२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

रचना पुनर्जन्मका सुखद क्षणहरू !

संस्मरण

 रामविक्रम थापा

  ‘आजभोलि बालकमा पढ्नु , लेख्नु गर्नु छ

   भविष्यमा गएर देशको विकास गर्नु  छ ...!’

२०३४ सालमा आठ वर्षको म तीन कक्षामा पढ्थेँ । रेडियो नेपालको बाल कार्यक्रममा प्रथम पटक आफ्नो बालकविता प्रशारण भएको सुन्न पाउँदा हर्षले उफ्रेको थिएँ म । पल्ला घरको फिलिप्स(इन्डियन) रेडियोले कार्यक्रम सञ्चालकको स्वरमा आफ्नो कविता सुनाउँदा असीम खुसीले झन्डै पागल भएको थिएँ म । सुन्नेहरूले बधाई दिँदा अझ थप ऊर्जा प्राप्त भएथ्यो । मुलुकको एक मात्र प्रसारण संस्था, रेडियो नेपालबाट त्यो बालापनमा आफ्नो नाम आउनु चानचुने कुरै थिएन । खुसीको बहारले भोक र निद्रा दूर भएका थिए मबाट । साहित्यिक यात्रामा प्रथम उत्प्रेरणा थियो त्यो क्षण मलाई ।

स्कुलको कविता प्रतियोगितामा ‘मातृभूमिको वेदना’ शीर्षकको कविता प्रथम हुँदा ५ कक्षाको त्यो बेला पनि म बेहद खुसी थिएँ । आठ कक्षाको नेपाली किताबमा ‘ भूतको सिकार ’ पाठ पढेपछि भूतप्रतिको जिज्ञासा बढ्यो र गोरखापत्रमा सम्पादकलाई चिठी पठाएँ । ‘ भूत हुन्छ कि हुँदैन ?’ सम्पादकलाई चिठी गोरखापत्रमा छापिएको देख्दा पनि रमाएर म नाचेको थिएँ । त्यसपछि  गोरखापत्रकै शनिवासरीय परिशिष्टाङ्कमा ‘गाउँखाने कथा’ छापिएको देख्दा पनि गोरखापत्रलाई सुम्सुम्याउँदै चुम्बन गरिरहेँ । रेडियो नेपालको गीत फर्माइस र चौतारी कार्यक्रममा आफ्नो नाम सुन्न पाउँदा पनि पहिलो पटकचाहिँ निकै मक्ख भइन्थ्यो । सानातिना कुराले पनि हाँसो र खुसीका पूmल फुलाउने त्यो सुखद बाल्यपन !

कक्षा ९ मा पढ्दा २०४१ सालमा इनरुवाबाट प्रकाशित हुने ‘समाचार जगत’(साप्ताहिक)मा मेरो पहिलो कविता छापियो । शार्दूलविक्रीडित छन्दको ‘नव वर्ष’ शीर्षकको त्यो कविता छापिएको देख्दा म पनि कविता लेख्न जान्दो रहेछु भनेर फुरुङ्ङै परेँ । पहिलो सम्पादकीय स्वीकृतिमा नरमाउने कुरै भएन । एसएलसीको नतीजा आएर प्रथम श्रेणीमा उत्तीर्ण भएकै अवसरमा २०४३ असारमा गोरखापत्रको शनिवासरीय परिशिष्टाङ्कमा प्रकाशित शार्दूलविक्रीडित छन्दको ‘भानुप्रति’ कविताले त घनघस्याको उकालो काटेर पहाडको टुप्पामै पुगेको अनुभूति मलाई भएको थियो । रेडियो नेपालको बाल कार्यक्रममा बालकविता, अनुरोध गीतमा नाम र चौतारी कार्यक्रममा मुक्तक अघाउँजी प्रसारित भए भने गोरखापत्रमा सम्पादकलाई चिठी र गाउँखाने कथा पनि यथेष्ठ प्रकाशित भए । हाइस्कुलको विद्यार्थी कालमा ‘गरिमा’ र ‘मधुपर्क’को पाठक मात्र भएँ म, लेखक हुन सकिनँ । खोटाङ जिल्लाको जिल्लास्तरीय कविता , निबन्ध र हाजिरी जवाफ प्रतियोगितामा भने कैयौँ पटक प्रथम पुरस्कार हात लागेथे ।

