२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

राँगालाई जुत्ता

लघुकथा

 

   विजयराज आचार्य 

 

          १) राँगालाई जुत्ता

 

हरि खड्गीले पाँच दिनमा वीरगञ्जबाट बीस वटा राँगा चित्लाङ ल्याइपु¥याए ।

राँगाहरू थाकेर धक्न थालेका थिए । सबै राँगाका खुर पक्लक्क –पक्लक्क निस्केर रातै भएको थियो । राँगाहरू पल्टेर कराउन थाले र खुट्टा माथितिर उचालेर छटपटाउन थाले ।

पल्टेका राँगाको अगाडि हरिले हरियो घाँस हालिदियो । राँगाले बिस्तारै घाँस खान थाले । उनीहरूले दुःखाइको पीडा पनि भुल्न थाले । त्यो रात तिनीहरू त्यहीँ बास बसे ।

अर्को दिन सबेरै हिँडाउने भनेर हरिले बसेका राँगा उठाउन खोज्यो । राँगाहरू उठ्न खोजे तर उठ्नै सकेनन् । उठ्न खोज्दा राँगाहरू भक्लक्कभक्लक्क लड्न थाले । पीडाले छटपटाउँदै कराउन थाले ।

हरिलाई राँगाका हालत देखेर छटपटी भयो । के गर्ने ? के नगर्ने ? उसले सोच्नै सकेन । उसको शरीर पसीनाले निथ्रुक्क भयो ।

“अब के गर्ने होला ?” उसले आफ्नो सहयोगी राजेन्द्र खड्गीतिर फर्केर भन्यो ।

“अब यी राँगा हिँडेर काठमाडौं पुग्लान् जस्तो छैन । दिनको एउटा काटेर डोकामा बोकेर लैजाऊँ ।” राजेन्द्रले भन्यो  ।

“हैट । मासु डोकामा बोकेर काठमाडौं पु¥याउँदासम्म त सिनोजस्तै डुङ्ग गनाइहाल्छ नि !” अर्को सहयोगी श्याम खड्गीले भन्यो ।

दुवै सहयोगीको कुरा सुनेर हरि झन् चिन्तित भयो । उसले निधारमा हात राखेर राँगालाई एकोहोरो हेरिरह्यो ।

केही बेरपछि गाउँका गाडीबाजे फत्फताउँदै त्यहाँ आइपुगे, “हिजोदेखि यहीँ बास बसेजस्तो छ । दोपहर भैसक्यो ।”

“हिँडाल्न त बिहान झिसमिसेमै खोजेको हो । उठ्नै मान्दैन, के गर्ने बाजे !” हरिले निरास हुँदै भन्यो ।

“खैखै के भयो र ?” भन्दै गाडीबाजेले राँगा हेर्न थाले ।

“ओहो ! राँगाका त खुर झरेछन् अनि कसरी हिँड्छन् त ?” उनले कड्कदै भने ।

“अब के गर्ने होला बाजे ?” हरिले हात जोड्दै सोध्यो ।

“के गर्ने नि ? रागाँलाई जुत्ता लगाइदिने अनि हिँडिहाल्छन् नि,” गाडीबाजेले फिस्स हाँस्दै भने ।

“राँगालाई जुत्ता ?”

“ल हिँड, मेरो घरमा जुत्ता लिन ।”

हरि र राजेन्द्र गाडीबाजेसित उनको घरमा गए ।

गाडीबाजेले बीस ओटा राँगालाई पुग्ने चालिस जोर परालको जुत्ता दिएर आफ्नो मूल्य लिए ।

हरि र राजेन्द्रले डोकामा बोकेर जुत्ता राँगा भएको ठाउँमा पु¥याए । गाडीबाजेले सबै राँगालाई जुत्ता लगाइदिए ।

जुत्ता लाएपछि सबै राँगा बिस्तारै उठे र खोच्याउँदै हिँड्न थाले ।

हरिले गाडीबाजेलाई धन्यवाद दियो र मक्ख परेर राँगाको पछि–पछि लाग्यो ।

 

        २) समाजसेवा

 

उमेश र हरि बच्चैदेखिका साथी हुन् । कक्षा एकदेखि स्नातकोत्तरसम्मै उनीहरू सहपाठी थिए । पढाइमा पनि दुवै अत्यन्त राम्रा थिए । कक्षामा कहिले उमेश पहिलो हुन्थ्यो भने कहिले हरि । जे काम गर्दा पनि उनीहरू छलफल गरेर गर्थे । उनीहरूले विदेश पनि नजाने र सरकारी जागिर पनि नखाने निर्णय गरे ।

“अब के गर्ने ?” हरिले सोध्यो ।

“व्यवसाय गर्ने,” उमेशले भन्यो ।

“पार्टनरमा ?” हरिले शंका गरयो ।

“होइन । तिमी प्रकाशन संस्था खोल । म बोर्डिङ स्कुल खोल्छु ।”

दुवैले आआफ्ना व्यवसाय सुरु गरे । दुईचार वर्षमै उनीहरूको व्यवसाय फस्टायो । पैसा कमाए । समाजमा प्रतिष्ठा बढ्यो । उनीहरू लायन्स क्लब, रोटरी क्लबजस्ता सामाजिक संस्थामा आबद्ध भए ।

