९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

फुलिरहेकै छ श्रद्धाको फूल !

बाल्यकाल

सूर्यप्रसाद लाकोजू

 

पनौती पुरानो शहर हो । उहिलेउहिले पनौतीलाई मन्दिरै मन्दिरको नगर भनेर भनिथ्यो । सात सय घरको पनौती वास्तुकलाका दृष्टिकोणले अत्यन्त सुन्दर नगर थियो । बस्तीको दुईतिर नदी, बस्तीभित्र मन्दिरै मन्दिर । उत्तर–पूवतर्फ दलिन्चोक डाँडा, दक्षिणतर्फको उब्जाउपूर्ण फाँट । सुन्दर छ पनौती । परम्परागत चाडपर्व, जात्रा आदिले पनौतीको परिचयलाई थप आलोकित तुल्याएको छ ।

पनौती सांस्कृतिक सम्पदामा धनी छ । यहाँ इन्देश्वर महादेवको विशाल चोक रहेको छ । इन्द्रेश्वर हाताभित्रै उन्मत्त भैरव, तोलानारायण, चारनारायण, सूर्य, बेनुधर कृष्ण, विश्वेश्वर, उमामहेश्वर, छत्रपाल भैरवलगायतका मन्दिरहरू रहेका छन् । त्यहीं हाल म्युजियम रहेको स्थानमा पहिले मठ थियो । त्यही मठको तल्लो भागमा स्कुल थियो ।  मैले आफ्नो प्रारम्भिक शिक्षा त्यहिंबाट पाएको हुँ । सावाँअक्षर चिन्ने काम त्यहीं पाठशालाबाट भयो । आफू प्राथमिक विद्यालयको छात्र छँदाका केही संस्मरणहरू अहिले पनि स्मरण गर्दा मन प्रसन्नताले आलोकित हुन्छ । अनि आफूदेखि आफै हाँस्न मन लाग्छ ।

त्यस बेलाका दुईजना गुरू विशेष गरेर मेरा स्मरणमा विशेष रहे । एकजना भर्खर तालिम लिएर शिक्षक हुन आउनुभएको जस्तो लाग्छ अहिले सम्झँदा । उहाँ हामीलाई रमाइला कथाहरू सुनाउनुहुन्थ्यो । कहिलेकाहीं चुटकिला पनि सुनाउनुहुन्थ्यो । हामी पेट मिचीमिची हाँस्थ्यौं । हरि सरको हामीलाई प्रभाव पार्ने सबैभन्दा ठूलो हतियार भनेको पुष्टकारी थियो । उनले दिने पुष्टकारी हामीलाई पढाइमा उत्साहित गर्ने तत्व थियो । उहाँले सकारात्मक सबलीकरणका माध्यमबाट हामीलाई पढाइमा लगाउने गर्नुहुन्थ्यो । “तिमीहरू तीन कक्षा पुग्यौ । अब राम्रोसँग पढ्नुपर्छ । पढ्यो भने ठूलो मान्छे बनिन्छ । पढेन भने मलको भारी बोक्नुपर्छ । तिमीहरूलाई मलको भारी बोक्न मन छ ?” उहाँले हामीलाई प्रायः भन्ने वाक्यांश यिनै थिए । नपढ्ने अल्छीहरूलाई यदाकदा गाली गरेको पनि हामीले देखेका÷सुनेका थियौं । तर हामीले उहाँको गाली भने खान परेको थिएन । उहाँ कक्षाकार्य गर्नेहरूलाई कक्षाकार्य सकिनेबितिकै पुष्टकारी दिने गर्नुहुन्थ्यो । त्यसैले हामी पुष्टकारी खान छिटोछिटो कक्षाकार्य गथ्र्यौ । गृहकार्य राम्रो गर्नेहरूलाई पनि उहाँ पुष्टकारी  खुवाउनुहुन्थ्यो । त्यसैले सबै जना उहाँको गृहकार्य गरेर ल्याउँथे । एक किसिमले भन्ने हो भने उहाँको कक्षामा हामी रमाउँथ्यौं । उहाँले हामीलाई सधैं पुष्टकारी खुवाएको त याद भएन तर प्रायः खुवाउनुहुन्थ्यो । पुष्टकारी नभएको बेला कसैले सर आज पुष्टकारी नदिने भनेर प्रश्न गर्दा आज पुष्टकारी ल्याउन बिर्सियो भोलि खाने भए राम्रोसँग पढ्नु भन्नुहुन्थ्यो ।