२०४३ सालमा आइएस्सी पढ्न धरान झरेपछि भने हात्तीसार क्याम्पसका कक्षा छाडेरै साहित्यिक गोष्ठी र सभाहरूमा खूबै धाइयो । साहित्यमा रुचि भएको मान्छेलाई विज्ञानका कक्षाहरू के रुचिकर हुन्थे र ? कुन्ता शर्मा, बम देवान, बेणु आचार्य, मानबहादुर शाक्य र राजकुमार कार्कीका ताता कविताहरूले मलाई पनि निकै तताए, जागृत गराए । नवीन सुब्बा, रमेश केसी स्व.विमल गुरुङ र सविता श्रेष्ठ ‘बेहोसी’ लाई पनि यतिबेला म सम्झिरहेछु । आरसी, संसार र सप्तकोसी जस्ता स्थानीय साप्ताहिक पत्रिकाले आफ्ना कविता प्रकाशित गर्दा म औधी रोमाञ्चित हुन्थेँ । मधुपर्क र गरिमाको नियमित पाठक भएर सम्यक् अध्ययन गर्दै पाठक प्रतिक्रिया पठाइरहन्थेँ ,छापिइरहन्थे । त्यही पाठक प्रतिक्रिया आउँदा पनि अधिक खुसी भइन्थ्यो त्यो बेला । तिनै पाठक प्रतिक्रियाहरूले मभित्र समीक्षात्मक चेत पलाएको हो ।

दुई वर्षसम्म कविता पठाउँदापठाउँदा गरेपछि २०४४ साल चैतको मधुपर्कमा बल्ल मेरो पहिलो कविता आएको थियो । शार्दूलविक्रीडित छन्दको मेरो ‘माटोको माया’ कविता मधुपर्कको आँकुरा स्तम्भमा छापियो । फोटो र परिचयसहितको त्यो कविता छापिँदाको खुसीलाई म यहाँ कुनै शब्दमा व्यक्त गर्न असमर्थ छु । अबचाहिँ आपूm साँच्चैको कवि भएको अनुभूत गरेँ । मधुपर्कको अन्तिम पानातिर प्रकाशित त्यो कवितालाई पटकपटक हेर्दै र पुलकित हुँदै सम्पादक कृष्णभक्त श्रेष्ठलाई मनमनै निकै मुरी धन्यवाद दिएँ । त्यो मधुपर्क पाएको दिन बेलुकी सीमाहीन खुसीले मलाई खाना नै रुचेन । त्यो खुसी झन्डै एक महिनासम्म मभित्र सञ्चार भइरह्यो । त्यसपछि , २०४५ पुसको मधुपर्कमा उपेन्द्रबज्रा छन्दको ‘म’ कविता आउँदा पहिलाभन्दा अलिक कम खुसी भएको कुरा अहिले पनि मलाई प्रष्टै थाहा छ ।

हात्तीसार क्याम्पस धरानमा २०४५ सालमा भएको सिसास—जेसिज कवि गोष्ठीले पनि मलाई निकै उत्साही बनायो । आपूmले कविता वाचन गर्ने अवसर नपाए पनि केदारमान व्यथित, उपेन्द्र श्रेष्ठ, केशवराज पिँडाली, बेञ्जु शर्मा, मञ्जु काँचुली , सरुभक्त, गुमानसिंह चामलिङ, कुन्ता शर्मा, बम देवान आदिका कविता श्रवणले मलाई मनग्यै ऊर्जा प्रदान भयो । स्थापित कवि भएर भविष्यमा म पनि यसरी नै ठूला गोष्ठीहरूमा कविता सुनाउँछु भन्ने प्रण गरेँ । डराउँदै भए पनि गुमानसिंह चामलिङ र सरुभक्तसित साहित्यिक अन्तर्वार्ता लिएर पत्रिकामा छपाएँ । कविवर व्यथित र व्यङ्ग्यकार पिँडालीसित अन्तर्वार्ता लिने मेरो आँट पुगेन , प्रयास मात्र गरेँ । पठाउनासाथ पहिलो कविता स्वाट्टै छापिएको मेरो कविता भनेको एकेडेमीको ‘कविता’ मा हो । २०४५ पुसको अङ्कमा शार्दूलविक्रीडित छन्दको ‘शुभकामना’ कविता राजा वीरेन्द्रप्रति समर्पित थियो । चर्चित कवि भूपि शेरचन प्रधान सम्पादक रहेको ‘कविता’ मा आफ्नो पहिलो कविता आउँदा मलाई निकै गौरव लागेको थियो । पछि गएर त्यो कविताको विषय–वस्तुप्रति स्वयम्मा वितृष्णा जागेर आफ्नो कविता–सङ्ग्रहमा त्यो कवितालाई समावेश पनि गरिनँ ।

