२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

खोटाङमा रमाइलो र उपलब्धिमुलक बालसाहित्य कार्यक्रम

यात्रा संस्मरण

गङ्गा कर्माचार्य पौडेल

 

जाउँ कि नजाउँ अघिल्लो दिनसम्म दोधारमा थिएँ म । बालसाहित्य समाजबाट महिना दिन अगाडि नै यसवर्ष २०७४ साल फागुन २४, २५, २६, २७ चार दिन खोटाङको दिक्तेलमा हुने पच्चीसौं बालसाहित्य सम्मेलनका लागि कार्यपत्र लेख्न र खोटाङ जान सूचना जारी गरिसकेको थियो । मैले दुई हप्ता समय बाँकी छँदै कार्यपत्र तयार पारी पठाएकी थिएँ । जाने कुरामा चाहिँ पहाडी जिल्ला उकालोओरालो बाटो हिंड्नुपर्ने भएकाले आँट गर्न सकेकी थिइन । गतवर्ष रामेछापमा पनि जान सकिन । के गर्नु? मन, रहर भएर पनि शारीरिक अवस्थाका कारण कतिपय ठाउँमा जान नसकेर खुम्चेर बस्नुपर्ने मेरो बाध्यता छ मेरो ।

हुन त केही दिन पहिले तेजप्रकाश सर र यशु श्रेष्ठ स्थलगत अध्ययनका लागि खोटाङ गएर आउनुभएको थियो । मैले बाटो कस्तो छ ? म जान सक्छुकि सक्तिन? भनेर सोधेकि पनि थिएँ । यशुले“म बाटोको फोटा खिचेरे पठाउँछु तपाईले हेर्नु होला दिदी” भनेका थिए । फोटोमा बाटो उकालो, ओरालो त थियो नै त्यसमाथि पनि गेग्रान देखें मैले । अप्ठेरो बाटाको अलावा बासबसेको ठाउँमा ट्वाइलेट पर बारीको छेउमा भयो भने थप अर्को असुविधा हुनसक्छ । मेरो मनमा यस्तै कुराहरू खेलिरहेका थिए । त्यसकारण त्यता जाने निर्णय लिन सकिरा थिइन । अर्को कुरा फागुन १९, २०, २१, २२ चारदिन धुलिखेलमा बसेर भारतकी ख्याति प्राप्त बालसाहित्य लेखिका मनोरमा जफासँग बाल,किशोर साहित्यलेखन कार्यशालामा भाग लिएर आएकी थिएँ । एकदिन राम्ररी घर बस्न पाएको छैन फेरि खोटाङ जाने कुरा श्रीमानलाई कसरि भनुँ ?अप्ठेरो लाग्यो मलाई ।

 २३ गते साँझ यशुको फोन आयो । उनले भने “दिदी तपाईले केही खबरै गर्नु भएन । खोटाङ जाने हैन?”

नियात्रा संग्रह ‘आधी घण्टा’

खै के गर्ने गर्ने ! बाटो असजिलो होला ! मैले जवाफमा भने । मेरो शारीरिक अवस्थादेखि परिचित यशुले भने, “पहाडी बाटो हो  दिदी यहाँको जस्तो सजिलो त छैन तर आँट गर्नुभयो भने सक्नुहुन्छ । सक्तिन , गर्दिन, जान्न भन्यो भने त तपाई कहीं पनि जान सक्नुहुन्न । आँट गर्नुहोस् । केही परे हामी छँदै छौ नि । धन्दा मान्नु पर्दैन , भोलि बिहान छ बजे भृकुटीमण्डपबाट गाडी छुट्छ जसरी नि आउनुहोला ।”

