हेमलता उप्रेती
रातो टीसर्ट लगाएको युवकले हाँकेको बाइक हुँइकिंदै अजितको छेवैमा आइपुग्दा एउटा पर्स खस्यो । पर्स खसेको थाहा पाएर फर्केर आउला भनी अजितले उसलाई पछाडिबाट हेरिरह्यो । तर ऊ झन् रफ्तारमा हुँइकिदै चौबाटोमा पुगी पूर्वतर्फ लाग्योे ।
चारैतिर सुनसान थियो । ऊ आँखाबाट ओझेल हुनासाथ अजितले पर्स टिपेर खोल्योे । त्यहाँ हजारहजारका नोटहरु देखेर उसको मुटु ढुकढुक गर्यो । ऊ नजिकैको शौचालयमा पसेर पैसा गन्यो । पच्चिस हजार रहेछ ।
“अब के गर्ने ! ” उसले एकछिन सोच्यो । झोलामा पर्स राखेर साइकल चढ्यो । उसको बाटो पनि चौबाटोबाट पूर्व थियो । किन्तु त्यहाँ पुग्दा उसको मनले केही भन्यो । ऊ पश्चिमतर्फ लाग्यो । केही सुरक्षित महसुस गर्यो ।
खोल्सो नजिक पुग्दा उसलाई अर्को जुक्ती सुझ्यो । मनले भन्यो, “पर्सबिनाको पैसा त मेरै पनि हुन सक्छ ।” उसले पैसाजति आफ्नो झोलामा राखी पर्स खोल्सामा फाल्दियो ।
केहीबेरमा ऊ बजारमा पुग्यो । “यो पैसाले के गरौ !” मनमा कुरा खेलिरहेको थियो । मनले भन्दै थियो, “छोरालाई बल किन्दिउँ ! बल खेल्दा झ्यालको सिसा फुटायो भने घरबेटीको जात्रा हुन्छ । नगरौ ।”
“छोरीलाई गुडिया लगिदिउँ ! गुडियासँग खेलेर पढाइ बिग्रेला, हुन्न ।”
“श्रीमतीलाई कपडा, खाँचो छैन, पर्दैन ।”
“आफूलाई जुत्ता, जुत्ता लाउने बानी छैन, के लाउनु ।”
दोधार हुँदाहुँदै उसले रातो लुगा लगाएको मान्छे देख्यो । झसङ्ग भयो । कपडा पसलभित्र छेलियो । त्यहीं आफ्नो गोजीकै पैसाले सस्तो सर्ट किनेर फेर्यो । ह्याट किनेर लगायो । मन अलि शान्त भयो ।
अब उसलाई त्यहाँ बस्न ठीक लागेन । सोच्यो । निष्कर्षमा पुग्यो । सरासर बैकमा गयो । पच्चिस हजारको भौचर भरी पैसा र भौचर दियो ।
ऊ भौचरको प्रतिलिपि कुरिरहेको थियो, चारजना प्रहरी आई उसलाई समाते र हप्काउँदै सोधपुछ गर्न थाले, “नक्कली पैसाको कारोवार गरेको कति भयो !”
प्रकाशित: १९ मंसिर २०७७ ११:४१ शुक्रबार