२०४२ सालदेखि कविता पठाउँन थालेको ‘गरिमा’ ले २०४६ साल वैैशाखमा बल्ल मेरो कविता छाप्यो । मन्दाक्रान्ता छन्दको ‘नव वर्ष’ कविता ‘गरिमा’ को अग्रपृष्ठमै छापिएर आएको देख्दा भने तेञ्जिङ शेर्पाले सगरमाथा आरोहण गरेको आकारमै हर्षविभोर भएको थिएँ म । बहुप्रतिक्षित गरिमा प्रवेशको मेरो सपना पूर्ण भएको त्यो क्षण राष्ट्रकै स्थापित कवि भएको अनुभूतिमा थिएँ म । तर आज बुभ्mदा त्यो त मेरो प्रारम्भिक पाइला पो रहेछ । तर, त्यतिबेला म आकाशमा उड्दो चरा नै भएको थिएँ । मेरो कवितामा चित्र पनि उडिरहेका चराहरू नै थिए । अगाडिको पहिलो पानामा मेरो कविता र त्यसको पछाडि मेरा प्रिय निबन्धकार डा. तारानाथ शर्माको निबन्ध (रिट्ठू गाई ?) । अहा, क्या रमाइलो र आनन्ददायक त्यो सर्जकीय परिवेश । ‘ढिलो भए पनि आखिर छोरै भयो ’–प्राडा माधवप्रसाद पोखरेल (भारतको पूनामा विद्यावारिधीरत) ले पत्र लेखेर मलाई बधाई दिनुभएको थियो ।

यसरी, छन्दका कविताले धेरै पत्रपत्रिकाहरूमा मलाई प्रवेश गराए र उत्साहित भएर म यो क्षेत्रमा अडिएँ । अतः छन्दका कविता र गोरखापत्र संस्थान मेरा लागि विशेष प्रेरणाप्रदायक भए । मधुपर्क र गरिमाले मेरा रचना (कविता,गजल,लघुकथा र निबन्ध) बेलाबखत छापिरहे । मिर्मिरे, समष्टि, युवामञ्च, जनमत, मुना, बालक, सुनकेस्रा, नव कविता, बगर, सगर, रचना, अभिव्यक्ति, दायित्व, वेदना आदि पत्रपत्रिकाहरूले मलाई माया गरेर मलाई न्यायोचित स्थान दिएकै हुन् । शारदा, मातृभूमि, प्रतिनिधि नेपाली लघुकथा र प्रतिनिधि नेपाली बालकवितामा पनि मलाई हाजिर गराइएकै हो । खोटाङको विकट गाउँका हुलाकबाट प्रेषित् मेरा काँचाकचिला रचनाहरू अरू स्वनामधन्य पत्रपत्रिकाहरूले पनि प्रकाशित गरिरहे । २०५५ सालमा पहिलो कृति ‘पात्रहरू’(लघुकथा–सङ्ग्रह) निकाल्दा पनि मेरो खुसीको पारो बढेको थियो । २०५६ मा ‘छरिएका कविता’ र २०६४ मा ‘बालपोष’(बालकविता–सङ्ग्रह) मैले आफ्ना दोस्रो र तेस्रो सन्तान जन्माउँदाको खुसियाली पनि भव्य नै थिए । बालसाहित्यमा हौँसिएको म, आफ्नो चौथो कृति एवम् दोस्रो बालकवितासङ्ग्रह ‘राम्रो बानी’ २०७३ मा आउँदा एक सन्तान थपिएको सुखद अनुभूतिले म फेरि एकपटक प्रफुल्ल हुँदो भएँ । एलवि चाम्लिङ भाइले भनेर कथालयलाई ४ बालकथा पठाएकोमा २ बालकथा स्विकृत भै छनौट भएको हर्षलाई म यहाँ शव्दमा व्यक्त्याउन सक्दिनँ । आकर्षक चित्र र सजावटमा कथालयबाट आएका मेरा २ बालचित्र कथा—सुनापातालको सुनाझाँक्री र ट्याम्केको घुमघाम लाई बालबालिकाले निकै रुचाए । आकाशको बञ्चरो —ट्रिनिटी प्रकाशनबाट र गाउँभरि भूतको हल्ला ः२०७४ र जे माग्यो त्यही दिने पोखरी ः२०७५ — स्वदेश प्रकाशनबाट  दुई बालकथासङ्ग्रह प्रकाशित हुँदा पनि कृतिको सङ्ख्या ९ पुग्दाको सुखानुभूति पनि उल्लेख्य लाग्छ मलाई ।  यही २०७५ सालभरिमा लघुकथासङ्ग्रहको पाण्डुलिपि तयार गर्ने योजना मात्र होइन खोटाङका लोककथा सङ्कलनको अधुरो कार्यलाई पूर्ण गर्नु पनि छ मैले । २०५६ पछिका कविता र गजल छाप्न त बाँकी  नै छन् । मनकारी र धनकारी प्रकाशक खोजिरहेका छन् मेरा सिर्जनाले । अरू सन्तान जन्माउँने तीब्र मोह (मुमुक्षा) पालेर अहिले म भोकले छटपटाइरहेको अवस्था छ । आर्थिक अभाव र मेरो अल्छेपन तगारा भएर मेरा अगाडि खडा छन् । 

