नन्दु उप्रेती
मकैबारीमा कलिला घोगाहरू ठुङ्ग्थे
काग र सुगाहरू
भँगेराका बथानहरू उड्थे
लहलह झुलिरहेका
धानका बालाहरू माथिमाथि
उत्तिसघारी र बाँसघारीबाट
एकाबिहानै आफ्नै गीत गाउँदै
सारौँ र बकुल्लाका हुलहरू निस्कन्थे
म आँगनमा
उफ्रिदै रमाउँथे
कहिले– कहिले दौड्दै त
कहिले चूपचाप उभिएर
तर, थाहा पाउँदैनथे म
मेरो प्रिय काठमाडौँको बास्ना ।
म घरको पिँढीमा बस्दा
बाग्मती, विष्णुमती, पशुपति, स्वयम्भू
पर चोभार, गोदावरी र फुलचोकी
माथि बुढानीलकण्ठ र नागार्जुन
मेरा आँखैअगाडि आइदिन्थे
बुझ्दैनथेँ उनीहरूलाई म
के दिन आइरहेका हुन्थे उनीहरू
थाहा पाउँदैनथे म ।
अहिले आँगन छैन मेरो घरमा
पिंढी छैन मेरो घरअगाडि जोडिएको
झ्यालबाट केही नदेखिने बाहिर हेरेर
फर्कन्छु ओछ्यानमा
र आँखा चिम्लेर हेर्छु
मेरो प्रिय काठमाडौँलाई
स्वयम्भूको फेदमा,
बाग्मती र विष्णुमतीका किनारहरूमा
धुवाँ पुत्पुताइरहेको छ
कतै मेरो प्यारो काठमाडौँ
जलिरहेको त छैन मुर्दासरि निरन्तर ।
प्रकाशित: ३ मंसिर २०७७ ०७:५५ बुधबार