यशुका ती वाक्यहरूले ओइलाएको फूलमा चिसो पानी छम्किएसरि मेरो मन मस्तिष्कमा ऊर्जा प्रदान गर्यो । त्यसपछि तुरुन्तै हुन्छ जान्छु भनिहालें तर श्रीमानलाई सोधेको थिइनँ । साँझको खाना खाइसकेपछि यसो उहाँको मुड हेरें र यशुले भनेका कुरा दोहोरयाएर सुनाएँ । उहाँ त खुसी पो हुनुभयो अनि भन्नुभयो, “जाऊ– जाऊ आफ्नो विषयको कार्यक्रम किन छुटाउने ! श्रीमानले त्यसो भनेपछि मेरो मन खुसीले बुर्लक्कै उफ्रियो । मनभित्रका सारा शंका –उपशंकाहरू एकैपलमा बिलाएर गए । मेरो श्रीमान् वरिष्ठ कलाकार चराचित्र हेम पौडेल मेरा लागि देउता समान  हुनहुन्छ । आफ्नो व्यक्तिगत सुखसुविधाभन्दा मेरो उन्नतिप्रगतिमा खुसी हुने र आवश्यक साथसहयोग गर्नबाट कहिले पछि हट्नु हुन्न उहाँ । यसर्थमा म आफूलाई भाग्यमानी ठान्दछु ।   

अघिल्लो दिन साँझ छिमेकी ट्याक्सी चालकलाई भोलि सबेरै भृकुटीमण्डपसम्म पुरयाइदिनु  है भनेकी थिएँ । उसले ५।३० बजे नै रत्नराज्य कलेज अगाडि  पुरयाइदियो । मान्छे चिन्न सकिने मिर्मिरे उज्यालो मात्र भएको थियो । म जाँदा सोनाम लामा चित्रकार आइसकेका रहेछन् ।  उनी २०७३ सालको उत्कृष्ट चित्राङ्कन पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्व थिए । एकैछिनपछि विष्णु केसी सर आउनुभयो । त्यसपछि प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रमोद प्रधान, अमरकुमार प्रधान, उद्धव प्याकुरेल, तेजप्रकाश अध्यक्ष नेवासास केके कर्माचार्य , जयप्रसाद लम्साल, एकाराम सिंह, देवीप्रसाद सुवेदी, डा. माहादेव अवस्थी, तारावदन श्रेष्ठ, डा. कपिलदेव लामिछाने, यशु श्रेष्ठ, डा. शैलेन्दुप्रकाश नेपाल, डा. यादेवी ढकाल, प्रदिप लामा वम्जन, होमनाथ भट्टराई, बुँद राना र उहाँकी श्रीमती सोनु गुरुङ्, हरिप्रसाद भण्डारी, ऋषिराम शर्मा, छायादत्त न्यौपाने, सुशिला प्रधानाङ्ग, विजयराज आचार्य,  अनुराधा शर्मा, अनिता सापकोटा, मधुसुदन घिमिरे, डा. रेणुका थापा सोलु, शशि थापा पण्डित, खेमलाल पोखरेल, नरेशविर शाक्य,  रामविक्रम थापा, डा. धनप्रसाद सुवेदी आइपुग्नुभयो । सबैजना बसभित्र छिरेर सिटमा बसिसकेपछि पौने सात बजे हामी खोटाङको बाटो लाग्यौं  । डा. चुडामणि बन्धु, डा. ध्रुव घिमिरे, सिर्जना शर्मा जीपबाट अगाडि नै गैसक्नुभएको थियो ।  