एकेडेमीको ‘समकालीन साहित्य’मा रचना छपाउँने मेरो अधुरो सपना पूरा भएन । केही लघुकथा र निबन्ध पठाउँदा ‘समकालीन साहित्य’ले मलाई पत्याएन । आपूm आख्यानमा कम कलम चलाउने मान्छे । अविनाश र भाउपन्थीले मलाई त्यो ढोका खोलिदिनु भएन । एक किसिमको पीडाबोध भयो मलाई । यसले मेरो छाप्दैन भन्दै धेरै वर्ष कुनै रचना पठाइनँ मैले ।सम्पादक मण्डलकै एकजना शुभेच्छुक मित्रले फोनमा मलाई भन्नुभो –‘समकालीन साहित्यलाई राम्रा लघुकथा पठाउनुस् !’ आशङ्काको दोधारे मनस्थितिमा केही लघुकथा पठाएँ । नभन्दै, ‘समकालीन साहित्य’ को पूर्णाङ्क–७२ (मङ्सिर–माघ २०७१)मा मेरो लघुकथा छापिएछ । दीर्घ प्रतीक्षाको प्राप्ति अनमोल र सुखद हुँदो रहेछ । यो उमेरमा आएर त्यो पत्रिकामा स्थान(सानै भए पनि) पाउँदा आफ्नो धोको पूरा भएको अनुभूति भयो । अलिकपछि त्यही पत्रिकामा अर्काे लघुकथा पनि आयो मेरो । रचना पठाएर प्रकाशनको प्रतीक्षा गर्नु र आफ्नो रचना प्रकाशित भएको पत्रिका प्राप्त गर्नु –एउटा सर्जकका लागि बडा रमाइलो र संप्राप्तिको क्षण हुँदो रहेछ । अरू सर्जकहरूलाई पनि यस्तै होला सायद !