हामीसँग दुईओटा जति किताब हुन्थ्यो । एविसिडी  पढ्न त्यतिबेला कक्षा चार पुग्नुपथ्र्यो । हामी नजिकै मन्दिरमा चढाएका फूलहरू बटुलेर ल्याउँथ्यौं । ती फूलहरूबाट पुस्तकका पाठहरूमा दिइएका चित्रहरूमा रङ्ग भरेर बस्थ्यौंं । रङ्ग भर्ने कामचाहिं फुर्सदमा गथ्यौं । रङ्ग भर्न नजान्ने वा नसक्ने साथीले सरलाई चुक्ली लगाउँथ्यो । अनि हामी गाली खान्थ्यौं । तर मलाई याद छ । एकपल्ट म र मेरा तीनजना अरू साथीले कितावका पाना रङ्ग्याउँदै थियौं । साथीले सरलाई कुरा लगायो । तर उहाँले हामीलाई गाली गर्नुभएन । उल्टै पुष्टकारी दिनुभयो । हामी वाल्ल प¥यौ । उहाँले पुष्टकारी हातमा थमाउँदै भन्नुभयो, “यो पुष्टकारी तिमीहरूले भोलिदेखि यस्तो गर्दैनौ । किताब फोहर पार्दैनौ भनेर दिएको हो । फोहोर पार्छौ?” हामीले टाउको हल्लाएरै फोहोर नपार्ने जनाउ दियौं । त्यसपछि कहिल्यै पुस्तकमा रङ्ग भरेनौं ।

उहाँको कक्षा हाफटाइम अगाडिसम्म मात्र थियो । सबै वरपरकै भएको हुनाले खाजा खान घरै जान्थे । त्यसपछि अर्कोे गुरु आउनुहुन्थ्यो । उहाँको स्वभाव कडा थियो । उहाँसँग बोल्न पनि डर लाग्थ्यो । त्यसैले कहिलेकाहीं उहाँको कक्षामा मलाई उकुसमुकुस भएको अनुभूत हुन्थ्यो । कक्षाकार्य वा गृहकार्य नगर्दा कुटाइ खानुपथ्र्यो ।  उहाँको मुख देखेर डर लाग्थ्यो । कक्षा कार्य गर्दा आएको पनि बिर्सन्थ्यो । गर्नै नसकिने । त्यसैले हाफटाइमपछि खाजा खान घर गएका थुप्रै साथी फर्कदैनथे ।  