  हामीलाई बोकेको गाडी कोटेश्वर, भक्तपुर, बनेपा हुँदै धुलिखेलबाट दायाँ विपी राजमार्गतर्फ सोझियो । गतवर्ष जनकपुर जाँदा गएको बाटो चिने मैले । अनि  सिन्धुलीको उकालोका घुम्तीहरूमा रिंगाटा लागेको पनि सम्झें । सँगैको सिटमा हुनुहुन्थ्यो प्राज्ञ नर्ममेश्वरी सत्याल । हामी आपसमा गफ गर्न मस्त थियौं । भकुन्डे बेसी पुग्नु अलिवरै चित्रकार एकाराम सिंह विरामी भएर बेहोस पर्नुभयो । गाडी रोकेर उहाँलाई सडकछेउमा सुताइयो । पानी ख्वाउने छ्याप्ने गर्दा पनि  जाती नभएपछि धुलिखेल अस्पतालबाट एम्बुलेन्स बोलाई त्यतै लगियो । साथमा विजयराज आचार्य जानुभयो । हामी सबैजनालाई नमजा लाग्यो । के होला ?.. भनेर पीर पनि लाग्यो । करीब पौने घन्टाको अलमलपछि गाडी खोटाङतर्फ गुड्यो । भकुण्डे बेसी, नेपालथोक हुँदै दाप्चा पुल तरेर अलिपर पुगेपछि दायाँतर्फको बाटो जाँदै गर्दा एउटा खहरे खोला देखियो । यसो आँखा तानेर हेर्दा खोला निकै माथिबाट आएको रहेछ । अहिले सुक्खा मौसम भएकाले पानी धेरै थिएन । खोलामाथिबाटै बाटो छ, त्यहाँ न पुल छ न कुनै बाँध छ । वर्षामा त खतरा हुन्छ होला । खोला बढ्दा गाडी कसरी तार्छन् होला ? यतिको खर्च गरेर बाटो बनाएपछि एउटा पुल बनाउन किन कन्जुस्याइँ ग¥या होला?  मनमनै सोचिरहेकी थिएँ । राटामाटा बजार कटेसकेछ र सुरु भयो उकालै उकालो घुम्टी नै घुम्टी भएको नागबेली परेको बाटो । कसैकसैलाई त यस्तो बाटोमा चक्कर लाग्न, वान्ता हुन पनि सक्छ । झण्डै हाम्रा सहभागीहरू कसैलाई केही भएन । त्यसै गरी सुनकोशी चैनपुरदेखि अगाडि पनि उकालो त्यस्तै घुम्टी परेको बाटो थियो ।  

हामी कतै उकालो कतै ओरालो हुँदै दायाँबायाँका हरिया डाँडापाखा हेर्दै सिन्धुलीको  खुर्कोट पुग्योै । उताबाट आएका र यताबाट गएका सवारी साधनहरू रोकेर आराम गर्ने ठाउँ रहेछ खुर्कोट । पिपलको चौतारी सहितको सानो बजारमा हामीले नि चियानास्ता खायौं । काठमाडौंबाट गएका नारी सहभागीहरूको ग्रुप फोटो पनि खिच्यौं ।  

खुर्कोटबाट फेरि विपि राजमार्ग हुँदै अलिपर पुगेपछि अँधेरी खोला आइपुग्यो । पुल तरेर पारि गएपछि बायाँतर्फबाट खोटाङ जाने र दायाँतर्फ बर्दिबास जाने बाटो छुट्टिने रहेछ । हामी बायाँतर्फको बाटो लाग्यौं । डेढ घन्टा जति गाडी आफ्नै रफ्तारमा गुडिरह्यो । त्यसैको बुई चढेका हामी पनि एउटा नदीनेर पुग्यौं । त्यो नदीको नाम सुनकोशी रहेछ । सललल बगिरहेको सङ्लो पानी देखेर मेरो मन रोमाञ्चित भयो र भनें– आहा.. यस्तो सङ्लो पानी काठमाडौंमा भएको भए कति  जाति हुन्थ्यो होला होक   भनेर नर्मदेश्वरीलाई सुनाएँ ।  

