स्नेह पोखरेल
कृष्ण बृन्दावनमा हुँदा आफ्ना साथीहरूसँग सधैँ गाई चराउन जान्थे । धनी, गरीब, राम्रा, नराम्रा सबै कृष्ण भगवानका लागि बराबर थिए । कहिले कसैको भेदभाव नगरी कृष्णले सबैको ख्याल राख्नुहुन्थ्यो ।
एकदिन साथीहरूसँग कृष्ण भगवान् वनभोज खान भनेर जंगल जानुभयो । वनभोजमा सबैले मिठामिठा खानेकुराहरू लगेका थिए । सबैजना भगवान् कृष्णलाई आफूले लगेका खानेकुरा ख्वाउन पाउँदा खुसी मान्थे । त्यसैले भगवानलाई एकपछि अर्को गर्दै मीठामीठा खानेकुराहरू ख्वाउन व्यस्त थिए । भगवान् कृष्ण पनि सबैले ल्याएका खानेकुराहरु मीठो मानीमानी खाँदै हुनुहुन्थ्यो ।
मधुमंगल नामको गरीब ब्रहमाण्ड पनि कृष्णजीको साथी थियो । हरेक दिन घरघरमा गई भिक्षा मागेर उसको जीवन चल्दथ्यो । त्यसैले उसले कृष्णका लागि खुवाउन केही खानेकुरा लान सकेको थिएन । ऊ अलग्गै बसेर कृष्णलाई अरूलाई खुवाएको हेरेर मसँग पनि केही खानेकुरा हुँदो हो त मेरा कृष्णलाई यसरी नै खुवाउने थिएँ । मनमनै सोच्दै मधुमंगल तड्पिरहेको थियो ।
भगवान् कृष्ण त सबैको मनको कुरा बुझिहाल्नुहुन्थ्यो । आफ्नो मित्र मधुमंगलको मनको कुरो पनि बुझिहाल्नुभयो । त्यसैले भगवानले मीठो मानेर खानेकुरो खाँदाखाँदै मधुमंगलछेउ जानुभो । अनि “मधु आज तिमीले मलाई खोई खान दिएको । तिमीले जे ल्याएका छौँ जे दिन्छौँ त्यही नखाई मलाई तृप्ति नै हुँदैन । भगवानले मधुमंगललाई अंकमाल गर्दै भन्नुभयो । मधुमंगलले आज त केही छैन भोलि खुवाउँछु भन्यो । तर भगवानले हैन मधु आज नै खान्छु तिम्रो घरमा जे छ त्यही लिएर आऊ । म तिमीले दिएको खानेकुरा खान पर्खिरहन्छु’ भन्नुभयो ।
कृष्णले त्यसो भनेपछि मधुमंगल हत्तारिँदै घर आयो । आमा आज मेरो साथी कृष्णलाई के खुवाउनु । वनभोजमा अरू साथीहरूले आफ्ना खानेकुराहरू खुवाइरहेका छन् । मैले केही लगेको थिएन, केही ख्वाउन पाइन आमा । उसले आमा पूर्णमासी ब्राम्हणीका अगाडि गएर मायालाग्दो गरी दुःख पोख्यो ।
“नानी हामी भिक्षा मागेर खानेहरू हौँ । हाम्रो के हुन्छ र ? हरेक दिन मागेर अलिअलि ल्यायो अनि त्यहीबाट पकाएर खाइहाल्छौँ । भोलिलाई पर्सिलाई भनेर केही बाँकी रहँदैन नि । पूर्णमासी ब्राम्हणीले निरास हुँदे छोरालाई सम्झाइन् ।
छोरालाई चित्त बुझेर । कर गर्दै आमालाई फेरि भन्यो, ‘आमा कृष्णले तिम्रो घरमा जे छ त्यही लिएर आऊ । तिमीले दिएको नखाई छाड्दिन भन्नुभएको छ ।’
पुर्णमासी ब्रम्हाणीलाई छोराले जिद्धी गरेको देखेर दिक्क भइन् । घरमा हेर जे भेट्छौं त्यही तिम्रो कृष्णलाई खुवाउन लिएर जाउ भनेर आज्ञा दिइन् ।
आमाले त्यसो भनेपछि मधुमंगल घरभित्र गयो । खालि भाँडाहरू भित्र केही भेटिन्छ कि भनेर एकएक गर्दै हेर्न थाल्यो । खोज्दाखोज्दा बल्लतल्ल एउटा माटाको भाँडामा तीन दिनअघि उभ्रिएको बासी कडी भेट्यो । मधुले उसको घरमा अरू केही नभेटेपछि त्यही भए पनि लिएर दौड्दै –दौड्दै त्यहाँ पुग्यो । त्यसबेला पनि कृष्ण अगाडि चौरासी व्यञ्जन खानेकुरा राखेको देख्यो । त्यसपछि आफूले लगेको कढीको भाँडो उठाएर सुघ्यो । अमिलो कढी मुखै बिगार्ने गरी ह्वास्स गन्हायो । त्यस्तो मिठोमिठो व्यन्जन खाँदै गरेको कृष्णलाई हे¥यो । यस्तो अमिलो गन्हाउने कढी नदिने सोचले त्यो कढी आफै पिउन खोज्यो । मधुले कृष्णका लागि ल्याएको खानेकुरा आफै खान लागेको साथीहरूले देखे । अनि कृष्णलाई भने मधुले घरबाट तिम्रो लागि ल्याएको खानेकुरा आफै पिउँदै छ ।
कृष्ण दौड्दै गएर मधुले पिउँदै गरेको जुठो कडी खोस्नुभयो । अनि घटघटी पिउनुभयो । एकै सासमा पिइसकेपछि अहो ! कति स्वादिलो कति मिठो कडि ल्यायौ मधु तिमीले त । म त तृप्त भएँ भन्दै सुखी भएर मधुमंगललाई अंकमाल गर्नुभयो ।
कृष्णले त्यस्तो नमिठो कडि मिठो मानेको देखेर मधुमगंल रुन थाल्यो । त्यसपछि भगवानले मधुलाई सम्झाउँदै भन्नुभयो, ‘साथी, तिमीले मप्रति गरेको जुन प्रेम छ त्यही नै ठूलो कुरो हो । मेरो प्रेम नगर्ने भए तिमी यसरी घर गएर कढि खोजेर ल्याउने नै थिएनौं । त्यसैले तिम्रो प्रेमपूर्वक भावनाले भरेको यो कढि मलाई असाध्य मिठो भएको हो, बुझ्यौ ।’
कहिले पनि भगवान् कृष्णले धनी, गरीब, छुत, अछुत कसैलाई फरक देख्नु भएन । हरेकको मनको कुरा बुझेर मनमा नै रहनुहुन्थ्यो । अझै पनि कृष्ण भगवान् कण –कणमा हुनुहुन्छ नानी हो ।
प्रकाशित: ६ मंसिर २०७७ ०६:१४ शनिबार