 गरिमामा प्रकाशित आफ्नो निबन्ध हेर्दै र सुम्सुम्याउँदै अनि सम्पादकप्रति कृतज्ञ बन्दै हर्षित् भएको डा. तारानाथ शर्माको उज्यालो मुहारको त्यो क्षणलाई मैले आफ्नै आँखाले साक्षात्कार गरेको छु । राष्ट्रकवि माधव घिमिरेले मधुपर्कका सहसम्पादक तुलसीहरि कोइरालालाई एउटा रचना थमाउँदै केही वर्षपहिले भन्नुभएको कुरा पनि उल्लेख्य लाग्छ –“ यो छिटै आओस् है ! मधुपर्कमा मेरो रचना नआएको धेरै भयो !!” त्यत्रा स्वनामधन्य काव्यका धरोहरलाई पनि प्रकाशनको त्यति मोह ! प्रकाशनको तीव्र भोक र प्यास लेखकहरूको महारोग नै हुँदोरहेछ भन्ने अनुभूत हुन गयो । नेपाल टेलिभिजन र रेडियो नेपालको साहित्यिक कार्यक्रममा राजधानी गएको बेला सहर्ष कविता रेकर्ड गराइन्थ्यो । खोटाङ पुगेर आफ्नै स्वरमा रेडियोबाट आफ्नो कविता सुन्नुको मज्जा पनि अर्कै हुन्थ्यो । त्यति बेला  टेलिभिजन हेर्ने र सुन्ने त गाउँमा पहुँचै थिएन । अलिकपछि , सप्तकोसी , रूपाकोट, गोरखा, मेट्रो, बिएफएमजस्ता बग्रेल्ती एफएमहरूमा साहित्यिक अन्तर्वार्ता दिन पनि धाएरै रेडियो स्टेशन पुगिन्थ्यो । त्यो बेलाको जाँगर र उत्साह नै बेग्लै थियो ।  

२०४५–०४६ सालतिरको साहित्यिक पत्राचारलाई पनि म यतिबेला स्मरण गरिरहेको छु । कसैलाई आफ्ना फुटकर रचना प्रकाशनको पीडा र समस्या उल्लेख गर्दै त कसैलाई मधुपर्क र गरिमामा प्रकाशित वहाँहरूका रचना मन पराएर साहित्यकारहरूलाई हुलाकबाट पत्र पठाउँथेँ । अधिकांशका प्रत्युत्तर–पत्र पाएर फुरुङ्ङ भएको त्यो क्षण पनि कम्ता लोभलाग्दो छैन । युगकवि सिद्घिचरण श्रेष्ठले छोरी मिश्रीलाई संक्षिप्त पत्र लेख्न लाएर हस्ताक्षर गरेर पठाउनुभएको थियो । अति सुन्दर अक्षरमा लामो पत्र लेखेर प्रिय निबन्धकार डा. तारानाथ शर्माले साहित्यिक मार्गबाट विचलित नभै हाम्रा हिमाल र नदीबाट प्रोत्साहन लिनुपर्ने कुरा मलाई सुझाउनुभएको थियो । कविकुटिर ,ज्याँठाटोल, काठमाडौँ ठेगाना भएको व्यक्तिगत लेटरप्याडमा कविवर केदारमान व्यथितका काइते हस्ताक्षर उक्काउँन हम्मेहम्मे हुन्थ्यो मलाई –कमल दीक्षितका अक्षर उक्काउनजस्तै । मसिना अक्षरमा सिर्जित स्व. मनु ब्राजाकीका भावनाहरू गम्भीर एवम् सम्प्रेष्य हुन्थे । डा. माधवप्रसाद पोखरेलका सल्लाह र सुझाव मलाई अभिभावकीय मार्गदर्शन लाग्थे । डा. वानीरा गिरि, डा.केशवप्रसाद उपाध्याय, दिनेश अधिकारी, वनमाली निराकार र ज्ञानुवाकर पौडेललाई पनि मैले पत्र पठाएँ । यसैगरी, डा.वमबहादुर थापा जिताली, डा.घनश्याम न्यौपाने परिश्रमी, विवश पोखरेल,रत्न प्रजापति, ज्ञानेन्द्र श्रेष्ठ विवश ,अरुण नदी,..........सितका साहित्यिक पत्राचारले पनि मलाई मनोरञ्जनका अतिरिक्त विशेषः ऊर्जा दिएकै हुन् ।

डा. वानीरा गिरिलाई लेखेको एउटा सानो समीक्षात्मक पत्र उल्लेख्य र ऐतिहासिक भएको सुखद सन्दर्भ लाग्छ अहिले । आजसम्म पनि मैले वहाँका पुस्तकाकार कृति पढेको छुइनँ । मधुपर्क र गरिमामा प्रकाशित फुटकर कविता मन परेर मैले डा. गिरिलाई चिठी लेखेको थिएँ । २६ वर्षसम्म मेरो त्यो पत्र सुरक्षित राखेर मधुपर्क सम्मानको मन्तव्यमा वानीरा दिज्यूले मञ्चस्थ गर्नुभएको कुरा मैले खोटाङमा सुन्न पाएको थिएँ ।