“कस्तो हुनु नि उही बागमती र विष्णुमतिको जस्तै हालत हुन्थ्यो नि म्याडम । यहाँ भएर पो यस्तो सङ्लो सफा रहन पाको त..।” उहाँले भनेपछि  एकले अर्कोलाई हेरेर हाहाहा गरि हाँस्यौं हामी । हाम्रो हाँसोमा एकप्रकारको पीडा र ग्लानि मिसिएको महसुस गरे मैल्ो । किनभने सभ्य भनाउँदा हामी सहरबासीको असभ्य व्यवहारले नै हाम्रा नदीहरूले दुर्गति बेहोर्नुपरेको छ । अहिले ती नदीहरूको छेउछाउमा पुग्दा नाक थुन्नुपर्ने अवस्था छ । प्लास्टिकका झोलाहरू जथाभावी फालेर काठमाडौको भुइँ कुरूप भएको छ भने तल्र्याङतुलर््ाुङ झुन्डिएका टेलिफोन, केवलनेटका तारहरूले आकाश कुरूप बनेको छ । पुराना गाडीहरूले फालेको धुँवा, जथाभावी खनिएका सडकबाट उडेका धुलोहरूले वातावरण प्रदुषित भएको छ । समग्रमा काठमाडौं सहर नै कुरूप बनेको छ यतिखेर ।

  जयरामपुल पुल तरेर पारि हेर्दा एउटा सानो बजार देखियो । साठी सत्तरीओटा  घर भएको त्यो बस्तीको नाम उदयपुरको घुर्मी रहेछ । यसो सफा होटल हेरेर यशु भाइले हामी सबै स्रष्टालाई खानपिनको बन्दोबस्त गरे । खाने बेलामा हामीले सँगै जानुभएका एकाराम सिंह र विजयराज आचार्यलाई संझियौं । विरामीलाई कस्तो भयो होला  भनेर चिन्ता पनि ग¥यौं ।  

नखाउन्जेल बोल्न नसक्ने खाएपछि चल्न नसक्ने उखान यहाँ पनि लागु भयो मेरा लागि । साथमा नर्मदेश्वरी जस्तो ढुुक्कको साथी भएपछि के चाहियो र , सिटमा अडेस लाएर मजैले निदाएँ । बिहान दुई बजेदेखि उठेकाले मलाई निद्रा पुगेको पनि थिएन । किनभने बिहान कतै जानु छ भने उठ्न ढिलो भएकै कारण पछि परिने होकि  भन्ने डरले म राम्ररी निदाउन सक्तिन अनि चाँडै उठ्ने गर्छु । कतै निदाउने कतै आँखा खोल्ने गर्दै हलेसी पुग्दा ४.३० बजिसकेको थियो । गाडीभित्र कसैले एकछिन गाडी रोकेर दर्शन गर्न पाए हुन्थ्यो भनेको सुने तर गन्तव्यमा पुग्न अबेर हुने हुँदा फर्किदा आधा घण्टा गाडी रोकेर दर्शन गराउने कार्यक््रmम  भएको आयोजकबाट थाहा पाएपछि सबैजना खुसी भयौं ।

हामीलाई हलेसीबाट खोटाङ दिक्तेल पुग्न तीन घन्टाभन्दा बढी समय लाग्यो । बाटो कच्ची थियोे र कतैकतै अग्लो ठाउँबाट तल हेर्दा जिउ सिरिङ्गै हुन्थ्यो । एकठाउँमा त बस खसेर रुखको फेदमा अड्किएको पनि देखियो । दुई वर्ष पहिले त्यहाँ दुर्गघटना हुँदा २० जनाको ज्यान गएको थियो रे । चालकले भने । मैले त्यो बस किन नझिकी राखेको होला ? भनेर सोधें । “मान्छेहरूले त्यो बसलाई हेरुन् र सतर्क होऊन् । अनि फेरि दुर्घटना नहोस् भन्नाका लागि त्यहीँ छोडिएको हो ।”  चालकले भने ।

