रामकुमार पण्डित क्षत्री
सन्तानले चिलिमझैँ मुख बाएर
आमाको छाती निचोरी
जब भर्दछ घ्याम्पोजत्रै पेट
तब, आफैँलाई रित्याएर
सन्तानलाई पिलाउँदा
देखिएको असीमित खुशी
प्रष्टिन्छ आकाशको उज्यालोजस्तै
सन्तानले सक्नेजति
लगिरहन्छ प्यार
कहिले अँजुलीभरि
कहिले लोटाभरि
कहिले गाग्रीभरि
जति नै लगे पनि
कहिल्यै नसकिने
उनको सागरमयी
प्रेमको टाउकोमा
एउटा निर्दयी सन्तानले
ढुङ्गा हाने पनि
उनी मूर्तिवत सहिदिन्छिन्
पलाउन दिन्नन्
कहिल्यै आँकुरा बदलाको
उनी त ममताको सागरभित्र
पृथ्वी अटाएकी
आमा हुन् ।
प्रकाशित: २० मंसिर २०७७ ११:१५ शनिबार