 हालै प्रकाशित प्रकाश सायमीकृत ‘ काठमाण्डू सेल्फी ’ को “ नेपथ्यमा हराएकाहरू ”(पृ.१९) मा उक्त कुरा उल्लेख भएको देख्न पाउँदा मलाई गर्वानुभूति त भयो नै । एउटा सशक्त लेखकलाई थप ऊर्जा प्रदान गर्न सकेकोमा साहित्यिक पत्राचार सार्थक भएको समेत अनुभूति भयो ।

ऐरावती, ओएसिस, शिक्षा परीक्षा सामग्री केन्द्र, जेविडी र आठराई प्रकाशनका बोर्डिङका नेपाली पाठ्यपुस्तक   (केजीदेखि ७ कक्षासम्म ) मा आफ्ना बालकविता रहनुले पनि बालकवितामा मलाई थप ऊर्जा प्रदान गरेका छन् । रातो बङ्गला स्कुलको —छन्दको छहरा मा आफ्नो छन्दोबद्व कविता रहेको कुरा पनि निकै वर्षपछि काठमाडौँ पुग्दा मात्र जानकारी भयो मलाई । विकट पहाडी जिल्लाको दुर्गम  

गाउँमा बस्दो म जस्तो भुइँमान्छेलाई राजधानीका कुरा थाहा पाउन पनि निकै गाह्रो ! कतिपय लेखरचना प्रकाशित भएको पनि अथाहा हुन्छ म विकटे बबुरोलाई ।  वाणी प्रकाशन, प्रहरी प्रधान कार्यालय र रावासावा प्राज्ञिक समाज आदिका पुरस्कार र सम्मानले पनि मेरो साहित्यिक यात्राको कदर गरेकोमा आनन्दानुभूति भइरहन्छ । स्नातकोत्तर तहमा नेपाली  विषयका चारजना विद्यार्थीले मेरो जीवनी, व्यक्तित्व र कृतित्वमा शोध(थेसिस) गर्नुलाई पनि आफ्नो मूल्याङ्कनको एउटा पाटाका रूपमा लिनुपर्छ । मेरो बालसाहित्यमा हाल दुईजना स्नातकोत्तर विद्यार्थी शोधरत रहनु पनि बालसाहित्यमा आफ्नो सार्थक उपस्थितिको द्यौतक मान्नुपर्छ । बालसाहित्यमा अलिक बढी नै एकोहोरिएछु जस्तो लाग्दैछ पछिल्लो समय । 

बेलैमा राजधानी छिर्ने मेरा समकालीन साथीहरू निकै अगाडि पुगेका प्रष्टै देख्न सकिन्छ । युवराज नयाघरे, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, रत्न प्रजापति, कृष्ण शाह ‘यात्री’, रोशन थापा ‘नीरव’ जस्ता समकालीन मित्रहरू साहित्यिक यात्रामा निकै पर पुगेको सन्दर्भ मलाई सुखद लाग्छ । आफ्नो पुस्ताको उन्नयनले आपूmलाई प्रेरणा र गौरव प्रदान गर्दो रहेछ । आफ्ना दाँैतरीका रचना विश्व विद्यालयका पाठ्यपुस्तकमा रहँदा गर्दा त हुँदो रहेछ जस्तो भएको छ । विकट पहाडी जिल्लाको दुर्गम गाउँमा बस्दो यो बबुरो कलमले योभन्दा बढी मसी खोज्नु पनि अस्वाभाविक जस्तै लाग्छ । पहिले धेरै लेखिन्थ्यो तर छाप्न गाह्रो हुन्थ्यो । अहिले फुटकर रचना छाप्न केही सहज भएको अवस्थामा लेखन साह्रै न्यून छ । आक्कलझुक्कल फुटकर रचना पत्रिकाहरूमा छापिन्छन् । २–३ वर्षमा राजधानी गएको बेला बाटो खर्च(पारिश्रमिक) पनि थोर बहुत पाइन्छ । सानोतिनो भएपनि लेखकीय पहिचान बनेकोमा यतातिर समय लगानी गरेर ठिकै पो गरिएछ कि ! जस्तो पनि लाग्छ ,आज ।

                                सरस्वती मावि दिक्तेल,खोटाङ                      

प्रकाशित: २२ मंसिर २०७७ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App