उसको जवाफमा कतिको सत्यता थियो कुिन्न ? मैले दोह¥याएर सोधिन । हामी तुवाचुङ, अर्खौले, विजुले मौरे नुनथला, हर्लुङ मुढे हुँदै झमक्क साँझ पर्दा मझुवागढी दिक्तेल पुग्योैं । त्यसपछि बासका लागि दुईओटा होटलमा बाँडियौंं । हामी  बस्ने शुभदिन होटल नगर प्रमुख (मेयर)दिपनारायण रिजालकै रहेछ । अट्याच बाथरुम भएको टिभीसहितको आधुनिक थियो होटलको कोठा । खाना मेयर पत्नी कोपिला आफैले बनाएको मिठो थियो  । खाना मात्र हैन उनको बोलीव्यवहार झन् मिठो थियो । नर्मदेश्वरी सत्याल र म एउटै कोठामा बसेका थियौं । प्राज्ञ जस्तो बौद्धिक क्षेत्रको उच्च पदमा पुगिसक्दा पनि नर्मदेश्वरीमा घमण्ड पटक्कै भेटिएन । शालिन ब्यक्तित्वका धनी, मृदुभाषी उहाँ छिट्टै साथीभाइहरूसित घुलमिल हुन सक्नु हुन्थ्यो । ब्राह्मण परिवारमा जन्मि हुर्किएको भए पनि अन्धविश्वास कुरीतिका विरुद्धमा , विशेष गरी समाजमा विद्यमान नारी विभेदका बारेमा विमति राख्ने गरेको पाउँथें म । चार वर्ष पहिले पातले वनमा तीन दिन स्वरोजगार कथा लेखन कार्यशाला हुँदा उहाँसित नजिकिने मौका पाएकी थिएँ । त्यसपछी हामी दुई जनाको कुरा पनि मिल्ने भएकाले उहाँसँगको बसाइँ सजिलो मात्र नभई रमाइलो पनि भयो ।  

 भोलिपल्ट अर्थात् २५ गते जता हे¥यो डाँडापाखा मात्रै देखिने खोटाङको भौगोलिक अवस्था राम्ररी अवगत भयो । त्यसमा पनि जताततै मोटरबाटो खनेर छियाछिया पारिएकाले धुलोको कमी थिएन । विकासले ल्याएको वातावरण विनाश थियो त्यो । मलाई 

 

 

त्यस्तो लाग्यो । होटलबाट  कार्यक्रमस्थल जिविस हल जाने बाटो अलि उकालो र सानो थियो । त्यहाँबाट सरस्वती स्कूल जाने बाटो त झनै अप्ठेरो थियो कसैको सहाराविना म एक्लै हिँड्न सक्ने अवस्था थिएन । त्यसकारण जाँदा असजिलो बाटोमा नर्मदेश्वरी म्यामले हात समातेर भर दिनुभयो । म्यामको हातको न्यानो स्पर्शमा भर विश्वास त थियो नै त्यसको अलावा । दया,माया करुणा, स्नेह, अपनत्व भाव समेत भएको महसुस गरें मैले । एउटी आमाले आफ्नो बच्चालाई हात समातेर बाटोमा  डोरयाउँदै  हिंडे जसरी डोरयाएर  कार्यक्रम  पुरयाउनुभयो मलाई । त्यो क्षण म जीवनभर सम्झिरहने छु ।