एकपल्टको कुरा हो । जाडोको याम थियो । बाहिर न्यानो घाम लागेको थियो । जाडोको घाम सबैलाई प्रिय हुने नै भयो । हाम्रो स्कुल उत्तर मोहडाको भएकाले घाम छिर्दैनथ्यो । त्यसैले प्रायः हामीलाई बाहिर तोलानारायण मन्दिरको डबलीमा ल्याएर पढाइन्थ्यो । त्यो दिन पनि हामीलाई गुरुले पढाउन बाहिर ल्याउनुभयो । केही समय पढाउनुभयो  । त्यसपछि गुरूले सबैलाई कक्षाकार्य गर भन्नुभयो । उहाँले दिनुभएको कक्षाकार्य कठिन पनि थिएन । भर्खरै पढाउनुभएको पाठबाट एक पृष्ठ सार्ने काम थियो । छुट्टी हुने समय नजिकिंदै थियो । जति जति छुट्टी हुने क्षण नजिक आउँथ्यो त्यतित्यति मन व्यग्र बन्थ्यो । मान्छे स्कुलमा भए पनि मन भने घर पुगिसक्थ्यो । उहाँले भन्नुभयो, “जसले पहिला कक्षाकार्य सक्छ ऊ पहिला घर जान्छ । कक्षाकार्य नसकीकन कसैलाई पनि घर पठाउँदिन है म । ” उहाँको घर नपठाउने उर्दी सुनेपछि म त खङ्ग्रङै भएँ । हात चल्दै चलेन । लेख्न खोज्छु हात अगाडि बढ्दैन । एकदुईजना साथी कक्षाकार्य सकाएर घर हिंडे  । हतार गरेर लेख्न सुरु गरें । चार लाइन जति लेखें हुँला । त्यसपछि हातै नचलेको जस्तो पो भयो । मन झन् छटपटियो । मनमनैले भन्यो, “साथीहरू सबै घर पुगी मकैभट्मास टोक्दै खेल्न निस्कन्छन् । आफू भने यही बस्नुपर्ने भयो ।” हुँदाहुँदा हामी १५ /१६ जनामा जम्मा तीनजना जति मात्र बाँकी भयौं ।  झन् मेरै अगाडि आएर गुरुले, “तिमीले किन नलेखेको? यो पाठ नसकी तिमीलाई पठाउँदिन म । रातभर भए पनि तिमीलाई यहीं राख्छु ।” भन्नुभयो । त्यसपछि त झन् लेख्नै सकिएन । मन हतास भयो । “ओहो ! म त रातभर यहीं बस्ने ? हुन्न ।” मेरो मनमा कुरा खेल्न थाल्यो । उहाँको मुख हेर्न सकेको पनि होइन । बिस्तारै टाउको उठाएँ । उहाँ अर्को साथीको कक्षाकार्य हेर्दै हुनुहुन्थ्यो । बिस्तारै दुईओटा किताव र कापी च्यापें अनि जुरुक्क उठेर त्यहाँबाट इन्द्रेश्वर हाता प्रवेश गर्ने दक्षिणको ढोकाबाट रोसी खोलातर्फ कुलेलम ठोकें । हामी बसेको ठाउँबाट त्यही ढोका नजिक थियो । एकजनाले भन्दै थियो– गुरु त्यो भाग्यो... । ए..ए.. सरको आवाज पनि पातलिंदै गयो । त्यो घटना भएको दुई दिनसम्म म स्कुल गइन । अर्को दिन बुबाले पु¥याइदिनुभयो । बुबाले खोई के कुरा गर्नुभयो गुरुसँग थाहा भएन तर त्यस दिनको हाफटाइमपछिको कक्षा त्यति उकुसमुकुस लागेन । डरलाग्दो देखिने सर नम्र प्रस्तुत हुनुभयो । मलाई एक्लै आफ्नो छेउमै राखेर  सम्झाउनुभयो, माया देखाउनुभयो । त्यसपछि कक्षाबाट फेरि भाग्नु परेन ।

अहिले म पनि शिक्षणमै छु । एक जना विद्यार्थीमा शिक्षकको डरको प्रभाव कत्तिसम्म पर्दो रहेछ भन्ने कुरा म बुझ्दै छु । शिक्षण सिकाइ रमाइलो वातावरणमा गर्नुपर्दछ । डर, त्रास र भयको वातावरणमा शिशुहरूले सिक्न ज्यादै कठिन हुने कुरा मैले पछि बुझें । यति हुँदाहुँदै पनि ती दुवै गुरुप्रति मेरो मनमा अहिले फुलिरहेकै छ श्रद्धाको फूल ।

प्रकाशित: ३ मंसिर २०७७ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App