२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

कू

लघुकथा

किशन पौडेल

 

१) सुख 

 

ऊ अभावसँग लडिरहेको थियो ।  

ऊ रोगसँग लडिरहेको थियो  

ऊ ऋणसँग लडिरहेको थियो  

एक दिन तिन जनाको भेट भयो ।  

अभावले रोग सँग भन्यो–  तिमी त सप्रन्न छौँ । सारा सुख तिम्रो पोल्टाभित्र होलान् है !

रोगले अभावलाई भन्यो–  तिमी यति धेरै तन्दुरुस्त छौँ । सुन्दर निरोगी शरीर छ । तिमीजस्तो सुखी मान्छे यो संसारमा को होलान् र !

ऋणको भार बोक्नेले दुवैको कुरा सुनिरहेको थियो र आफ्नै पीडा ओकल्न थाल्यो – बरु जस्तोसुकै रोग र अभाव सहेर पनि यो ऋणको  बोझिलो भारी बिसाएर शान्तिको सास फेर्न पाए कति सुख हुन्थ्यो होला !

 

२) तथास्तु 

 

भगवान्ले जिज्ञासापूर्वक सोध्नुभयो – के छ भक्त तपाईँको हालखबर ? धेरै दिन भयो मन्दिर पनि आउनुभएन ।

– प्रभु , म अलि व्यस्त थिएँ । हजुरको कृपाले मलाई ठूलो टेन्डर हात परयो ।  

भगवान् खुसी हुँदै  ल बधाई छ ।  कस्तो टेन्डर हात पार्नुभयो ! भगवान्ले जिज्ञासापूर्वक सोध्नुभो ।

– प्रभु,  हजुरकै सेवा गर्नी मौका पाएँ । पोहोर  मैले हजुरको कम्पाउन्डमा लगाएको पर्खाल भत्किएछ । फेरि लगाउने टेन्डर मलाई नै परेछ प्रभु ।

–  प्रत्येक वर्ष यस्तै अवसर प्राप्त होस्, तथास्तु !

३) कू  

 

– यो कू भनेको के हो बाबा ! छोराको जिज्ञासाले म केहीबेर सोचमग्न भएँ ।

–  कू भनेको कुमार्ग हो बाबू !

– अनि यो कुमार्ग भनेको चाहिँ के हो नि ?

– कुमार्ग भनेको अरूलाई कुभलो गरेर गलत बाटो हिँड्नु हो बाबू ।

बाटोमा अश्लील नाराहरू लगाउँदै दौडिरहेको जुलुसतर्फ औंला देखाउँदै छोराले सोध्यो – बाबा यिनीहरू सबै कुमार्गबाट दौडिरहेका हुन् ।

छोराको गम्भीर प्रश्नले मेरो मथिङगल हल्लियो ।  बाटो गलत थियो वा सही थियो म निरुत्तर थिएँ ।

प्रकाशित: २५ पुस २०७७ ०५:३२ शनिबार

अक्षर