पहिलो सत्रको कार्यक्रममा प्रमुख अतिथि प्राडा चूडामणि बन्धु, विशिष्ट अथिति उषाकला राई प्रदेश नं १ सभासद् विशेष अतिथि प्राज्ञ नर्मदेश्वरी सत्याल, पूर्व प्राज्ञ बूँद राना, पूर्व प्राज्ञ महादेव अवस्थी, प्राज्ञ केके कर्माचार्य ललितकला प्रतिष्ठान, नगर प्रमुख दिपनारायण रिजाल, सभापति तेजप्रकाश श्रेष्ठ अध्यक्ष नेवासाास स्थानीय गन्यमान्य व्यक्तिहरू रहनुभएको थियो । उक्त बिहानी सत्रको प्रमुख अतिथिले गमलाको विरुवामा जल सिंचन गरेर उद्घाटन गर्नुभएको थियो । त्यसपछि स्थानिय मुख्य आयोजकबाट स्वागत मन्तव्यपछि स्थानीय स्कूलका विद्यार्थीहरूबाट आकर्षक झाँकीहरू र अत्यन्तै राम्रा नृत्यहरू प्रस्तुत गरिएका थिए । कुनै तालिम प्राप्त कलाकारका जस्ता ती नृत्यहरू हेर्दा मलाई लाग्यो यहाँका बालबालिकाहरू अत्यन्त प्रतिभाशाली रहेछन् । अवसर पाएमा भविष्यमा पनि कोहीभन्दा कम हुने छैनन् ।  दोस्रो सत्रमा नेपाल बालसाहित्य समाजको तर्फबाट उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले नेबासासको उद्देश्य र यसले बालहितमा गरेको कार्यहरूमा प्रकाश पार्नुभएको थियो । कोषाध्यक्ष प्रमोद प्रधानले त्यही अवसरमा लोकार्पण गरिएका बालसाहित्य सर्जकहरूको विविध ३२ थान बालसाहित्यका पुस्तकको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । साथै बालसाहित्यको महत्वका बारेमा पनि प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा २०७३ सालमा प्रकाशित पुस्तकमध्ये छानिएका उत्कृष्ट पुस्तक  कार्तिकेय घिमिरेको ‘फुच्ची नानी सूर्य भेट्न गइन्’ , विनय कसजूको ‘माकुरालाई मोजा, लाई पुरस्कृत  गरिएको थियो । प्रमाणपत्रसहित जनही नगदराशि दश हजार रुपैयाँको थियो पुरस्कार ।  चित्राङ्कनतर्फ  सोनाम लामालाई प्रमाणपत्र सहित दश हजार रुपैयाँको अर्पण गरी पुरस्कृत गरिएको थियो ।  कार्यक्रम भइरहेको जिविस हलबाहिर खुला ठाउँमा २०० थान जति विभिन्न शीर्षकको बालसाहित्यका पुस्तकहरू प्रदर्शनीमा राखिएका थिए । कताबाट एउटा खैरो ढेडु बाँदर आएर पुस्तकका पाना पल्टाउँदै हेर्यो । त्यो रमाइलो दृष्यको फोटो खिच्न तँछाडमछाड भएको थियो । मलाई लागेको थियो अब त्यसले पुस्तक च्यात्ने भयो । तर केही गरेन एकछिन पढेर आफ्नो बाटो लाग्यो ।

कार्यक््रmमको तेस्रो सत्रमा हामी डा. कपिलदेव लामिछानेबाट कक्षाकोठामा बाललोक साहित्यको प्रयोग, २) गङ्गा कर्माचार्य पौडेलबाट अभिभावक र बालसाहित्य ३) यशु श्रेष्ठबाट अभिभावकका लागि बालपुस्तकः आवश्यकता र महत्व, ४) डा.ऋषिराम शर्माबाट नेपाली बालगीत कविताः परिभाषा, उपयोगिता, तथा शिक्षण सिकाइ सन्दर्भ , ५) छायादत्त न्यौपानेबाट बालसाहित्य सिर्जना र चुनौती, ६) मधुसुदन घिमिरेबाट बालसाहित्यमा बालअधिकार र कर्तव्य, ७) नरेशविर शाक्यबाट नेपाल भाषामा बालसाहित्य, ८) रामविक््रmम थापाबाट खोटाङ जिल्लाको बालसाहित्यको अवस्था, ९) डा. धनप्रसाद सुवेदीबाट विद्यालय शिक्षामा बालसाहित्य शीर्षकमा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए भने कार्यपत्रमाथि टिप्पणी पनि भएका थिए । त्यस दिन साँझ ७ बजेसम्म कार्यक््रmम भएको थियो । बाटो असजिलो भएकाले अँधेरो हुनुभन्दा पहिले नै म होटल फर्किएँ । बाटामा सरस्वती मावि दिक्क्तेलका शिक्षक धनीराम राईजीले आफ्नो दरिलो पाखुराको भर दिई मलाई अत्यन्तै हार्दिकतापूर्वक सहयोग गर्नुभएको थियो ।  