उनीहरू फागुनदेखि साउनसम्म आआफ्ना कम्पनीमा मरिमेटेर काम गर्थे भने भदौदेखि माघसम्म समाजसेवी बन्थे । उनीहरू ठाउँठाउँमा गएर कमिसन, भ्रष्टाचार, बेथितिविरुद्ध बोल्दै हिँड्थे ।

माघ सकिनासाथ उनीहरूको समाजसेवामा पूर्णविराम लाग्थ्यो ।

फागुनको पहिलो साता प्रकाशक हरि ब्रिफकेसभरि पुस्तकका नमूना लिएर प्रिन्सिपल उमेशकहाँ गयो ।

उमेशले हरिसँग सिधै बार्गेनिङ गरयो । “साथीभाइ, समाजसेवा त साउनदेखि माघसम्म हो । मलाई पुस्तकको गुणस्तरसँग कुनै मतलब छैन । भन हरि कति प्रतिशत कमिसन दिन्छौ ?” उमेशले भन्यो, “साथीको ठाउँमा साथी हो । व्यवसाय आफ्नै ठाउँमा छ अरूले दिएकोभन्दा बढी आए तिम्रा चलाउने हो भनेर दुःख नमान ।”

हरिले भदौदेखि माघसम्मको समाजसेवी साथीलाई ट्वाँ परेर हेरिरह्यो ।

राँगालाई जुत्ता 

 

      ३) प्लेन छुट्यो

 

टिभिएस अन्धविश्वासको विरुद्धमा लड्ने वैज्ञानिकको रूपमा देशविदेशमा चर्चित थिए । उनले अन्धविश्वास मानव जातिको शत्रु हो भन्ने विषयमा विद्यावारिधि गरेका थिए ।

उनले पचासभन्दा बढी देशमा गएर अन्धविश्वासविरुद्ध कार्यपत्र प्रस्तुत गरे । ठाउँठाउँमा जनचेतना पैmलाउँदै हिँडे । यो कामले उनको ख्याति चारैतिर पैmलियो ।

शुव्रबार बिहानै उनले मेल खोले, त्यहाँ उनलाई एउटा निम्तो आएको थियो । अन्धविश्वासविरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन जेनेभामा ‘अन्धविश्वासले मानिसमा पारेको दुष्परिणाम’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्न निम्तो आएको रहेछ ।

उनले धेरै मिहिनेत गरेर कार्यपत्र तयार गरे । जेनेभा जाने दिन पनि आयो । उनले सामानहरू ठिक पारेर बाहिर बरण्डामा राखे र सरासर पूजाकोठामा गए । “आमा म हिँड्ने बेला भयो साइत जुराइदिनु न ।” उनले आग्रह गरे ।

“हुन्छ बाबु । नजिक आऊ ।” आमाले थालीको टीका छोराको निधारमा लगाइदिइन् र कसैले अवरोध नगरोस्, यात्रा सफल होस् भनेर गिलासमा दही र एक कोसा केरा हातमा थमाइदिँदै निधारमा हात राखिदिएर शुभयात्रा भनिन् । टिभिएसले घोप्टो परेर आमाको दुई खुट्टामा ढोगे र जुरुक्क उठेर लगेज बोकेर निस्के ।

गेटमा पुग्नेबित्तिकै सडकमा खेलिरहेको बालकले हाच्छ्यूँ ग¥यो । “हैट, कस्तो साइत बिग्रियो ।” उनी फर्केर फेरि बरण्डामा गए र बसे ।

आधा घण्टापछि अब त दोष काटियो भनेर घरबाट हिँडे । प्लेन छुट्ने बेला भैसकेको थियो । बाटोमा जामैजाम थियो । उनी विमानस्थल पुग्दा प्लेन उडिसकेको थियो ।

 

       ४) सफामुक्त ठाउँ

 

“हाकिम साब, आज अमिली गाउँलाई फोहोरमुक्त गाउँ घोषणा गर्न जानु छ, हैन ? सबै व्यवस्था मिलेकै होला,” सिडिओले सफाइ हाकिमसँग सोधे ।

“हजुरले सोचेभन्दा राम्रो व्यवस्था हुनेछ ।” हाकिमले जवाफ फर्काए ।

“त्यो कार्यक्रममा डिएसपी साब, कर्णेल साब लगायत सबै जिल्लाका प्रमुख हाकिम साबहरू नछुटून् नि, आज शुक्रबार हो । व्यवस्था पनि त्यहीअनुसारको होस् नि ।” निर्देशन दिँदादिँदै सिडिओ  साब निवासतिर लागे ।

ठिक १० बजे सिडिओको गाडी अगाडि लगाएर गाडीको जुलुस अमिलीतिर हिँड्यो ।

एक बजे अमिलीको सिरानको नेटामा फोहोरमुक्त क्षेत्र घोषणा कार्यक्रम सुरु भयो ।

कार्यक्रमको अध्यक्षता जिल्ला उपसभापतिले गरे । प्रमुख अतिथि सिडिओ साब भए । कार्यक्रमको सञ्चालन सफाइ हाकिमले गरे । जिल्लाबाट आएका सबै हाकिम साबहरूलाई मञ्चमा अतिथिको आसन ग्रहण गराइयो ।

