कठै, बेचिरहेका छन् जवानहरू,

तातो मरुभूमि माथि पसीनाको,  बजार उस्तै छ अझै ।

प्रकाशित: २७ पुस २०७७ ०७:२५ सोमबार

अक्षर