तेस्रो दिन अर्थात् २६ गतेको पहिलो चरणमा २४ जना बालबालिकालाई कथा लेखन प्रशिक्षण– गङ्गा कर्माचार्य पौडेल र अनुराधा शर्माबाट , २० जना बालबालिकालाई चित्रकला प्रशिक्षण– केके कर्मचार्य सोनाम तामाङ, समित श्रेष्ठबाट, कथा कविता वाचन  प्रशिक्षण –ध्रुव घिमिरे, अमर प्रधान, बाट, २८ जना बालबालिकालाई कविता लेखन प्रशिक्षण–विष्णुकुमार खत्री र शशी थापा पण्डितबाट, २९ जना बालबालिकालाई कक्षा कोठामा नाटक मञ्चन प्रशिक्षण– यशु श्रेष्ठबाट , ११ जना बालबालिकालाई डायरी लेखन शिक्षण–प्राडा चूडामणि बन्धुबाट दिइएको थियो । त्यसै गरी २५ जना बालबालिकालाई रेडियो कार्यक््रmम उत्पादन र प्रस्तुति–स्थानीय रेडियो कर्मीबाट , २३जना बालबालिकालार्ई सिर्जनात्मक कला प्रशिक्षण–ऋषिराम शर्मा, नरेसवीर शाक्य र मधुसुदन घिमिरेबाट प्रशिक्षण दिइएको थियो । दिनभरि व्यस्त भए पनि समयसमयमा चिया खाजा, टाइममा खाना उपलब्ध भएकाले थकान महसुश हुन पाएको थिएन । अर्को कुरा खोटाङबासीहरू अतिथि सत्कार गर्न अति सिपालु भएको मैले अनुभूत गरें । बसाइ, सुखदुख, सुविधाअसुविधाको खूबै ख्याल राख्ने । मिठो बोलीव्यवहार, आदरसत्कार कति हो कति । विद्यार्थीहरू ज्ञानी , उत्तिकै जिज्ञासु पनि भेटें मैले । स्वयंसेवामा खटिएका भाइबहिनीहरू मेरो शारीरिक अवस्था देखेर होला कसैले म व्याग बोकिदिन्छु दिनुस् म्याम भन्थे । कोही मेरो नजिक आएर केही मद्दत गर्नुपर्छ कि भनेर सोध्ने गर्थे । सानै उमेरमा पनि कति सहयोगी भावना भएका केटाकेटीहरू । त्यसदिन म उनै विद्यार्थी बहिनीहरूसित होटल फर्किएँकी थिएँ ।    

साँझ नगर प्रमुख दिपनारायण रिजालले दिनुभएको पार्टी भोजमा त झन् उद्युमै रमाइलो भयो । स्थानीय व्यक्तित्व सहित सहभागी सबै जनाले आआफ्नोतर्फबाट मुक्तक कविता, गजल, गीत नृत्य प्रस्तुत गर्दा तीन दिनको थकाइ एकैक्षणमा हराएको महसुस भयो ।समग्रमा भन्नुपर्दा खोटाङमा संपन्न कार्यक््रmम, त्यहाँको बसाइ संझनयोग्य रह्यो ।  