कार्यक्रममा हजारौँ गाउँले भेला भएका थिए । सबै वक्ताले सफाइ भनेको के हो ? घर, समाजलाई कसरी सफा राख्ने, फोहोरको व्यवस्थापन कसरी गर्ने भनेर राष्ट्रिय अन्तर्राष्ट्रिय उदाहरण दिएर भाषण गरे ।

कार्यक्रम सकिएपछि गाउँलेहरू आआफ्ना घरतिर गए । नेटामा केही जनप्रतिनिधि र जिल्लाबाट आएका हाकिमहरू मात्र बाँकी रहे ।

“थकाइ पनि लाग्यो । भोक पनि लाग्यो । ल हाकिम साब के व्यवस्था छ सुरु गरिहालौँ,” सिडिओले भने ।

“राम्रै व्यवस्था मिलाएको छु चिन्ता लिन पर्दैन सिडिओसाब,” सफाइ हाकिमले भने ।

“तपाईंप्रति पूर्ण विश्वास छ,” सिडिओले जुँगा मुसार्दै भने ।

हाकिमहरूको गाडीबाट खाने र पिउने परिकारहरू झिकिन थाले । एउटा गाडीबाट तीन कार्टुन बियर र तीन बोतल ह्विस्की निकालियो । अर्को गाडीबाट चिकेन रोस्टका बट्टा निकालिए । त्यस्तै विभिन्न गाडीबाट फ्राइ माछा, आलु चिप्स, बदाम आदि स्न्याक्स निकालेर थुप्रो लगाइयो ।

फोहोरमुक्त गाउँ घोषणा कार्यक्रमका गएका हाकिमहरूको कार्यक्रम सुरु भयो । बियर र रक्सीको खोला बग्यो । घाम ढलेसँगै हाकिमहरू चौरमै ढल्न थाले । सिडिओ साबले लर्खराउँदै गएर स्वामीको फेदमा तुर्काए । डिएसपी साबले चौतारीको माझमा बसेर लत्काए । कर्णेल साबले बसेकै ठाउँमा ह्वालह्वाल्ती पारे ।

हरियो चउरभरि बियर, रक्सीका बोतल, स्न्क्याक प्याकिङ गरेको बट्टा र प्लाष्टिक छरियो । सफा डाँडो दुर्गन्धमा डुब्यो ।

फर्कनुअघि डिएसपीले लर्बरिएको स्वरमा सफाइ हाकिमलाई धाप मार्दै भने, “सफामुक्त एरिया घोषणा कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरेकोमा धन्यवाद !”

 

 

५) माधव सरको पीडा

 

माधव सर विज्ञानका शिक्षक थिए । उनी गाउँमा समाजसेवीको रूपमा पनि परिचित थिए ।

उनको गाउँमा मानिसहरु महिला महिनावारी हुनु भनेको पाप हो भन्थे । पहिलोपटक महिनाबारी हुँदा पन्ध्र दिनसम्म केटा मान्छेको मुख हेर्न हुन्न भन्थे । यस्तो बेला घरबाहिर बस्नुपर्छ, सिरक डसना प्रयोग गर्न हुन्न भन्थे । पानी छोए महापाप लाग्छ भन्थे ।

माधव सरको कक्षामा बेलाबेलामा छात्रा गायब हुन्थे । उनलाई शंका लाग्नेबित्तिकै छात्राहरूको घरमा गएर सम्झाउँथे । महिनावारी पाप धर्मसँग सम्बन्धित कुरै होइन । यो प्राकृतिक कुरा हो । यस्तो बेलामा छोरीहरूलाई माया गर्नुपर्छ । पोषिलो खानेकुरा खान दिनुपर्छ । सरसफाइ गरेर न्यानो र सफा ओछ्यानमा सुत्न दिनुपर्छ । यसरी गाउँलेलाई सम्झाउँदै हिँड्नु उनको दिनचर्याजस्तै थियो ।

माधव सरकै कारण गाउँमा जकडिएर रहेको महिनावारीसम्बन्धी अन्धविश्वास बिस्तारै कम हुँदै गएको थियो ।

एकदिन माधव सरकी छोरी सासा स्कुल आइनन् । विद्यालय छुट्टी भएर घरमा आउँदा उनले आफ्नी प्यारी छोरी सासालाई देखेनन् । उनले श्रीमतीसँग छोरी खोइ  भनेर सोधे ।

श्रीमतीले धेरै बेरसम्म आलटाल मात्र गरिरहिन् । माधव सरले जिद्दी गरेपछि उनले भनिन्, “पहिलो महिनावारी भएकाले आफन्तीको घरमा बस्न गएकी छन् ।”

(विजयराज आचार्यका लघुकथा संग्रह ‘राँगालाई जुत्ता’ बाट !)

प्रकाशित: २७ कार्तिक २०७७ ०८:४३ बिहीबार

अक्षर