नवराज रिजाल
१)
हो त , इमान बेचेर भरपेट खाइरहेछन् ती’
ख्वाउनेको गीत ढुक्क भएर गाइरहेछन् ती ।
दिनदिनै चितामाथि चढाउँदै आफूलाई,
कुन्नि किन हो अचेल उतै धाइरहेछन् ती ।
२)
ऊ ! मस्तले नचाइरहेछ हामी नाचिरहेछौँ,
उसकै इच्छाभित्र रमेर नै सबै बाँचिरहेछौं ।
मुरली बजेपछि देखिँदो रहेछ अचम्म भाव,
अंगरू पनि इशारा बमोजिम भाँचिरहेछौं ।
३).
उठेको शिर निहुराउन लागेका छन् कोही,
आमा सुक्रीविक्री गर्न जागेका छन् कोही ।
लोभ बोकी बटुकोमा हिँडिरहेको देख्छु ,
आत्मविश्वास डढाएर भागेका छन् कोही ।
४)
फिक्री छैन रेफ्रीको सिठीले हिँडाएको छ ,
विपत् कालमा समेत मन भिडाएको छ ।
तीतो सत्य सुन्ने आँट थोरैमा मात्र हुन्छ,
समयले देखाइरहेछ खुट्टा गिँडाएको छ ।
५)
अचम्म ! दाइ खुइल्याउन भाइ लागेको छ,
सरसहयोग उताबाट रोईकराई मागेको छ ।
दुनियाँ हाँसेको छ अब त खुल्छ कि चेत,
खै बिर्सेछन् कि हामीलाई सधैँ दागेको छ ।
प्रकाशित: २० मंसिर २०७७ ०४:४४ शनिबार