चौथो दिन अर्थात् २७ गते काठमाडौं फर्कदै गर्दा हलेसी माहादेवको दर्शन गर्न पाइयो । पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी अहिलेसम्म मैले देखेको गुफामध्ये सबैभन्दा ठूलो र फराकिलो गुफा थियो । गुफाभित्र मानवनिर्मित मूर्ति नभई प्रकृतिक शिला रहेछन् । शिवमार्गी महादेव मानेर पूजा गर्दछन् शिलालाई बौद्धमार्गी बुद्ध मानेर लामाहरू त्यहीं नजिकै बसेर पाठ गरिहेका पनि देखियो । त्यतिखेर झट्ट मलाई मुक्तिनाथको याद आयो । त्यहाँ पनि एउटै देउतालाई शिवमार्गी र बौद्ध मार्गी दुई थरि धर्मावलम्बीहरूले आआफ्नै तरीकाले पूजाअर्चना गर्दछन् भने हलेसीमा पनि । यी दुवै ठाउँमा धर्मको नाममा कहिल्यै झगडा भएको सुनिएको छैन । जुनसुकै धर्म, लिङ्ग वर्ण, जाति  भए पनि समान रूपमा मेलमिलाप कायम गरिराखेका यी समावेशी देउतालाई हृदयदेखि नमन गर्दछु । त्यसरी जीवनमा एकपटक दर्शन गनैपर्ने हलेसी महादेवको दर्शन गर्न पाउँदा मन गद्गद् भएको थियो । एकै दिनमा काठमाडौंदेखि भक्तपुर, काभ्रे, धुलिखेल, सिन्धुली, उदयपुर, ओखलढुंगा खोटाङ् गरि सातओटा जिल्ला टेक्न पाउनु, सुनकोशी, दुधकोशी जस्ता शुद्ध र पवित्र नदीहरू दख्ेन पाउनु पनि मेरो अहोभाग्य नै सम्झें मैले ।

त्यो सब व्यवस्थाका लागि नेपाल बालसाहित्य समाज खास गरी यशु श्रेष्ठलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । यशु अविवाहित छन् । बुबा हुनुको जिम्मेवारी अनुभव हुन बाँकी नै छ तापनि एउटा अभिभावकले आफ्ना छोराछोरीको रेखदेख गरे जसरी यताबाट गएका सहभागीलाई केकस्तो भइरहेको छ ? बोलेर हुन्छ कि  गीत गाएर हुन्छ मनोरञ्जन गराउनुको साथै कसले खायो कसले खाएन ? कसलाई कुन साथी मिलाएर कोठामा राख्ने जस्ता तालमेल मिलाउन सिपालु छन् उनी । वास्तवमै मेरा लागि कठिन थियो खोटाङको बाटोघाटो । तैपनि उनैको हौसलाले सजिलै पुगेर फर्किएँं । त्यसैगरी डां शैलेन्दुप्रकाश नेपाल सर, डा. ध्रुवकमार घिमिरे सर, तेज प्रकाश श्रेष्ठ सरले पनि विशेष चिन्ताचासो राख्नुभएको पाउँथे म । तर नर्मदेश्वरी सत्याल म्यामले गङ्गा मेडमका लागि म छु । तपाईहरू निश्चिन्त हुनुहोस् भनेर सरहरूलाई आश्वस्त पार्नुभएको थियो । त्यस्तो अपनत्वभाव अचेल कमै मान्छेमा पाइन्छ । कतिपय मानिसहरू मुखले ठिक्क पार्छन् तर परेको बेला बेवास्ता गर्छन् । मन पनि सफा, व्यवहार पनि सफा भएको उहाँहरू जस्तो सज्जन व्यक्तित्वमा म हृदयदेखि नमन गर्दछु । त्यसै  गरी कार्यक््रmम संयोजक डा. यादेवी ढकालमा हृदयदेखि धन्यवाद । उहाँले संयोजनमा आयोजित कार्यक््रmम सबै कुराले सफल रहेको पाइयो ।

(गङ्गा  कर्माचार्य पौडेलको नियात्रा संग्रह ‘आधी घण्टा’बाट  !)

प्रकाशित: २७ कार्तिक २०७७ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App